टिष्टुङका ४१ विपन्न परिवारलाई खाद्यान्न
हेटौंडा– जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको टिष्टुङका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
थाहा नगरपालिका–११ का वडा अध्यक्ष किरणमान बलको पहलमा टिष्टुङका ४१ परिवारलाई नुनदेखि चामलसम्म खाद्यान्न उपलब्ध गराइएको हो । जागृति बाल तथा युवा सरोकार नेपालले खाद्यान्न उपलब्ध गराएको थियो ।
वडाध्यक्ष बलले विपन्न वडाबासीलाई प्रतिपरिवारका दरले २५ केजी चामल, दाल २ केजी, गेडागुडी २ केजी, नुन १ केजी, तेल १ लिटर, जिरा आधा केजी, चिनी १ केजी, मस्यौरा २ प्याकेट र २ केजी चिउरा प्रदान गरेका हुन् । उनले विपन्न परिवारको साथमा वडा कार्यालयसँगै रहेकाले यतिमात्र नभई आगामी दिनमा थप सहयोग गर्ने विश्वास दिलाएका छन् ।
वडा अध्यक्ष बलले समुदायस्तरमा दुरगामी प्रभाव पार्ने बिरामी बोक्ने स्टेचरपनि उपलब्ध गराएका छन् । भौगोलिक रुपले विकट वडाका १० वटा टोलमा स्थानीय बिरामी पर्दा बोकेर ल्याउन स्टेचर सहयोग गरेको वडाध्यक्ष बलले बताए । ‘११ नम्बर वडामा भौगोलिक रुपले विकट क्षेत्रहरुपनि छन् । कतिपय ठाउँमा सडक पुग्न सकेको छैन् । त्यस्तो अवस्थामा बिरामीलाई समयमै स्वास्थ्यचौकी र अस्पताल ल्याउन स्टेचर उपलब्ध गराएका हौं ।,’ बलले भने ।
वडा अध्यक्ष बलले टिष्टुङ स्वास्थ्य चौकीलाई २१ प्रकारका स्वास्थ्य सामग्रीपनि उपलब्ध गराएका छन् । यसैगरी स्थानीय युवाहरुलाई फुटबलपनि सहयोग गरेको वडाध्यक्ष बलले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा थाहा नगरपालिकाकी सदस्य तारा दुधराज, जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम संयोजक प्रकाश खड्का, प्रतिनिधिहरु अनबिन खड्का र उमेश खड्का, टोल विकासका अध्यक्षहरु बिक्रम गोले, साँइला गोले, टिष्टुङ स्वास्थ्य चौकी प्रमुख वेदप्रसाद प्याकुरेल, ल्याब टेक्निसियन बिलमाया बललगायतको उपस्थिति थियो ।