हुप्रचौरमा बन्ने भयो १२ तले भ्यूटावरसहितको व्यापारिक भवन

संवाददाता
२०७८ मंसिर २१, मंगलवार २०:४८

हेटौंडा–हेटौंडा उपमहानगरपालिकाले भ्युटावरसहितको व्यापारिक भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरेको छ ।

हेटौंडा–४, हुप्रचौर (लोकतान्त्रिक चौर)मा उपमहानगरपालिकाले १२ तले ‘हेटौंडा बहुउद्देश्यीय व्यापारिक भवन’ निर्माण गर्न लागेको हो । सोमबार हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतको रोहबरमा निर्माण कम्पनी बानियाँ निर्माण सेवासँग सम्झौता भएको छ ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र निर्माण कम्पनीका प्रबन्धक ऋषिराज बानियाँले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

४७ करोड ९३ लाख ७२ हजारमा ठेक्का पारेको बानियाँ निर्माण सेवाले सम्झौताअनुसार आगामी ३ वर्षभित्र उक्त आयोजना निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।

निर्माण कम्पनीले निर्धारित समयभन्दा अगावै भवन निर्माण गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ । नगर प्रमुख महतले समयमै भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

उनले स्थानीय निर्माण कम्पनीलाई नै ठेक्का परेकाले समयमै निर्माण सक्किनेमा विश्वास दिलाए । उनले व्यापारिक भवन निर्माणमा गुणस्तरीयतालाई ध्यान दिन आग्रह गरेका छन् । ‘पहिलो कुरा गुणस्तरमा ध्यान दिनुपर्छ । भवन समयमै सक्काउने र गुणस्तरीय काम गर्नुपर्छ भन्नेमा मेरो संधै जोड रहने छ ।,’ महतले भने ।

हेटौंडा–४, हुप्रचौरको दक्षिणतर्फ रहेको बासुदेव सभागृहलाई भत्काएर भ्युटावरसहितको व्यापारिक भवन निर्माण हुन लागेको हो । उपमहानगरका इन्जिनियर सत्यनारायण साहका अनुसार एक विगाह ६ कठ्ठा क्षेत्रफलमा भवन निर्माण हुनेछ ।

१२ तले भवनमा २ तला अण्डरग्राण्उड हुनेछ । २ तले अण्डरग्राउण्डमा ८० वटा चार पाङ्ग्रे सवारीसाधन र २ सय वटा मोटरसाइकल पाकिङ गर्न सकिने साहले बताए ।

उपमहानगरले ९६ करोड ३५ लाखमा खुलाएको ठेक्कामा बानियाँ निर्माणले ठेक्का पारेको हो । भवनको छौटौं तलासम्म व्यापारिक सटरहरु हुनेछन् । छैटौं तलामाथि भ्युटावर रहने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*