मकवानपुरका बानियाँ कांग्रेस बागमती प्रदेश सभापतिमा निर्वाचित
हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा हेटौंडाका इन्द्र बहादुर बानियाँ विजयी भएका छन् । नुवाकोटका जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै बानियाँ विजयी भएका हुन् ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास पात्र बानियाँलाई दोस्रो चरणको मतदानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधरका भीमसेन दास प्रधानले समर्थन गरेका थिए । प्रधान पहिलो चरणको मतदानमा तेस्रो स्थानमा रहँदै दोस्रो चरणको मतदान प्रक्रियाबाट बाहिरिएका थिए । बानियाँ कांग्रेस मकवानपुरका सभापति समेत हुन् ।
आइतबार सम्पन्न पुनःनिर्वाचन मार्फत बानियाँले अर्का उम्मेदवार जगदीश नरसिंह केसीलाई १५८ मतले पराजित गर्दै बागमती प्रदेश सभापतिमा बानियाँ निर्वाचित भएका हुन् । बानियाँले १ हजार ८५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी केसीले ९ सय २७ मत मात्र प्राप्त गरेका थिए । १३ मत भने बदर भएको थियो ।
बानियाँ कांग्रेस संस्थापन पक्ष शेरबहादुर देउवा पक्ष र कृष्ण सिटौलापक्षका साझा उमेदवार थिए भने केसी रामचन्द्र पौडेल पक्षका उमेदवार हुन् । कुल २१ सय ५१ मतमध्ये २ हजार २५ मत खसेको थियो ।
कांग्रेसको बागमती प्रदेश अधिवेशनमा पहिलो चरणको मतदानमा कुनैपनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि सभापतिमा पुनः मतदान भएको थियो । पहिलो चरणमा निर्वाचनमा बानियाँले ९ सय ९२, केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा निर्वाचित इन्द्रबहादुर बानिया २०४४ सालदेखि राजनीतिमा होमिएका थिए । नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति भएका थिए ।
२०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका ५२ बर्षीय बानियाँले कम्युनिष्टहरुको लाल किल्ला भनेर चिनिने मकवानपुरमा कम्युनिष्टको किल्ला भत्काएर २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजय भएदेखि निरन्तर सांसद रहेका छन् ।
उनले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन् ।
२०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि बानियाँले सर्वसम्मत रुपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भई जिम्मेवारी सम्हालिरहेका छन् ।