बागमतीको तेस्रो मुख्यमन्त्री बने राजेन्द्र पाण्डे

संवाददाता
कार्तिक ११, २०७८

हेटौंडा– बागमती प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा राजेन्द्र पाण्डे नियुक्त भएका छन् । मुख्यमन्त्रीमा नियुक्त पाण्डेलाई बिहीवार अपरान्ह प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ खुवाएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख शर्माले नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

एमाले विभाजनसँगै अल्पमतमा परेकी निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार पदबाट राजीनामा दिएपछि पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । एमाले उपाध्यक्षसमेत रहेकी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बुधवार नयाँ सरकार गठनका लागि २४ घण्टाको समय दिएका थिए ।

पाण्डेले चार दलीय गठबन्धनको नेतृत्व गर्दै बुधबार नै प्रदेश प्रमुख शर्मासमक्ष ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) रहेको छ ।

गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग १३ र जसपासँग एक मत छ । प्रमुख प्रतिपक्षी दल एमालेका ४३ सांसद छन् भने राप्रपा र नेमकिपाका २–२ सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*