सावित्रासँग अन्तर्वार्ताः ‘अझै देशका लागि ५–७ वर्ष खेल्न सक्छु भन्ने आत्मविश्वास छ’

संवाददाता
२०७८ आश्विन १२, मंगलवार १६:२७

नेपाली महिला फुटबलमा सावित्रा भण्डारी ‘साम्बा’ को नामका थुप्रै कीर्तिमान छन् । नेपालका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्, सावित्रा । नेपाली महिला फुटबल टोलीको ‘गोल मेसिन’ भनेर चिनिने सावित्रा अहिले चोटमुक्त हुन संघर्ष गरिरहेकी छन् ।

उनी गत फागुनमा सम्पन्न राष्ट्रिय महिला लिगका क्रममा घाइते भएकी थिइन् । एसीएलमा चोट लागेको सावित्राको साढे दुई महिनाअघि कतारमा शल्यक्रिया भएको थियो ।

यसैबीचमा नेपालले उज्वेकिस्तानमा एएफसी एसियन कप छनोट प्रतियोगिता खेल्यो । पहिलो खेलमा फिलिपिन्ससँगग २–१ ले हारेको नेपालले दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरी खेलेपछि प्रतियोगिता बाहिरियो । प्रतियोगितापछि नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले ‘सावित्रा भएको हामीले २०र२५ गोल गर्न सक्थ्यौँ’ भनेर प्रतिक्रिया दिए ।

स्वदेश फर्किएपछि रेनुका नगरकोटीले पनि ‘सावित्रा भएको भए हामील छनोट हुन्थ्यौँ’ भनेर प्रतिक्रिया दिएकी थिइन् । यसको मतलब नेपाली टोलीले उज्वेकिस्तानमा सावित्रालाई धेरै ‘मिस’ गर्‍यो । सावित्राले चाहिँ कतारबाट टिमलाई कत्तिको मिस गरिन् त रु यसै विषयमा बाह्रखरीले सावित्रासँग गरेको कुराकानीको सम्पादित अंशः

अहिले तपाईंको चोटको अवस्था ठ्याक्कै कस्तो छ ?

ठ्याक्कै यस्तो छ भन्न त सकिँदैन, शल्यक्रिया भएको साढे दुई महिना पूरा भइसक्यो । अहिले म सामान्य हिँडडुल गर्न सक्ने भएको छु । भर्याङ चढ्न ओर्लन पनि सक्छु । जे होस् आफूलाई पहिलेकोभन्दा राम्रो महसुस गरेको छु ।

तपाईं घाइते भएकैबेला नेपालले एएफसी महिला एसियन कप–२०२२ प्रतियोगिता खेल्यो । यति ठुलो प्रतियोगिता भइरहेकाले बेला आफू घाइते भएर बस्नुपर्दा कस्तो महसुस हुने रहेछ ?

साह्रै दुःख लाग्यो, धेरै मिस गरेँ । मैले खेल्न थालेपछि पहिलोपटक यो प्रतियोगिता नेपालले खेलेको हो । त्यसकारण पनि यो प्रतियोगिता खेल्न नपाउँदा नराम्रो लाग्यो ।

व्यक्तिगत रूपमा मलाई घाटा त घाटा नै लाग्यो । यस्तो समयमा म घाइते भएँ । प्रतियोगिता खेल्न नपाउनुभन्दा पनि घाइते भएका कारण मेरो स्वास्थ्यलाई नै असर गरेको छ । यसले मलाई एकदमै दुःख लागिरहेको छ ।

नेपालको खेल त हेर्नुभयो होला । टेलिभिजन हेरिरहँदा ‘म मैदानमा भएको भए यसो यस्तो गर्थेँ’ भन्ने भयो कि भएन ?

जस्तो अवस्थामा भएपनि नेपालको खेल नहेर्ने भन्ने त कुरै हुँदैन । पक्कै पनि सबै खेल हेरेँ । टेलिभिजनमा हेर्दा आफू मैदानमा भएको भएँ, म त्यो बलमा यस्तो गर्थेँ भन्ने त भइहाल्छ । अथवा म भएको भए यस्तो अवस्थामा यस्तो गर्थे भन्ने त हुन्छ नै । त्यसकारण पनि मैले खेलका हरेक क्षणहरू मिस गरेँ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्स र साथीभाइहरूले तपाईंलाई धेरै मिस गरे । प्रशिक्षकले ‘सावित्रा भएको २०र२५ गोल हान्थ्यौँ’ भनेर भन्नुभयो । तपाईं आफैँले चाहिँ ड्रेसिङ रुम कत्तिको मिस गर्नुभयो रु सबभन्दा धेरै के मिस भयो ?

सबैभन्दा धेरै त मैले ग्राउन्ड नै मिस गरेँ । मैदानमा सबै साथीहरूले मिहिनेत गरिरहेको देखेपनि आफू त्यहाँ हुन सकिँन । साथीहरूलाई ब्याक सपोर्ट गर्न पाएको भए, हामी यो प्रतियोगितामा राम्रो नतिजा ल्याउन सक्थ्यौँ होला जस्तो लाग्थ्यो ।

म भएको भएँ जुनियर बहिनीहरूलाई त्यहीअनुसार ‘गाइड’ गर्न सक्थेँ होला । मसँग नै खेल्ने सिनियर दिदीहरू पनि हुनुहन्थ्यो । उहाँहरूसँग मेरो ‘कम्बिनेसन’ पनि उत्तिकै राम्रो थियो ।

टिमका सबैले म्यासेज गरिरहनुहुन्थ्यो । दिदीहरूले, प्रशिक्षकले । सबैसँग सम्पर्कमै थिएँ । हरेक खेल अघिपछि मैले म्यासेज गरिरहेको हुन्थेँ । ‘तिमी नहुँदा यस्तोयस्तो भइरहेको छ । चाँडै रिकभरी भएर आऊ’ भनेर सबैले भनिरहेका हुन्थे ।

त्यसैले पनि यो प्रतियोगितालाई मैले एकदम धेरै मिस गरेँ । इतिहास रच्ने जुन अवसर हामीसामु थियो । त्यसलाई हामीले सदुपयोग गर्न सकेनौँ । खिन्न लाग्यो ।

अब पुनरागमनबारे के सोच्नुभएको छ ?

फेरि मैदान फर्किन अझै पाँचदेखि सात महिनासम्म लाग्नसक्छ । अहिलेसम्मको रिकभरी हेर्दा फेरि राम्रोसँग पुनरागमन गर्न सक्छु भन्ने विश्वास छ । पहिलेकै लयमा आएर मेरो देशका लागि अझै ५र७ वर्ष खेल्न सक्छु भन्ने आत्मविश्वास ममा छ ।

बाह्रखरी डटकममा प्रकाशित अन्तर्वार्ताहामीले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*