भारतीयको मनोमानीले बिकेन किसानको अदुवा, कहाँ छ कृषक मैत्री सरकार?

संवाददाता
फाल्गुन २, २०७७

तनहुँ । किसानले उत्पादन गरेका अदुवा बारीमा नै थन्किन थालेका छन् । अदुवा किन्ने व्यापारी नआएपछि उनीहरु चिन्तित हुन थालेका हुन् ।उत्पादित अदुवाको मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरीद गर्न नआउँदा बिक्री गर्न समस्या परेको जनाइएको छ ।

गत वर्षको तुलनामा यस वर्ष धेरै सस्तोमा बिक्री गर्नुपरेको किसानको दुःखेसो रहेको छ । गत वर्ष धार्नीको रु २०० मा बिक्री भएको थियो । यस वर्ष रु १०० देखि १२० सम्म मूल्य तोक्ने गरेको भीमाद नगरपालिका–४ का तुलबहादुर थापाले जानकारी दिए ।

पाँच रोपनीमा अदुवा लगाउँदै आएको “गत वर्ष रु दुई लाख मूल्य बराबरको अदुवा बिक्री गरेको”  भारत निकासीमा बन्द र स्थानीय बजारमा भाउ नहुँदा अहिलेसम्म ९० प्रतिशत कृषकको अदुवा बारीमा नै रहेको थापाले जानकारी दिए । ।
जिल्लाका भीमाद र शुक्लागण्डकी, देवघाट, ऋषिङ र बन्दीपुर गाउँपालिकामा व्यावसायिक अदुवाखेतीको लागि पकेट क्षेत्रको रुपमा मानिन्छन् । भारतको मात्रै भरपर्दा कृषकलाई बिक्री गर्न समस्या परेको छ । उनले थपे, “सङ्कलन, प्रशोधन, भण्डारण र बिक्री सम्बन्धी अध्यायन गरी समाधान गर्न जरुरी देखिएको छ ।”

पहाडी क्षेत्रका कृषकका लागि अदुवा मुख्य नगदेबालीको रुपमा लिइन्छ । अदुवाको गत फागुन र चैत महिनामा लगाउने गरिन्छ भने नौ महिनामा तयार हुन्छ । अदुवा पुस र माघ महिनामा खन्ने गरिन्छ । गत वर्ष भारतमा माग धेरै भएकाले मूल्य राम्रो पाउँदा जिल्लामा करीब रु ५० करोड बराबरको अदुवा बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

पहाडी क्षेत्रको मुख्य बालीको रुपमा रहेको अदुवाखेतीको बजारीकरणको सहज र उपयुक्त वातावरण बनाउन माग समेत गरिइएको छ । यस खेतीको उत्पादनमा वृद्धिका लागि बजारको सुनिश्चिता, प्राविधिक प्ररामर्श, तालीम, गोष्ठी र उन्नत बिउबिजन उपलब्ध गराउन सके अदुवाबाट राम्रो आम्दानी गर्न सकिने अदुवा उत्पादक कृषक बताउँछन् ।

पाखो बारीमा हुने घैया धान, मकै, कोदोखेती भन्दा अदुवाबाट आम्दानी धेरै लिन सकिने भएकोले कृषकको आर्कषण बढे पनि भारतमा माग नभएको समयमा समस्या पर्ने गरेकोले प्रशोधन उद्योग खोलेर औषधि, सुठो, जुस बिक्री गर्नु पर्ने अदुवाका व्यापारी मोहन थापा मगरले जानकारी दिए ।

विशेषगरी वर्षेनि ठूलो मात्रामा भारत निर्यात हुने अदुवा यस वर्ष निकासी नहुँदा समस्या देखिएको मगरको भनाइ छ। यस्ता समस्या आगामी वर्ष पनि पर्न सक्ने भएकोले स्वदेशमै कसरी खपत गर्ने भन्ने बारेमा सरकारले ध्यान दिनुपर्नेमा मगरको जोड थियो ।

जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ५१० हेक्टर जमीनमा अदुवाखेती भएकोमा सात हजार ३८० मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा ५३० हेक्टर जमीनमा खेती गरेकोमा सात हजार ७४९ मेट्रिक टन उत्पादन केन्द्रले जनाएको छ ।

अदुवाखेतीबाट राम्रो आम्दानी गर्न थालेपछि किसान यस खेतीतर्फ आर्कर्षित बन्दै गएका थिए । कुनै कुनै वर्ष मूल्य कम पाउँदा निराश पनि हुने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*