मनहरीका ४ विद्यालयका शिक्षक तालिममा

संवाददाता
बैशाख २७, २०८२

हेटौंडा । विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड( नेपालको सहयोगमा मनहरी–४ का तीनवटा र मनहरी–३ को एक विद्यालय गरी चार विद्यालयका १६ जना शिक्षकलाई क्रियाकलापमा आधारित तालिम प्रदान गरिएको छ ।

पशुपतिनाथ मावि, चेपाङ प्रावि, सृजना प्रावि र नवज्योति प्राविका शिक्षक सहभागी तालिममा हेल्पकोडका कार्यक्रम संयोजक ईन्द्रप्रसाद पाण्डेले सहजीकरण गरेका थिए । बिहीबारदेखि सुरु भएको तालिम शनिबार समापन गरिएको थियो ।

समापनका अवसरमा मनहरी गाउँपालिका शिक्षाप्रमुख प्रदीप पराजुलीले क्रियाकलापमा आधारित तालिमले शिक्षकलाई थप उर्जा दिने बताए । शिक्षण क्षेत्रमा प्रबिधिमैत्री र बालबालिका केन्द्रित सिकाई क्रियाकलापमा अपडेट हुन नसक्ने शिक्षकलाई बालबालिकाले मनपराउन छोडेको शिक्षाप्रमुख पराजुलीले बताए ।

पशुपतिनाथ माविका प्रधानाध्यापक सपना लामाको सभाध्यक्षतामा भएको समापन समारोहमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, पूर्वप्रधानाध्यापक भानुभक्त आचार्य, नवज्योति प्राविका प्रधानाध्यापक कलावती अधिकारीले तालिम निकै उपयोगी भएको धारणा राखेका थिए ।

तालिमपश्चात चारवटै विद्यालयलाई शैक्षिक सामग्री पनि उपलब्ध गराइएको थियो । हेल्पकोड नेपालले मनहरीका ४ वटा विद्यालयका तीन सय भन्दा बढी बालबालिकालाई विद्यालय पोशाक, शैक्षिक सामग्री, स्कुलब्याग, न्यानो ज्याकेट सहयोग उपलब्ध गराउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*