हेटौंडामा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु

हेटौंडा । हेटौंडामा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु भएको छ। सम्मेलन उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले सामुदायिक क्याम्पसले अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्नु प्रशंसनीय कार्य भएको बताए ।
देशभरका सामुदायिक क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले सहयोग गर्दै आएको उल्लेख उनले, ‘यतिबेला देशका १ सय ७८ वटा सामुदायिक क्याम्पसमा १ सयभन्दा कम विद्यार्थी छन् ।
विद्यार्थी नहुँदा क्याम्पसका कक्षाकोठा खाली छन् ।’ विश्वविद्यालय तहको शिक्षा हासिल गर्ने विद्यार्थीलाई उनीहरुको सफल भविष्यको सुनिश्चित हुने गरी शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।
सम्मेलनमा युनिसेफका प्रतिनिधि ठाकुर ढकालले बालबालिका र युवामा हुने लगानी महत्वपूर्ण भएको बताए । विश्वविद्यालय तहको शिक्षा जागिर र रोजगारीका लागि मात्रै नभएर न्याय,अनुसन्धान र समाज परिवर्तनका लागि उपयोगी उनको भनाइ थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, क्याम्पस प्रमुख डा यमबहादुर सिलवाल, सञ्चालक समितिका सदस्य अशोक शाक्यलगायतले बोलेका थिए ।
मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । ६० भन्दा बढी संख्यामा अनुसन्धानमूलक अध्ययनको प्रस्तुति रहने क्याम्पस प्रमुख डा। सिलवालले बताए ।