भारत–पाकिस्तानबीच युद्धविराम, सीमा क्षेत्रमा खुसियाली

हेटौंडा । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।
पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेशसचिव विक्रम मिस्रीले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।
छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’
दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ ।
पाकिस्तानका विदेश मन्त्री इसाक डारले जियो टिभीसँगको कुराकानीमा भारतसँग भएको सहमति आंशिक नभई पूर्ण युद्धविराम सम्झौता भएको स्पष्ट पारेका छन् । डारका अनुसार, यो सम्झौना पछि भारत र पाकिस्तानबीचको सैन्य संवाद र हटलाइन प्रणाली पनि सक्रिय गरिएको छ ।
युद्धविरामपछि सीमा क्षेत्रमा खुसियाली
कराँचीबाट अलजजिराका रिपोर्टर फारस घानीले बताए अनुसार, युद्धविरामको घोषणासँगै पाकिस्तानको दक्षिणी शहरमा स्वागत गरिएको छ ।
एक स्थानीय चिया पसलमा टीभीतिर टोलाउँदै बसेका अब्दुल शाहिदले भने, ‘अल्लाहलाई धन्यवाद छ । होस अझै बाँकी रहेछ।’
उनले अगाडि थपे, ‘दुवै पक्षले आफ्नो शक्ति देखाउन खोजे, राष्ट्रिय सुरक्षाको सन्देश दिए, र कश्मीरबारे कडा संकेत पठाए ।’ उनको भनाइमा, पाकिस्तान यो टकरावबाट ‘अझ बलियो रुपमा बाहिरिएको’ देखियो, तर युद्ध दुवैका लागि निरर्थक हुने थियो ।
अब सबैको ध्यान यो युद्धविरामपछि के हुन्छ भन्नेमा केन्द्रित हुनेछ। वरिष्ठ पत्रकार तलत हुसैनले भने, ‘नियन्त्रण रेखामा अब शान्ति फर्किने अपेक्षा छ। तर अब सेना हटाउने, तनाव घटाउने र गम्भीर कूटनीतिक संवाद सुरु गर्ने बेला हो ।’
उनले इण्डस वाटर ट्रीटी, पहलगाम हमला, र पाकिस्तानको संलग्नताबारे भारतको दाबी जस्ता विषयलाई पनि संवादको एजेन्डामा ल्याउनुपर्ने बताएका छन् ।
युद्धविरामपछि भारत(प्रशासित कश्मीरका बासिन्दाले राहतको भावना व्यक्त गरेका छन्, र धेरैले कश्मीर विवादको स्थायी समाधानको लागि प्रार्थना गरेका छन् ।
‘म के हुँदैछ भन्नेमा अत्यन्त चिन्तित थिएँ,’ अर्को हप्ता विवाह तय भएकी श्रीनगरकी २५ वर्षीया रुमैसा जानले अल जजीरासँग कुरा गर्दै भनिन्, ‘यो धेरै ज्यान गुमाएको पछि लिएको सबैभन्दा बुद्धिमान निर्णय हो। हामी शान्ति चाहन्छौं र यी सबै शत्रुताहरूको अन्त्य चाहन्छौं ।’
एक ट्राभल एजेन्सी चलाउने फिर्दौस अहमद शेइखले कश्मीरलाई ‘युद्धक्षेत्र’ मा परिणत गरिएकोमा निराशा व्यक्त गरे ।
‘मलाई मात्र एक डर छ, भविष्यमा घटनाहरु फेरि बढ्न सक्छन् । यी देशहरुले एकसाथ बसेर कश्मीरको लागि राजनीतिक समाधान खोज्नुपर्छ। म प्रार्थना गर्छु कि हाम्रा बच्चाहरुले यस्ता समय फेरि नदेख्नुपहोस्,’ उनले भने ।
यसैबीच, भारत(प्रशासित कश्मीर सरकारले पाकिस्तानतर्फबाट भएको गोलाबारीका कारण ज्यान गुमाउने व्यक्तिहरुका परिवारलाई प्रत्येकलाई एक लाख रुपैयाँ ११ हजार ७ सय अमेरिकी डलर बराबर रकम उपलब्ध गराउने घोषणा गरेको छ । यो सहयोगलाई ‘समर्थन र ऐक्यबद्धताको प्रतीक’ का रुपमा प्रस्तुत गरिएको छ ।
त्यहाँका मुख्यमन्त्री उमर अब्दुल्लाहले एक्समा लेखेका छन्, ‘पाकिस्तानबाट भएको पछिल्लो गोलाबारीका कारण निर्दोष मानिसहरुको ज्यान गएकोमा म गहिरो पीडित छु । हाम्रो सरकारले जनताको पीडा घटाउन सकिने सबै प्रयास गरिरहेको छ ।’