मकवानपुर गोल्डकपको ‘मस्तिष्क हल्लाउने हिसाब’, फेहरिस्तले खोले रहस्य

सञ्जिव सुनार
बैशाख १८, २०८२

हेटौंडा । जिल्ला फुटबल संघ मकवानपुरले गत संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको हालसालै हिसाब सार्वजनिक गरेको छ ।

हिसाब त सार्वजनिक भयो, तर जसले त्यो हिसाब हेर्छ त्यसको मस्तिष्क हल्लिन्छ । अझ देशका थुप्रै गोल्डकप फुटबल आयोजनाको खर्च देखेका र नजिकबाट बुझेका व्यक्तिहरुले यो हिसाब हेरे भने त उनीहरुको मस्तिष्क मात्रै हल्लिँदैन, पूरै शरिर नै काप्छ, सायदै ।

२०७५ सालदेखि जिल्ला फुटबल संघ मकवानपुरले २०८२ सम्म आइपुग्दा सातौं संस्करणको प्रतियोगिता गर्दैछ । २०६४ साल असार २५–साउन ५ सम्म ‘जनआन्दोलन शहीद–२ स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता’को नाममा खेलाइएकोमा संघले ११ वर्षपछि ‘भूगर्भ सिमेन्ट दोस्रो शहीद स्मृति मकवानपुर गोल्डकप’ नाम दिइ पुनः प्रतियोगिता सुरु गरेको थियो ।

त्यस यता संघले प्रतियोगिता गर्दादेखि नै विभिन्न सरकारी निकायले सहयोग गर्दै आएका छन् । निजी क्षेत्रको सहयोग त कति हो, कति । हरेक वर्षको हिसाब फुटबल संघसँग सुरक्षित छ ।

तर आशंका नभेटिएको हिसाब भने संघसँग कहिल्यै नभएको एक फुटबल समर्थकले सुनाए । अरु लाखमा पर्छ, मकवानपुर गोल्डकप करोडमा खर्च
यो कुरा चौथो संस्करणदेखि छैठौँ संस्करणसम्मको आर्थिक लेखाजोखा मूल्याङ्कन गर्दा प्रस्ट हुन्छ । २०७८ माघमा सम्पन्न २०औँ संस्करणको आहा ! रारा गोल्डकपमा, १० लाख राशीको उपाधिमा जम्मा ६९ लाख ८९ हजार रुपैयाँ खर्च भएको थियो ।

यस्तै, २०८१ फागुन २४ देखि चैत २ गतेसम्म भएको पाँचथर गोल्डकपमा ४ ए डिभिजन, २ विदेशी, १ बी डिभिजन र १ आयोजक टोलीसहित ८ टोली सहभागी थिए । विजेता टोलीलाई ११ लाख राशी प्रदान गरिएको उक्त प्रतियोगितामा ४५ लाख ३७ हजार खर्च भएको थियो । दुबै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीसहित विधागत पुरस्कारसमेत वितरण गरिएको थियो ।

तर, मकवानपुर फुटबल संघले आयोजना गरेको गोल्डकपमा यसका तुलनामा दोब्बर खर्च देखाइएको छ, जुन अस्वाभाविक देखिन्छ । २०७९ जेठमा सम्पन्न चौथो संस्करणमा १ करोड ९ लाख ६७ हजार, २०७९ माघमा सम्पन्न पाँचौँ संस्करणमा १ करोड १९ लाख २२ हजार, र २०८० सालमा सम्पन्न छैठौँ संस्करणमा ९१ लाख २४ हजार रुपैयाँ खर्च गरिएको देखाइएको छ ।

अपारदर्शी व्यय

तीन संस्करणको खर्च विवरण विश्लेषण गर्दा तलबभत्ता, सुरक्षा, गेट, ब्यानरजस्ता सामान्य शीर्षकबाहेक, चौर व्यवस्थापन, अन्य, अफिस, र गोल्डकप तयारीजस्ता अस्पष्ट शीर्षकमा अत्यधिक खर्च देखिएको छ ।

चिया, पानी, चिसो, नास्ता, अतिथि सत्कार र आयोजक पोशाकमा समेत मोटो रकम खर्च गरिएको उल्लेख गरिएको छ । एउटै शीर्षकभित्र समेट्न सकिने खर्चलाई फरक–फरक शीर्षक दिई लाखौँ रुपैयाँ खर्च देखाइएको छ ।

संघका पदाधिकारीहरुका अनुसार, लेखापरीक्षणका लागि खर्चको विल जुटाउन नसक्दा अतिरिक्त विल खरिद गर्नुपरेको थियो । साथै, नगरेको प्रचार–प्रसार, विज्ञापन, तालिम र टिसर्ट वितरणजस्ता शीर्षकमा पनि मोटा रकम खर्च भएको देखाइएको छ ।

खर्च नै नभएको हिसाबलाई खर्च देखाएर हिसाब मिलाइएको छ । अस्वभाविक खर्च राखेर जर्वजस्ती घाटा देखाइएको छ । यसको प्रमाण, पंक्तिकार नै हौं । कोषाध्यक्ष अमृत लुङ्बाले हिसाब सार्वजनिकमै स्वीकार गरेको विषय पनि हो, ‘पैसा दिन बाँकी छ । त्यसैले खर्चमा राखेको हो ।’

भुक्तानी नै नभएको रकमलाई खर्चमा देखाउन मिल्दैन् । पत्रकारहरुको तालिमको खर्च १ लाख ५० हजार छ । जब की, ५० हजारमा हुने खर्च थियो त्यो ।

प्रत्येक शीर्षकको खर्च विवरण हेर्दा आवश्यकता भन्दा बढी, दोहोरो शीर्षक, र अस्पष्ट खर्चका कारण आर्थिक अपारदर्शिता स्पष्ट देखिएको छ । जानकारहरुका अनुसार, गोल्डकप र जिल्ला लिगको आयोजना नै संघलाई घाटामा पु¥याउने प्रमुख कारण बनेको हो । यद्यपि, संघले ऋण कति छ भन्ने कुरा आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन ।

तीन संस्करणको निष्कर्ष हेर्दा दुईपटक करिब साढे २३ लाख रुपैयाँ नाफा भए पनि, पछिल्लो संस्करणमा २ लाख २४ हजार घाटा भएको देखाइएको छ । संघका एक स्रोतका अनुसार, ‘पुरुष फुटबल गराउँदा थप ऋण लाग्ने भएकाले यस वर्ष महिला फुटबल आयोजना गरिएको हो । महिलामा खर्च कम हुन्छ, त्यसैले बचेको रकमबाट ऋण तिर्ने योजना बनाइएको छ ।’

आर्थिक गतिविधिमा मरिहत्ते, जिल्ला लिगमा छैन मतलब

संघले सञ्चालन गर्ने भनिएको फुटबल एकेडेमी योजना बोलीमै सीमित भयो । हरेक वर्ष हुनुपर्ने जिल्ला लिग नियमित हुन सकेन । संघको ध्यान जहाँ आर्थिक गतिविधि हुन्छ, त्यही केन्द्रित देखियो ।

गतवर्षको जिल्ला लिग पनि धेरै समयपछि भएको हो । गोल्डकप गराउन मरिहत्ते गर्ने संघले स्थानीय खेलाडी उत्पादन गर्ने लिग किन नियमित गर्न सकेन ? लिग नगर्ने खेलाडी उत्पादन नहुने, गोल्डकपमा बाहिरका खेलाडीलाई लार्खौ खर्च गर्ने संघको नियम आफैंमा अव्यवहारिक छ ।

व्यक्तिगत लगानी र मिहिनेतका आधारमा राष्ट्रिय टोलीदेखि नेपाल सुपर लिग र ए डिभिजन लिगमा पुगेका खेलाडीहरूको श्रेय संघले लिएको देखिन्छ । यद्यपि खेलाडीको विकास र खेलकुदमार्फत पर्यटन प्रवद्र्धनका नाराहरु व्यवहारमा उतारिन सकेनन् ।

कमिकमजोरी भएको लामाले स्वीकारे

संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाको यो अन्तिम कार्यकाल हो । विधानअनुसार, तेस्रो कार्यकालको लागि उनी योग्य छैनन् । उनको कार्यकालमा पाँचपटक गोल्डकप सम्पन्न भइसकेको छ भने एकपटक अझै बाँकी छ ।

यसअघि हेटौंडा रिसोर्टको हिसाब सार्वजनिक गर्ने प्रेस मिटमा अध्यक्ष लामा खर्चमाथि पत्रकारहरुको प्रश्न आउँदा धेरै बोलेनन् । कोषाध्यक्ष अमृत लुङ्वालाई मात्रै अघि सारिरहे ।

गत मंगलबार मकवानपुर फुटबल संघद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष लामाले आफूसँग केही कमजोरीहरु भएको स्वीकार गरेका छन् ।

जिल्लाका महिला तथा पुरुष टोलीले मोफसलमा आयोजना भएका प्रतियोगिताहरुमा भाग लिँदै उपाधि जितेको उनले बताएका छन् । साथै, आफ्नै पालामा जिल्लामा देशभरका सबैभन्दा धेरै ९१ वटा म्याच जिल्ला लिग पनि सञ्चालन गरिएको उनले बताए ।

स्थानीय तह सहयोग घट्दो

आर्थिक अनियमितताको विवादमा बर्षेनी पर्दै आएपछि स्थानीय तहहरुद्वारा दिइने बजेटमा पनि संघप्रतिको विश्वास घट्दै गएको देखिन्छ ।
तेस्रो संस्करणदेखि स्थानीय तहको लागत सहभागिता सुरु भए पनि, चौथो संस्करणमा ५८ लाख सहयोग गरिएकोमा पाँचौँमा करिब ४४ लाख ५० हजार र छैठौँ संस्करणमा ३३ लाख ६६ हजारमा झरेको छ ।

यता आर्थिक अपादर्शीको विवादमा संघ फस्दा पनि बागमती प्रदेश खेलकुद विकास समितिले भने बाषिक बजेट बृद्धि गर्दै गएको देखिन्छ । समितिले चौथोमा संस्करणमा ४१ लाख ९१ हजार, पाँचौमा ४३ लाख ३५ हजार र ४५ लाख ९१ हजार बजेट उपलब्ध गराएको छ ।

प्रदेशबाट सहयोग बढेपनि यसपटक स्थानीय तहबाट बजेट अझै घट्ने संकेत देखिएको मफुसकै पदाधिकारीहरु बताउँछन् ।

कहिलेदेखि सुरु भयो शहिदस्मृति गोल्डकप ?

स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप मोफसलको एक चर्चित फुटबल प्रतियोगिता हो ।

यो प्रतियोगिता पहिलो पटक वि.सं. २०६४ साल असार २५ गतेदेखि साउन ५ गतेसम्म ‘जनआन्दोलन शहीद–२ स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता’को नाममा खेलाइएको थियो । उपाधि नेपालकै चर्चित ए डिभिजन क्लब थ्री स्टारले जितेको थियो ।

करिब ११ वर्षपछि, वि.सं. २०७५ साल चैत ७ गतेदेखि १७ गतेसम्म, जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा ‘भूगर्भ सिमेन्ट दोस्रो शहीद स्मृति मकवानपुर गोल्डकप’ नाम दिइ पुनः प्रतियोगिता सुरु गरिएको थियो । यस संस्करणको उपाधि घरेलु टोली रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ ले जित्दै इतिहास रच्यो ।

तेस्रो संस्करणदेखि मकवानपुरका १० वटा स्थानीय तहहरूको लागत सहभागिता रह्यो । त्यसपछि प्रतियोगिताको नाम ‘स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप’ राखियो ।

वि.सं. २०७७ र २०७८ मा सम्पन्न तेस्रो र चौथो संस्करणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले, पाँचौँ संस्करण (२०७९) मा मनाङ मस्र्याङ्दी क्लबले र छैठौँ संस्करण (२०८०) मा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधि जितेका छन् ।

यस गोल्डकपको सातौँ संस्करण वि.सं. २०८२ मा महिलाको नाममा आयोजना हुँदैछ । प्रतियोगिता यही वैशाख १९ गतेदेखि गौरीटार रंगशालामा सुरु हुँदैछ । यसैबीच आयोजक मकवानपुर फुटबल संघ आर्थिक विवादको चपेटामा परेको छ ।

(फुटबल संघको मनमौजी खर्चबारे भण्डाफोर थप समाचारको प्रतिक्षा गर्नुहोस्)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*