बागमती प्रदेशमा २२ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण

संवाददाता
बैशाख १४, २०८२

हेटौंडा । बागमती प्रदेशमा २२ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण भएका छन् । बागमती प्रदेश सरकारले गत आव ०७९÷८० को बजेटमा समावेश गरिएको ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ कार्यक्रमअन्तर्गत हालसम्म २२ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण गरेको हो ।

सरकारले प्रदेशभित्र पशु स्वास्थ्य सेवा पुग्न नसकेका ३० स्थानमा पशु स्वास्थ्य क्लिनिक स्थापना गर्ने निर्णय गरे पनि ४ स्थानमा भने विभिन्न कारणले निर्माण रोकिएको छ भने ४ वटा निर्माणाधीन छन् ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म चितवनमा ४ वटा, मकवानपुरमा ३ वटा, सिन्धुलीमा २ वटा, रामेछापमा २ वटा, दोलखामा ३ वटा, सिन्धुपाल्चोकमा ३ वटा र काभ्रेमा ५ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण गरिसकेको मन्त्रालयका पशुपन्छी विकास महाशाखाका पशु अधिकृत डा. सुवास क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार बागमती प्रदेशको धादिङ जिल्लामा भने ४ वटा पशु स्वास्थ्य क्लिनिक निर्माणाधीन रहेका छन् । धादिङमा निर्माणाधीन पशु स्वास्थ्य क्लिनिकको भवन निर्माण पनि अन्तिम चरणमा पुगेको डा. क्षेत्रीले बताए ।

३० स्थानमा पशु स्वास्थ्य क्लिनिक निर्माण गर्ने प्रदेश सरकारको तयारी रहे पनि ललितपुर जिल्लामा ठेक्का नै नपरेको र नुवाकोट जिल्लामा आवश्यक जग्गा उपलब्ध नहुँदा निर्माण रोकिएको उनले बताए ।

प्रदेशमा पशुपन्छीको संख्या बढी भएको ठाउँ र भेटेरिनरी विज्ञ केन्द्रको पहुँचबाट टाढा रहेका गाउँमा क्लिनिक स्थापना भएको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले जानकारी दिए ।

‘क्लिनिकमा एकजना पशु स्वास्थ्य प्राविधिकसहितका कर्मचारी रहनेछन,’ कँडेलले भने, ‘यहाँ पशुपन्छीको सबैखालको उपचार उपलब्ध हुनेछ ।’ क्लिनिक स्थापना भएपछि प्रदेशका विकट ग्रामीण भेगका किसान लाभान्वित हुने उनले बताए ।

पशु स्वास्थ्य क्लिनिक निर्माणका लागि छुट्ट्याइएको १५ करोड रुपैयाँको बजेटमा एउटा पशु स्वास्थ्य क्लिनिक निर्माणमा ५० लाख खर्च भएको प्रवक्ता कँडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*