हेटौंडामा निःशुल्क बारिष्ता तालिम सुरु

संवाददाता
चैत्र २६, २०८१

हेटौंडा– सामाजिक विकास कार्यालय, हेटौंडाको आर्थिक सहयोग र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा ३२ दिने निःशुल्क बारिष्ता (कफी बनाउने) तालिम सुरु भएको छ ।

हेटौंडामा बुधवार एक भव्य कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलले तालिमको औपचारिक उद्घाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सिग्देलले तालिमको महत्व, यसले व्यक्तिगत र सामाजिक जीवनमा पर्न सक्ने प्रभाव बारेमा आफ्नो धारणा व्यक्त गरे ।

यस्ता व्यावासिक सीपले युवाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रकी संयोजक मेनुका श्रेष्ठले तालिमका उद्देश्य स्पष्ट पार्दै सीप लिएपछि स्वदेशमै आफ्नो भविष्य खोज्न आग्रह गरिन् । तालिममा जिल्लाभरका ४० जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको छ ।

उनीहरुलाई सार्वजनिक सूचना आवाह्न गरी छनोट गरिएको जानकारी हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रका व्यवस्थापक किरण घलानले दिए । उनका अनुसार, तालिम ३२ दिनसम्म दुई सिफ्टमा १६० घण्टाको अवधिमा सञ्चालन हुनेछ ।

तालिममा प्रशिक्षार्थीलाई सैद्धान्तिक र व्यवहारिक विधिमा दैनिक ५ घण्टा तालिम दिइनेछ। यस तालिममा प्रसिद्ध प्रशिक्षक रमण कुमार यादव र ममता तामाङले प्रशिक्षण दिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*