एक दशकमा १२७ चेपाङले वन्यजन्तुको आक्रमणबाट गुमाए ज्यान

संवाददाता
चैत्र १५, २०८१

हेटौंडा । दश वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट १२७ जना चेपाङ समुदायका नागरिकले ज्यान गुमाएका छन् । यो तथ्यांक हेर्दा सरकारले जंगली जनावर ब्यवस्थापन गर्न कन्जुस्याईं गरेको देखिन्छ ।

राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/७१ यता नेपालमा जंगली जनावरको आक्रमणबाट १२७ जना अतिसीमान्तकृत चेपाङ समुदायका व्यक्तिले ज्यान गुमाएका हुन् । प्रत्येक वर्ष ५ जना भन्दा बढी १९ जनासम्म चेपाङले ज्यान गुमाएको आयोगको तथ्यांकले देखाएको छ ।

सबैभन्दा कम २०७२/७३ र २०७४/७५ मा ५ जनाले ज्यान गुमाएका थिए भने २०७८/७९ मा १९ जना चेपाङले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाएको आयोगका मानव अधिकार अधिकृत किरण बरामुले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७०/७१ मा ९ जना, २०७१/७२ मा ८ जना, २०७२/७३ र २०७४/७५ मा ५ जना, २०७३/७४ मा १३ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७५/७६ मा १२ जना, २०७६/७७ मा ९ जना, २०७७/७८ मा १२ जना, २०७८/७९ मा १९ जना चेपाङ समुदायका व्यक्तिले जनावरको आक्रमणबाट ज्यान गुमाएकाछन् ।

यस्तै २०७९/८० मा १५ जना, २०८०/८१ मा ११ जना र चालु आर्थिक वर्षको हालसम्म ९ जनाले ज्यान गुमाएको बरामुले जानकारी दिए । ज्यान गुमाउने १२७ चेपाङ समुदायका व्यक्तिमध्ये ३६ महिला र ९१ पुरुष रहेका छन् ।

उनीहरुमध्ये बाघको आक्रमणबाट ४० जना, हात्तीको आक्रमणबाट २८ जना र गैंडाको आक्रमणबाट ५२ जनाले ज्यान गुमाएको तथ्यांकले देखाएको छ । गोही र बँदेलको आक्रमणबाट ३/३ जना रगौरीगाईको आक्रमणबाट एकजनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमध्ये माडीक्षेत्रका मात्रै २९ जना रहेको पाइएको छ ।

राष्ट्रिय निकुञ्ज, आरक्षका जनावरको ब्यवस्थापन गर्ने कार्यमा सरकारले गंभीरतापूर्वक चासो देखाउनु पर्ने अवस्था छ । चेपाङ समुदायको बसोबास वनजंगल नजिकै ऐलानी जग्गामा हुँदै आएकोले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाउनेको संख्यामा बृद्धि भैरहेको आयोगका मानवअधिकार अधिकृत बरामुले जानकारी दिए ।

‘विकटमा बसोबास गर्न बाध्य भएकाहरु जंगल छेवैमा बस्नुपरेको छ । केहीले खानीजन्य उद्योगले पनि बसाइँसराई गराएको छ’, उनले भने, ‘असुरक्षित बसोबसका कारण उनीहरुले ज्यान गुमाउनुपर्ने बाध्यात्मक परिस्थितिरहेको छ ।’ विकासको मूलप्रवाहमा समेटिन नसकेकै कारण चेपाङ समुदायको बसोबास जंगल छेउमा बढी छ ।

यस्तै कारणले पनि राष्ट्रिय निकुञ्ज र चेपाङ समुदायको द्वन्द्व निरन्तर चल्दै आइरहेको उनले बताए । ऐलानी जग्गामा बस्न बाध्य उनीहरुले जीवजन्तुले पु-याएको मानवीय तथा भौतिक क्षतिको क्षतिपूर्ती समेत नपाउने अवस्था रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

नेपालमा मकवानपुर, चितवन, धादिङ रगोरखा जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ । यी ४ जिल्लामा बिशेषगरी खोला र जंगल छेउमा उनीहरुको बसोबास रहने गरेको पाइएको छ ।

२०७८ को राष्ट्रिय जनगणना अनुसार चेपाङको जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ । चेपाङको परम्परागत धर्म प्राकृतिक धर्म हो । चेपाङहरुले सिमिभूमिदेखि रुख तथा थानीलाई पूजा गर्छन् । खेतीबाली लगाउनुभन्दा अगावै भुइँ झ्यासा (भूमिपूजा) गर्ने गरिन्छ ।

यो पूजा प्रायः माघ र फागुनमा गरिन्छ । बाली पाकिसकेपछि सबैभन्दा पहिले नजिकको थानीभूमिलाई चढाइ सकेपछि मात्र आफूहरु खान्छन् ।मकवानपुरको राक्सिराङमा सिमेन्ट उद्योगले निकालेको ढुंगा उत्खननबाट ४० घरधुरी चेपाङ सुकुमबासी भइरहेका छन् ।

राक्सिराङ–९ को तामाखानीको कारण पनि चेपाङ समुदाय समस्यामा छन् । नेपालमा करिब तीनसय घरधुरी चेपाङ विभिन्न उद्योग तथा खानीबाट विस्थापित हुने क्रममा रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*