हेटौंडा–११ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम उपप्रमुख राजेश बानिंया विशेष आतिथ्यतामा शनिबार आयोजित एक कार्यक्रममा ११ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ वटा सुचकहरु मध्ये ४४ वटा सुचकमा शतप्रतिशत र बाँकी सुचकमा ८० प्रतिशत भन्दा माथि नतिजा हासिल गरिसकेको वडा अध्यक्ष जुना दाहालले बताइन् ।
अध्यक्ष दाहालले घोषणाको दिगोपन कायम गर्न वडाको पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भइसकेको जानकारी दिइन् । २०८७ सम्ममा सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तह घोषणा गर्ने सरकारको लक्ष्य अनुरुप ११ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको उनले बताएकी छन् ।
नगर प्रमुख लामाले बालमैत्री वडा घोषणाको दिगोपन कायम गर्न वडा कार्यालयलाई आग्रह गरेकी छन् । उनले निकट भविष्यमा बालमैत्री नगर घोषणा गर्ने तयारीमा उपमहानगर रहेको समेत जानकारी दिइन् । ३ हजार ४ सय १७ बालबालिका रहेको यस वडामा २५ वटा बालसमुह र एउटा वडा बालसंजाल रहेको छ ।