हत्या आरोपी हेटौंडाका प्रविन पुर्पक्षका लागि कारागार चलान
हेटौंडा । हजुरआमाको हत्या गरेको आरोपमा पक्राउ परेका हेटौंडा–१ का प्रविन विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । २८ वर्षीय प्रविनलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि भीमफेदी कारागार पठाएको हो ।
जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको इजलासले दिएको आदेश अनुसार प्रहरीले प्रविनलाई आइतबार नै थुनामा राख्न क्षेत्रीय कारागार भीमफेदी पठाइसकेको जनाइएको छ ।
गत भदौ ९ गते बेलुका मादक पदार्थ सेवन गरेर प्रविनले आफ्नै हजुरआमा ७१ वर्षीया ठूलीमाया विश्वकर्माको हत्या गरेका थिए । हेटौंडा उपमहानगरपालिका पाथीभरा मन्दिर नजिकै घर भएकी ठूलीमायालाई घरको कोठामा नै मृत अवस्था भेटिएको थियो ।