बागमती प्रदेशको सर्वदलीय बैठक निष्कर्षविहीन

संवाददाता
मंसिर १८, २०८०

हेटौंडा– बागमती प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ । सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान नछाड्दा आइतबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहिन भएको हो ।

बैठकमा बजेट कार्यान्वयन, समितिका सभापतिको चयन र पूर्वाधार विकास कोषको रकम सम्बन्धमा छलफल भएको नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नजुटेकाले पुनः अर्को बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको नेता खनालले बताए । यद्यपी सहमतिको प्रयासलाई भने सत्तापक्षले जारी राख्ने उनले स्पष्ट पारे ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकार प्रदेशको विकास र गणतन्त्र प्रति गम्भीर नबनेको आरोप लगाएको छ । एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारलाई सही बाटोमा हिड्न र मनोमानी ढंगले अगाडि नबढ्न सचेत गराएको बताए ।

एमालेले सत्तापक्षसंग संसदीय समितिको नेतृत्वको सवालमा बार्गेनिङ नगरेको पनि नेता थपलियाले स्पष्ट पारे । बजेट पास गर्ने बेला गरेको सम्झौतालाई कार्यान्वयन गर्न सरकारले आनाकानी गरेको नेता थपलियाको भनाई छ । नेता थपलियाले प्रदेशको विकास र समृद्धिको लागि एमालेले भने सरकारसंग संवाद गरिरहने पनि स्पष्ट पारे ।

बागमती प्रदेश सभामा प्रदेश मामिला, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति गरी पाँचवटा समिति छन् । समितिको सभापतिमा सबै राजनीतिक दलहरुको आ–आफ्नै दाबी रहँदा सभापति चयनको बिषय नै पेचिलो बन्ने देखिन्छ ।

त्यसोत, प्रदेशमा रहेका सात राजनीतिक दलहरुलाई नै भाग पुर्याउने उदेश्यले दुईवटा समिति थप्ने तयारीमा मुख्यमन्त्री जम्मट्टेल रहेको समेत चर्चा छ । यद्यपी, हाल उक्त बिषयको छलफल सुरु नभएको उनको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*