राक्सिराङमा खादा प्रयोग नगर्ने, फूलमालाको प्रयोग सुरु

हेटौंडा– मकवानपुरको विकट मानिने राक्सिराराङ गाउँपालिकाले कपडाको रेडिमेट खादा प्रयोगमा रोक्ने निर्णय कार्यान्वयनमा आएसँगै स्थानीयस्तरमै उत्पादित फूलमालाको प्रयोग सुरु गरेको छ ।
स्थानीयस्तरमा उत्पादिक फूलमालाको प्रयोग बढाउने उद्देश्यले गाउँपालिकाले आयातित खादाको प्रयोगमा रोक लगाउने निर्णय यसअघि गरेको थियो । गत साउन ३१ गते गाउँ कार्यपालिकाको बैठकले गरिएको निर्णय अनुसार आयातित कपडाको खादा प्रयोगमा बन्द गरी गाउँमा फूलेका फूलहरु प्रयोग गर्न थालिएको छ ।
राक्सिराङ (आईटिएफ) तेक्वान्दो दोजाङको पहिलो बार्षिक साधारणसभा तथा पदक वितरण कार्यक्रममा उपस्थित अतिथिहरुको गलामा गाउँमै फूलेका मखमली, लाउरे फूल र बाह्रमासे फूलका रंगीचंगी मालाहरुले सजिएका थिए ।
ब्याचमा हरियो पिपलको पातमा सेता टिपेक्सले लेखिएका अक्षरहरु र अतिथि सत्कार गर्दै लगाइएको रंगीन फूलका मालाले अझ शोभा थपिएको थियो । राक्सिराङ ९आईटिएफ० तेक्वान्दो दोजाङले यसरी अतिथि सत्कार गरेसँगै गाउँपालिकाको कार्यपालिका बैठकको निर्णय कार्यान्वयनमा आएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
सोमबार गाउँपालिकामा ४ जना नयाँ कर्मचारीलाई फूलमालाले स्वागत गरिएको थियो । पैसाको बचत, प्रकृति, सम्पत्तिको पनि उपयोग गर्ने उदेश्यले गाउँपालिका अन्तर्गतको कुनैपनि कार्यक्रममा गाउँमा फूलेका फूलहरु प्रयोग गर्ने रस्थानीयलाई फूल रोप्नको लागि अभिप्रेरित गर्ने उदेश्य रहेको अध्यक्ष मल्लले बताए ।