हेटौंडामा दैनिक डेढ करोड लिटर पानी वितरण
हेटौंडा– बोर्ड स्थापना भएको दिनका अवसरमा हेटौंडा खानेपानी ब्यावस्थापन बोर्डको १० औ वार्षिकोत्सबको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले गरेकी छन् ।
कार्यक्रममा बोर्डको स्थापना कालमा काम गरेर सहयोग पु¥याउने तत्कालीन कार्यकारी निर्देशक तथा बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयका सचिब मोहनकुमार शाक्य, हेटौंडा उपमहानगरपालिका अधिकृतहरु जगन्नाथ सापकोटा र मनोजकुमार सुबेदीलाई बिशेष सम्मान गरिएको छ ।
त्यसैगरी खानेपानी बोर्डमा पानी उत्पादन, बितरण, फिल्डमा खटिने, मिटर रिडर लगायत क्षेत्रमा उत्कृष्ट काम गर्ने ११ जना कर्मचारीलाई नगद सहित सम्मान गरिएको छ ।
हेटौंडा खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगर, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सदस्य डा. कृष्ण धिताल, खानेपानी उपभोक्ता समितिका तर्फबाट भबसागर श्रेष्ठ लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटाले खानेपानी संस्थानबाट बोर्डमा परिणत भएपछि अहिलेसम्म भएका कामका प्रगति विवरण प्रस्तुत गरेका थिए ।
वोर्डले उपमहानगरका वडा नम्बर ३, ११, १२ र १३ नम्बर वडा बाहेकमा बसोबास गर्ने एक लाख ५५ हजार नगरवासीलाई दैनिक एक करोड ८८ लाख लिटर पानी वितरण गर्दै आइरहेको छ ।
करिब २३ हजार ५ सय धाराबाट दैनिक ६ देखि ७ घण्टा खानेपानी वितरण गर्दै आइरहेको वोर्डका अध्यक्ष विष्टले बताए । हेटौंडा उपमहानगरले नगरबासीलाई राहतस्वरुप गत भदौ महिनादेखि न्यूनतम खानेपानी महशुलमा १० हजार लिटर छुटको व्यवस्था गरेको छ ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म पानी महशुल विलिङ रकमबाट ९७।२६ प्रतिशत रकम उठाउन सफल भएको छ । बोर्डले ९ करोड ८० लाख ९२ हजार मध्येमा ९ करोड ५४ लाख ११ हजार बिलिङ उठाउन सफल भएको हो । उपभोक्तालाई पानी वितरणको लागि बोर्डले उपभोक्तासँगको सहकार्यमा २६ लाख ४२ हजार ५०४ बराबरको २२ हजार ३३६ मिटर पाइप लाइन विस्तार गरिएको छ ।
बोर्डको सेवा क्षेत्रभित्र ४ लाख ३८ हजार रुपैयाँ बराबरको ३ हजार ८६ मिटर जीर्ण पाइप परिवर्तन गरेको बताइएको छ । बोर्डको सेवा क्षेत्रभन्दा बाहिर हेटौंडा उपमहानगरपालिकाको सिफारिसमा २८ लाख ३६ हजार ४५४ रुपैयाँ बराबरको ५१ हजार ९२० मिटर पाइप उपलब्ध गराइएको छ ।