राक्सिराङमा चट्याङ निरोधक यन्त्र जडानको तयारी

हेटौंडा– जिल्लाको विकट राक्सिराङ गाउँपालिकामा चट्याङ निरोधक यन्त्र जडानको तयारी भइरहेको छ । चट्याङ प्रभावित क्षेत्रका रुपमा रहेको राक्सिराङले गाउँबासीको सुरक्षाका लागि चट्याङ निरोधक यन्त्र जडान गर्ने भएको हो ।
चट्याङका कारण बर्सेनि गाउँबासी घाइते तथा मृत्यु हुनुका साथै अन्य भौतिक क्षतिसमेत हुने गरेकोमा त्यसलाई न्यूनीकरण गर्न गाउँपालिकाले अनुदानमा चट्याङ निरोधक यन्त्र जडान गर्न लागेको पालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
यन्त्र जडान गर्न प्रतिपरिवार १२ हजार रुपैयाँ कबोल गरी एक कम्पनीलाई जिम्मा दिइएकोमा गाउँपालिकाले प्रतिपरिवार ५ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने मल्ल बताउँछन् । बाँकी ७ हजार रुपैयाँ निवेदकले नै व्यहोर्नुपर्ने जनाइएको छ ।
तोकिएकै रकमबाट लाभग्राहीहरुलाई १ लाख रुपैयाँ बराबरको प्राकृतिक प्रकोपजन्य दुर्घटना बिमासमेत गराइनेछ । गाउँपालिकाले विपद् व्यवस्थापनको लागि छुट्याएको ५० लाख रुपैयाँ बजेटमध्येबाट चट्याङ निरोधक यन्त्र जडानमा अनुदान दिन लागिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।
यन्त्र जडानपश्चात् १० वर्षसम्म मर्मत सम्भारको काम आपूर्तिकर्ता कम्पनीले नै गर्ने गरी सम्झौता गरिएको जनाइएको छ । गत चैत १२ गते सूचना जारी गरी चट्याङ निरोधक यन्त्र जडान अनुदान लिन इच्छुक लाभग्राहीलाई आह्वान गरिएको थियो ।
यन्त्र जडानका लागि एकसय ८२ परिवारले निवेदन दिएको गाउँपालिकाको फिल्ड सहायक सिङ्गराम मुक्तानले बताए । गाउँ विपद् व्यवस्थापन समितिको बैठकबाट लाभग्राही छनौट गरी कार्यान्वयनमा जाने तयारी छ । गाउँपालिकामा चट्याङबाट बर्षेनि जनधनको क्षति हुने गरेको छ ।
गतवर्ष मात्रै गाउँपालिकामा चट्याङबाट ३ जनाको मृत्यु भएको थियो । चट्याङ निरोधक यन्त्र जडानको कामलाई आगामी वर्षदेखि निरन्तर लैजाने गाउँपालिकाले जनाएको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार राक्सिराङ गाउँपालिकाको जनसंख्या २५ हजार ९ सय ९६ छ ।