आयोजकलाई हराउँदै मनाङ मकवानपुर गोल्डकपको सेमिफाइनलमा
हेटौंडा– आयोजक मकवानपुर–११ लाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मृति मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
हेटौँडा ५, स्थित पिप्लेक्याम्पा रंगशालामा जारी गोल्डकपअन्तर्गत शुक्रबार भएको क्वाटरफाइन खेलमा मनाङले आयोजक मकवानपुरलाई २–१ गोलअन्तरले पराजित गरेको हो । मनाङले १९ फागुनदेखि काठमाडौंमा सुरु हुने ए डिभिजन लिगको नयाँ सिजनका लागि अनुबन्ध गरेका दुई नयाँ विदेशी खेलाडीलाई पनि मकवानपुरविरुद्ध उतारेको थियो ।
मनाङको जितमा सुमित श्रेष्ठ र दिवान्दो डियाग्नेले गोल गरे । खेलको १२ औं मिनेटमा श्रेष्ठले एक्लै बल अगाडि बढाउँदै उत्कृष्ट गोल गरे । सन् २०१४–१५ मा स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट खेलेका सेनेगलका डिफेन्डर दिवान्दु डियाग्नेले मनाङसँग अनुबन्धन भएपछि पहिलो गोल गरे । मिडफिल्ड र डिफेन्स लाइन सम्हालेका उनले खेलको ४० औं मिनेटमा रोशन रानाको पासमा हेड गोल गरे ।
मकवानपुरका लागि खेलको ५३ औं मिनेटमा अफ्रिकन खेलाडी डिफेन्डर साहिदले गोल गरे । पहिलो हाफमा दुई गोलले पछाडि परेको मकवानपुरले दोस्रो हाफमा मनाङलाई दबाबमा राख्न खोजेको थियो । मकवानपुरको कमजोर फिनिसिङलाई मनाङको डिफेन्स लाइनले चुनौती दिँदै सेमिफाइनलमा विभागीय टोली एपीएफसँग भेट पक्का गरेको छ ।
मनाङले नयाँ सिजनका लागि अनुबन्धन गरेको उज्वेकिस्तानका विंगर सेडजामोल डेबलेशनलाई दोस्रो हाफमा मैदान उतारेको थियो । मनाङका प्रशिक्षक किरण श्रेष्ठले नयाँ खेलाडीलाई मैदान उतारेर सेट मिलाउन खोजेका थिए । सुरूवाती चरणमा राइटसाइडबाट खेलेका सेडजामोल लेफ्टसाइडबाट पनि खेले । तर, उनी चल्न सकेनन् ।
फिनिसिङ लाइनमा कमजोर देखिएको मकवानपुरले यसअघि उद्घाटन खेलमा मोफसलकै नव जनजागृति क्लब सिमरालाई हराएर क्वाटरफाइनल पुगेको थियो । तीन अफ्रिकन खेलाडीलाई सेटमा मैदान उतारेको मकवानपुर गोल्डकपको साविक उपविजेतासमेत हो ।
डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी बिहीवार एपीएफ क्लबसँग पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित हँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । आर्मीले मकवानपुर गोल्डकप तीन पटकसम्म जितेको थियो ।
प्रतियोगिताअन्तर्गत शनिबार अन्तिम क्वाटरफाइनल खेल हिमालयन शेर्पा र फ्रेण्डस क्लब ललितपुरबीच हुनेछ । विजेताले क्यामरूनी टोली एभिनियरसँग फाइन प्रवेशका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड मोटरसाइकल पाउने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट हुने खेलाडीले नगद २५–२५ हजार प्राप्त गर्नेछन् । १० फागुनमा गोल्डकपको फाइनल खेल हुनेछ ।