बागमतीका मुख्यमन्त्रीले पाए असाधारण विश्वासको मत

संवाददाता
माघ ४, २०७९

हेटौंडा– बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत मागेका थिए ।

११० सदस्यीय बागमती प्रदेशसभाका १०५ सदस्यले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिएका हुन् । यो असाधारण बहुमत हो । सरकार जोगाउन ५६ मत भए पुग्थ्यो । बागमती प्रदेशको यसअघिको मुख्यमन्त्रीहरुले संसदमा विश्वासको मत पाएको भएपनि जम्मकट्टेलले जस्तो असाधारण मत पाएका थिएनन् ।

मंगलबार भएको विश्वासको मत विभाजनमा सभामुख भुवनकुमार पाठक सहभागी भएनन् भने राप्रपाका एक सांसद अनुपस्थित रहे । उनको विपक्षमा ३ जनाले मात्रै मत दिए । प्रदेशसभाको ७ वटा राजनीतिक दलमध्ये ३ सदस्यीय नेपाल मजदुर किसान पार्टी मात्रै मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिएको हो ।

मुख्यमन्त्री जम्मकट्टेललाई नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १०, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जनाले विश्वासको मत दिएका हुन् । जमकट्टेल ५ दलका ७० सांसदको समर्थनमा गत पुस २५ गते प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई मुख्यमन्त्रीमा केन्द्रको समीकरण बाहिर रहेको समाजवादी र हाम्रो पार्टी नेपालले समर्थन गरेको थियो ।

पुस २६ गते केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले मंगलबार मुख्यमन्त्रीलाई पनि विश्वासको मत दिएको हो । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने निर्णयविरुद्ध आधा दर्जन सांसदले फरक मत राखेका थिए । मंगलबार प्रदेशसभा सचिवालयस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सांसदहरुको फरक मत रहँदारहँदै पनि विश्वासको मत दिने निर्णय गरेको थियो ।
सांसदहरु छिरिङदार्जे लामा, सुरजचन्द्र लामिछाने, श्रीराम लामिछाने, सुरेश श्रेष्ठ, शान्ता ढकाल र गोविन्द लम्सालले लिखित रुपमै फरक मत राखेका थिए । उनीहरुले कांग्रेसले प्रतिपक्षमा बस्ने भएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन नहुने बैठकमा बारम्बार दोहो¥याएका थिए ।

दल नेता बहादुरसिंह लामाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेका थिए । कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो ।

त्यसअघि कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिएको थियो । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नै सरकारलाई विश्वासको मत दिएपछि बागमती प्रदेशसभामा नेपाल मजदुर किसान पार्टी एक्लो प्रतिपक्षी दल बनेको छ । नेमकिपा प्रदेशसभाको पहिलो कार्यकालमा पनि ५ वर्ष नै प्रतिपक्षमा बसेको थियो ।

पहिलो कार्यकालमा दुई जना प्रदेशसभा सदस्य रहेको नेमकिपामा दोस्रो कार्यकालमा ३ जना सांसद छन् । केन्द्रमा पनि नेमकिपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थिएन । ११० जना सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले १०५ सांसदको विश्वासको मत पाए ।

संसदमा विश्वासको मत माग्दै बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले राजनीति स्थायित्व अहिलको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । प्रदेशसभाको बैठकमा आफूलाई विश्वासको मत माग्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

‘राजनीतिक स्थायित्व अहिलेको मुख्य चुनौती हो । विकास र सुशासनका लागि पनि यसको आवश्यकता छ’, उनले भने । बागमतीलाई समृद्धि र सुशासन पूर्णरुपमा लागू भएको प्रदेश भनेर चिनारी दिन पनि आफूलाई विश्वासको मत दिन उनले दलहरुलाई आग्रह गरे ।

मुख्यमन्त्री जम्मकट्टेलले विकासको निमित्त सरकारको स्थायित्व जरुरी रहेको दोहो¥याए । ‘अहिलेको जनमत एउटै पार्टीले सरकार बनाउने छैन । त्यसकारण दलहरु मिलेर अगाडि बढ्नुपर्ने अवस्था रहेको छ’, उनले भने ।

प्रदेश संरचनाको विरुद्धमा आवाज उठिरहेको भन्दै उनले दलहरुले संघीयताको पक्षमा उभिन जरुरी रहेको बताए । ‘जनतामा प्रदेश सरकार जरुरी छ भन्ने मान्यताको विकास गर्दै सवै क्षेत्रको पहिचानलाई स्थापित गर्न आवश्यक छ’, मुख्यमन्त्री जम्मकट्टेलले भने । उनले प्रदेशसभाको अघिल्लो कार्यकालमा जनताको पक्षमा केही काम गरेको र अब पनि सरकारले थुप्रै योजनाको सुरुवात गर्ने बताएका थिए ।

विश्वासको मत प्राप्त गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री जमकट्टेलले संसद्मा सहभागी अधिकांश दलले मत दिएको र सबै दलको विश्वासले खण्डित नगर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

नले ७ मध्ये ६ दलबाट विश्वासको मत आउनुले नयाँ सन्देश प्रवाह भएको र जनताको सेवामा आफू काम गर्ने बताए । उनले भने, ‘बागमती प्रदेश सरकारले अगाडि बढाएको छ । यसमा सबै एकै ठाउँमा हुनुभएको छ । नेपाल मजदुर किसान पार्टी बाहेक अरू प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दल एकै ठाउँमा उभिएका छौँ।

हामी मूल रूपमा प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति एक ठाउँमा छौँ भन्ने सन्देश विश्वासको मतले दिएको छ ।’ मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकारले जनताको चाहनानुसार पूर्ण रूपमा प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्ने बताए ।

विश्वासको मत पाएसँगै अब मुख्यमन्त्रीले मन्तिपरिषद् विस्तारको तयारी गर्ने भएका छन् । १४ मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा हाल मुख्यमन्त्री जम्मकट्टेलसहित ३ सदस्यीय मन्त्रिपरिषद् छ ।

त्यसमा पनि एक मन्त्री विनाविभागिय छन् । पुस २५ गते प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले २६ गते शपथग्रहणलगत्तै दुई मन्त्री नियुक्त गरेका थिए । उनले नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्री बनाएका थिए भने राप्रपाका संसदीय दलका नेता उद्वव थापा विना विभागिय मन्त्री बनेका थिए ।प्रदेशमा रहेको अन्य १२ वटा मन्त्रालय मुख्यमन्त्री आफैले चलाइरहेका छन् ।

उनले आफूले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने जनाएका थिए । प्रदेशमा मन्त्रालय घटाएर ९ वटा बनाउने तयारी हुँदै गर्दा सत्ता गठबन्धनका दलको दाबी भने १४ वटा पुगेको छ । मुख्यमन्त्री जम्कट्टेलले १४ बाट घटाएर कम्तीमा ९ र बढीमा ११ वटा मन्त्रालय बनाउने योजना बनाएका छन् । तर, सत्तारूढ दलभित्र मन्त्रीको दाबी गर्नेको संख्या बढेपछि भागवण्डा मिलाउन सकस हुने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*