विज्ञान प्रदर्शनीमा महेन्द्र मावि र हिमालयन बोर्डिङ उत्कृष्ट

संवाददाता
पुस ५, २०७९

हेटौंडा– हेटौंडामा भएको जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा एक सामुदायिक र एक संस्थागत विद्यालय उत्कृष्ट भएका छन् ।

जिल्ला शिक्षा समन्वय इकाई मकवानपुरको आयोजनामा भएको विज्ञान प्रदशर्नीमा भीमफेदी गाउँपालिकाको महेन्द्र मावि प्रथम भएको छ ।

यसैगरी प्रदशर्नीमा थाहानगरको हिमालयन इङ्लिस बोर्डिङ स्कूल दोस्रो भएको छ । हेटौंडाको सिद्धार्थ माविमा भएको जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा महेन्द्र मावि भिमफेदी पहिलो भएको हो ।

प्रदर्शनीमा महेन्द्र प्राविधिक स्कुल बकैया तेश्रो तथा मकवानपुरगढिको भानु मावि चौथो भएको छ । जिल्लाको ९ वटा विद्यालयको सहभागिता रहेको विज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने विद्यालयलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

थाहा नगरपालिकामा भएको विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम भएको थियो । जिल्लास्तरीय प्रतियोगितामा आउँदा थाहा नगरपालिकाले नै नगर क्षेत्रमा आन्तरिक प्रतिस्पर्धा गराएको हो ।

जिल्लाका अन्य स्थानीय तहले जिल्लास्तरीय प्रतियोगिता हुँदा आफ्नो पालिकाभित्र आन्तरिक प्रतिस्पर्धा गराउने कार्य गरेको देखिँदैन् । तर, थाहा नगरपालिकाले भने आन्तरिक प्रतिस्पर्धा गराएर पठाएको हो ।

थाहा क्षेत्रका विभिन्न ९ विद्यालयलाई पछि पार्दै हिमालय बोर्डिङ विज्ञान प्रदर्शनीमा प्रथम भएको हो । झम्केश्वरी माविको व्यवस्थापनमा एक दिवशीय विज्ञान प्रदर्शनी भएको थियो ।

थाहा नगरपालिका शिक्षा शाखाको आयोजनामा मावि स्तरीय विज्ञान प्रदर्शनी भएको थियो । प्रतियोगितामा पालुङ भ्याली हार्ट एकेडेमी दोश्रो, बज्रवाराही मावि तेश्रो तथा सुन्दरीदेवी माविले सान्त्वना पुरस्कार पाएको छ ।

प्रदर्शनीको पुरस्कार वितरण कार्यक्रम थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टको प्रमुख आतिथ्य तथा व्यवस्थापन विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रदिप प्रधानको सभाध्यक्षतामा भएको छ ।

कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो भने नगर शिक्षा समिति सदस्य हरिकृष्ण कार्की, पालुङ भ्याली हार्टका संस्थापक सुरेन्द्रमान प्रधान, थाहा नगरपालिका सुचना शाखा प्रमुख सुरजकुमार भुजेल, सूचना प्रविधि अधिकृत भगिरथ कार्कीलगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा झम्केश्वरी माविका प्रधानाध्यापक उद्धवप्रसाद आचार्यले स्वागत गरेका थिए । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले विद्यार्थी माझ रहेको प्रतिभालाई व्यवहारिक रुपमा सिकाइ, सिकाई उपलब्धि हासिल गर्न यस प्रकारको प्रतियोगिता र प्रदर्शनीको आवश्यकता रहेको औल्याए ।

उनले किताबी ज्ञानमा मात्र विद्यार्थीहरुलाई सीमित नराख्न विद्यालय र अभिभावकलाई आग्रह गरेका छन् । नगरस्तरीय प्रदर्शनीमा प्रथम भएपछि मात्रै हिमालयन बोर्डिङ सोमबार थाहा नगरको प्रतिनिधित्व गर्दै हेटौंडामा हुने जिल्लास्तरीय बिज्ञान प्रदर्शनीमा भाग लिन पाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*