मकवानपुरका सबै मतदान केन्द्रमा ३ हजार कर्मचारी खटिँदै

संवाददाता
कार्तिक २६, २०७९

हेटौंडा– मकवानपुरका १० वटा पालिकामा गरेर आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि ३ हजार बढी कर्मचारी खटाइने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाभर ३ हजार कर्मचारी खटाइने भएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । उनका अनुसार ३ हजार कर्मचारी मध्ये ५ सय जना शिक्षक रहने छन् ।

हेटौंडाका विभिन्न मन्त्रालय, जिल्ला स्तरका कार्यालय र स्थानीय तहसमेत गरेर २ हजार ५ सय जना कर्मचारी र अन्य पाँच सय जना सहायक स्तरका स्थायी शिक्षकहरुलाई चुनावमा खटाउन लागिएको निरौलाले बताए । कर्मचारीहरु मतदान केन्द्रमा खटाइने छ । निर्वाचनको सुरक्षाका लागि ३ हजार भन्दा बढी म्यादीसमेत गरेर नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी पनि खटाइने भएको छ ।

जसमध्ये करिब १ हजार ७ सय जना म्यादी प्रहरी मात्रै छन् ।निर्वाचनको तयारीमा प्रदेश निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र १ र २ ले तीव्र तयारी गरिरहेका छन् । मतदान स्थलहरुमा मतदानका लागि संरचना निर्माण गर्नेदेखि मतपत्र र मटपेटिका निर्वाचन स्थलसम्म पु¥याउने तयारी चलिरहेको छ ।

समानुपातिक तर्फको मतपत्र र मतपेटिकाहरु यसअघि नै प्रदेश निर्वाचन कार्यालयमा राखिएको छ । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि सुरक्षाकर्मी, प्रहरी र शिक्षकलाई काममा खटाइएको थियो । हाल, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्थानीय तहमा भन्दा धेरै कर्मचारी खटिने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै पटक भएकाले कर्मचारी धेरै परिचालन हुने भएका हुन् ।

निर्वाचनअन्तर्गत् मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरुलाई २८ र २९ कार्तिकमा निर्वाचनका सामग्री जिम्मा लगाएर पठाउने तयारी निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । जस अगाडि कर्मचारीहरुमा निर्वाचनका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम हुनेछ ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उपसचिव स्तरका मतदान अधिकृत रहेका छन् । अधिकृत स्तरका सहायक अधिकृत खटिएका छन् । जिल्लाका अन्य पालिकाहरुमा भने अधिकृत तहका मतदान अधिकृत खटाइएको छ । नायव सुब्बा तहका कर्मचारीलाई सहायक अधिकृतको रुपमा खटाइएको छ ।

निर्वाचन कार्यालयले चुनावमा खटिने कर्मचारीहरुलाई तालिम दिन लागेको छ । आज २६ गते र भोली २७ गते चुनावमा खटिने निर्वाचन अधिकृत र सहायक अधिकृतको तालिम हुँदैछ । जिल्लाका एक सय ६७ वटा मतदान केन्द्रमा ७ सय २८ जना मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिन लागिएको निरौलाले जानकारी दिए ।

तालिम पश्चात उनीहरुलाई २८ र २९ कार्तिकमा मतदानका दिन चाहिने सामग्री दिएर सम्बन्धित मतदान केन्द्रमा पठाइने निरौलाले बताए । मंसिरको १ गतेसम्म निर्वाचनका लागि खटाइएका सबै कर्मचारी तोकिएको मतदान केन्द्रसम्म पुगिसक्नुपर्ने जनाइएको छ ।

निर्वाचनका लागि जिल्लाभर ३ हजार २ सय सुरक्षार्की परिचालन गरिँदैछ । मकवानपुरका एक सय ६७ वटा मतदान स्थललाई केन्द्रीत गरेर सुरक्षाकर्मी परिचालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिए ।

चुनावका लागि पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा ससस्त्र प्रहरी र मतदान स्थलवरपर गरेर तेस्रो घेरामा नेपाली सेना खटाइने पाण्डेले बताए । म्यादी प्रहरी एक हजार ६ सय ९९ जना, जनपथ प्रहरी एक हजार ६९ जना, ससस्त्र प्रहरी ४ सय जना, अरु नेपाली सेना खटाउने तयारी गरिएको जनाइएको छ ।

सुरक्षाकर्मीकै निगरानीमा हरेक मतदान केन्द्रमा काम गरिने छ । विशेषतः मतदान केन्द्र, मतपेटिका, मतपत्रको सुरक्षामा प्रहरी परिचालन गरिने भएको छ । सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्नेछन् ।

सशस्त्र प्रहरी र नेपाल प्रहरी मकवानपुरका मतदान स्थल वरपरको सुरक्षाका लागि खटाइएको छ । अब नेपाल प्रहरी र म्यादी प्रहरी भने मतदान अधिकृत, सहायक अधिकृत र कर्मचारीहरुसँग मतपत्रलगायतका निर्वाचन सामग्रीहरु लिएर पठाइने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा १९ वटा मतदान स्थललाई अतिसंवेदनशील र ६० वटा मतदान स्थललाई संवेदनशील सूचिमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*