हेटौंडामा विदेशबाट फर्किएर पशुपालनमा रमाएका युवा
हेटौंडा– नेपालमा पछिल्लो समय वैदेशिकरोजगारीबाट फर्किएका युवाहरु पशुपालनमा लागेका छन् । कृषि क्षेत्रमा देखिएको सम्भावना र आम्दानीले युवाहरुलाई पशुपालनमा तानेको छ ।
मकवानपुरका अधिकांश पालिकाहरुमा विगत ५ वर्ष यता पशुपालनका क्षेत्रमा युवाहरुको सहभागिता बढेको छ । दुध उत्पादनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवाहरुले आफ्नो लगानीमा गाई र भैंसी पालन सुरु गरेका हुन् ।
स्वदेशमै स्वरोजगार मुलक व्यवसायका रुपमा पशुपालन गर्ने नूमना युवा हेटौंडा उपमहानगर–पालिका–१७ चुच्चेखोलाका कृष्ण घोरासैनी हुन् । १७ वर्ष खाडी मुलुकहरुमा पसिना बगाएका घोरासैनीले अन्ततः नेपालमा पशुपालन गरेर आम्दानी लिइरहेका छन् ।
वैदेशिक रोजगारीका क्रममा रगत, पसिना बगाएर कमाएको भन्दा स्वदेशमै स्वरोजगार गरेर बस्न धेरै आत्मसन्तुष्टि मिलेको उनी बताउँछन् । विदेशमा सिभिल सुपरभाईजरको काम गरेका घोरासैनीले अन्य काम गर्ने क्षमता हुँदाहुँदै पशुपालनमा हात हालेका छन् ।
पशुपालनको क्षेत्रमा राम्रो आम्दानी हुने देखेपछि उनीहरुको दाजुभाईले भैंसी पालन गर्दै आएका छन् । विदेशमा रहँदा पशुपालनकैै अनुभव बटुलेका घोरसाइनीले स्वदेशमा पनि सोही कामलाईनिरन्रता दिएका हुन् ।
घोरासैनी परिवारको खेती र पशुपालनबाटै जीवन निर्वाह हुँदै आएको थियो । जैमिनी एग्रो फार्म कम्पनी प्रालि दर्ता गरी घोरासैनीका दुई दाजुभाईले भैंसी पालन गरिरहेका हुन् ।
‘विदेशको मरुभुमीमा भन्दा आफ्नै ठाउँमा दुःख गरेर काम गरेमा राम्रो आम्दानी लिन सकिने रहेछ ।,’ उनले भने । एक करोड रुपैयाँ लगानीमा जैमिनी एग्रो फार्म कम्पनमार्फत भैंसी पालन सुरु भएको हो ।
उनीहरुको फार्मममा उन्नत नश्लका ३० वटा भैंसी छन् । आधुनिक शैलीबाट गोेठ निर्माण गरेर भैंसी पालनमा जमेका उनीहरुले विगतमा व्यवसायिक फर्मका रुपमा निरन्तरता दिने बताए ।
आफ्नो लगानीको सुरक्षाका लागि उनीहरुले भैंसीको बिमासमेत गरेका छन् । उनीहरुको फार्ममा दैनिक ५ जनाले रोजगारीको अवसर पाएका छन् । दुध र मल बिक्रीबाट जैमिनी एग्रोफार्मले मासिक २ लाख रुपैयाँ आम्दानी गरिरहेको छ ।
परम्परागत कृषि र पशुपालनबाट जीवन धान्नै नसकेर रोजगारीको सिलसिलामा विदेशिएका नेपाली युवाहरु विदेशको प्रचण्ड गर्मीमा दुःख गर्नुभन्दा स्वदेशमैपरिवारसँगै दुःखजिलो गरेरै बस्न रमाउन थालेका छन् ।
युवाहरुपरम्परागत कृषि र पशुपालनलाई आधुनिकीकरण गर्दै व्यवसायिक किसान बन्नेतर्फ अग्रसर हुँदै गएका हुन् । घोरासैनी दाजुभाई मात्रै हैन, दुवईमा चार वर्ष बिताएका हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँका राम देवकोटा पनि हाल गाईपालनमा लागेका छन् ।
उन्नत जातका २० वटा गाई पालेका देवकोटाले आफ्नै बारीमा घाँस खेती गरेका छन् ।गाईको दुध बेचेर मासिक ६० हजार रुपैयाँ आम्दानी गरिरहेको देवकोटाले बताए ।
विदशेमा बस्दा ‘स्विट कर्न मकै’का बारेमा जानकारी पाएका देवकोटाले हाल आफ्नो बारीमा विदेशबाट ल्याएको मकै रोपेका छन् । नेपालका तारे होटलमा स्विट कर्न बिक्रीभइरहेको उनले बताए । नेपालकै लोकल जातको बीउबाट उत्पादति मकैको मुल्य नपाएका देवकोटाले स्विट कर्नबाट भने राम्रै आम्दानी गरेका छन् ।