संकलन तथा प्रशोधन केन्द्र बनेपछि कोदोको उत्पादन बढ्यो

संवाददाता
२०७९ आश्विन ४, मंगलवार ०९:५९

हेटौंडा– रैथाने बाली प्रवद्र्धनका लागि मकवानपुरगढी गाउँपालिकाले कोदो संकलन तथा प्रशोधन केन्द्र निर्माणमा सहयोग गरेको छ । मकवानपुरगढी–४ कालिखोलामा रहेको अपाङ तथा विपन्न सहकारी संस्थाले गाउँपालिकाको लागत साझेदारीमा कोदो संकलन तथा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

उक्त केन्द्रको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले उद्घाटन गरेका छन् । सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष स्याङ्तानको प्रमुख आतिथ्यता र गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन (नेपाली)को उपस्थितिमा उद्घाटन कार्यक्रम गरिएको थियो । अध्यक्ष स्याङ्तानले विद्युतीय घट्टको स्वीच थिचेर घट्टबाट कोदो पिसेर उद्घाटन गरेका हुन् ।

कोदो पौष्टिक हिसाबले महत्वपूर्ण बाली भएको र यसको बजार माग क्रमशः वृद्वि हँुदै गइरहेकोले कृषकहरु कोदो उत्पादनमा लाग्नु पर्ने अध्यक्ष स्याङ्नताले बताए ।

सहकारीमार्फत कोदोको संकलन र पिठोलाई प्याकेजिङ गरी बजारीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने उनको भनाई छ । उक्त कोदो संकलन तथा प्रशोधन केन्द्र निवर्तमान गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको पहलमा निर्माण गरिएको थियो ।

कृषकहरु निरन्तर उत्पादनसँग जोडिनु पर्ने अभियान चलाएका हुमागाईले कोदो बालीको प्रवद्र्धनका लागि संकलन तथा प्रशोधन केन्द्र निर्माणमा प्राथमिकता दिएका थिए । विगत दुई आर्थिक वर्षदेखि सहकारी संस्थाले कोदो संकलन गर्दै आइरहेकोमा भवन अभावका कारण व्यवस्थित रुपमा कोदो संकलन तथा विविधिकरण गर्न सकेको थिएन् ।

सहकारीले कोदो संकलनको कार्य सुरुवात गरेपछि त्यस भेगका कृषकहरुलाई कोदो बिक्री गर्न सहज भएकोले विगतको वर्षहरुभन्दा कोदो खेती विस्तार भएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।

गाउँपालिकाले स्थानीय तहमा कोदो, फापरलगायत खाद्यान्नको मूल्य निर्धारण गर्ने र सोही मूल्यमा सहकारी संस्थाले खरिद गर्दा गाउँपालिकाले सहकारीमार्फत प्रतिकेजी ४ रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आइरहेको चौधरीले बताए । प्रतीकेजी ४ रुपैयाँ मध्ये किसानले प्रतीकेजी २ रुपैयाँ र सहकारीले २ रुपैयाँ पाउने व्यवस्था गाउँपालिकाले गरेको छ ।

गतवर्ष वडा नम्बर ४ बाट मात्र १३ हजार ५ सय केजी कोदो संकलन गरिएकोमा यसवर्ष अन्य वडाहरुबाट समेत कोदोसँगै फापर पनि संकलन गरिने लक्ष्य रहेको सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनले जानकारी दिए ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, रुद्रबाटिका सामुदायिक स्वास्थ्य इकाईका प्रमुख लक्ष्मण दाहाल, कृषि प्राविधिक गोपाल लम्साल, सहकारी संस्थाका पदाधिकारीहरु, शेयर सदस्य तथा कृषकहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*