प्रदेश मुकाम हेटौंडालाई सुविधा सम्पन्न बनाउन १ अर्ब बढी बजेट
हेटौंडा– बागमती प्रदेश सरकारले प्रदेशको मुकाम हेटौंडालाई सुविधा सम्पन्न बनाउन प्रादेशिक संरचनासँगै चक्रपथ निर्माणका लागि १ अर्ब भन्दा बढी बजेट बिनियोजन गरेको छ ।
सरकार गठनको चार वर्षसम्म पनि प्रादेशिक संरचना बनाउन नसकेको प्रदेश सरकारले पाँच बजेटबाट प्रादेशिक पूर्वाधार निर्माणका लागि बजेट छुट्याएको छ ।
यसअघिका सरकारले प्रदेशको प्रशासनिक भवन निर्माणका लागि बजेट छुट्याएपनि कार्यान्वयन गर्न सकेका थिएनन् । प्रदेश राजधानी हेटौंडालाई सुविधा सम्पन्न बनाउन १ अर्ब ५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको मन्त्री जम्मकट्टेलले बताए ।
सरकारले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पूर्वाधारहरु र हेटौंडा चक्रपथ निर्माण गर्न १ अर्ब ५ करोड ८० लाख बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिएका हुन् ।
हेटौंडामा तत्कालीन नगरपालिका हुँदै चक्रपथ बनाउने योजना अनुरुप ट्रयाक खोलिएपनि हालसम्म सडक निर्माणले पूर्णता पाउन सकेको छैन् । यसैगरी, नेकपा (एकीकृत समाजवादी) नेतृत्वको बागमती सरकारमा आगामी आर्थिक वर्ष २०७९–०८० मा नमूना समाजवादी कार्यक्रम कार्यान्वयन हुने भएको छ ।
प्रदेश सरकारले आज आगामी आवको बजेट प्रस्तुत गर्दै ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएको छ । जसमध्ये नमूना समाजवादी कार्यक्रमका लागि २५ करोड बिनियोजन गरिएको मन्त्री जम्मकट्टेलले बताए ।