बागमती प्रदेशसभामा विनियोजन विधेयक पेश

संवाददाता
जेष्ठ १४, २०७९

हेटौंडा– बागमती प्रदेश सभा दशौँ अधिवेशनको बैठकमा प्रदेश सरकारले विनियोजन विधेयक–२०७९ को सिद्धान्त र प्राथमिकता पेश गरेको छ ।  प्रदेश सभाको शुक्रबारको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०७९–०८० को प्रि–बजेट पेश भएसँगै बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेका हुन् । जम्मकट्टेलले आगामी आर्थिक वर्षको लागि प्रि बजेट पेश गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको अर्को बैठक आज शनिवार विहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् ।

विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल शनिबारबाट सुरु हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । सरकारले असार १६ गते नीति तथा कार्यक्रम र असार १ गते आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याउने कार्यक्रम रहेको छ ।

यसअघि आजै बसेको प्रदेशसभाको पहिलो बैठकमा ५ वटा अध्यादेश पनि पेश भएको थियो । प्रदेश सभाको अधिवेशन नचलेको समयमा सरकार संचालनको लागि अत्यावश्यक ऐनहरुलाई अध्यादेशमार्फत् ल्याएको थियो ।

प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ सभामा पेश गरेका हुन् ।

त्यसैगरी, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ पेश गरे । मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ संसदमा पेश गरेका छन् ।

सरकारले सभा संचालन नभएको समयमा ल्याएका अध्यादेशशरु सदनबाट पास गर्नुपर्ने व्यवस्था रहेको छ । सदनबाट पास नभए अध्यादेश कानुन वन्न नसक्ने कानुनी व्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*