पाँच वर्षअघिको ‘काकाकुल’ थाहा नगर, जहाँ घरघर पुगेका छन् खानेपानी धारा

हेटौंडा– उत्तरी मकवानपुरको थाहा नगरपालिकाले पाँच वर्षअघिसम्म खानेपानीमा ठुलो समस्या झेल्दै आएको थियो । खानेपानीको लागि सधै हाहाकार नै हुने नगरमा २०७२ सालको भूकम्पपछि पानीका मुहानहरु सुकेर जाँदा अझ ठुलो समस्या आइपर्यो ।
पानीको मुहानहरु नै सुकेपछि धेरै जनसमुदायले खानेपानीको असुविधा भोग्दै आएका थिए । तर,२०७४ सालको स्थानीय तहको निर्वाचनबाट जनप्रतिनीधिहरु निर्वाचित भएर आएपछि थाहानगरपालिकामा खानेपानीको समस्या समाधान हुँदै गएको छ ।
खानेपानीको लागि सधै हाहाकार हुने थाहानगरका धेरै घरमा धारा बनिसकेका छन् । कयौं घण्टा हिडेर मुहानको पानी लिन जानुपर्ने धेरैको बाध्यताको अन्त्य भइसकेको छ ।
०७२ को भुकम्पपछि थाहा नगरपालिकाको १० नम्बर वडाका करिब ६ सय घरधुरी खानेपानी सुविधाबाट वञ्चित भएका थिए । नगरपालिकाले गैरसरकारी संस्थासँग मिलेर २ करोड ५६ लाख रुपैयाँको योजना सञ्चालन गरी डिप बोरिङमार्फत पानी निकालेर घरघरमा खानेपानी सुविधा पुर्याएको छ ।
खानेपानीको अभावले कुवा र खोलामा निर्भर रहँदै आएका थाहा नगरपालिका–६ वज्रबराही, १० नम्वर वडा चित्लाङ र ११ नम्बर वडा टिस्टुङ मालागिरीमा घरघरमा पानीको धारा जडान गरिएको छ ।
खानेपानी समस्याले हाहाकार नगरपालिकाका ११ सय घरधुरीका झन्डै १० हजार जनसंख्या लाभान्वित भएका छन् । पानीको सबैभन्दा समस्या रहेको थाहा नगरपालिका—१० चित्लाङका ५ सय ४० घरधुरीमा खानेपानीको सेवा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । खानेपानीको अभावले गर्दा उक्त क्षेत्रका बासिन्दा कुवा र ढुंगेधारामा निर्भर थिए ।
वडा नम्बर ७, जहाँ पानीको अत्यन्त संकट थियो, त्यहाँ करिब ६ करोड रुपैयाँ लागतमा लिफ्टिङ खानेपानी योजना कार्यान्वयन भइरहेको छ । त्यो पनि सम्पन्नको चरणमा पुगेको छ ।
त्यसमा प्रदेश सरकारको ७० लाख, जिल्ला समन्वय समितिको डेढ करोड रुपैयाँ र बाँकी रकम च्वाइस नेपाल संस्थाले हालिदिएको छ । त्यसैगरी आग्राको दामगाडे खानेपानी आयोजना पनि निर्माणाधीन छ । करिब ९० लाख रुपैयाँ लागतमा उक्त आयोजना निर्माण भइरहेको छ ।
उक्त आयोजनाको लागि प्रदेश सरकारले ६० लाख रुपैयाँ अनुदान दिएको छ । त्यस्तैगरि विभिन्न गैरसरकारी सस्ंथा,उपभोक्ता समिती र नगरपालिकाले बाँकी लगानी गरेर खानेपानी आयोजना निर्माण कार्य भइरहेको नगरपालिकाका निवर्तमान मेयर लवशेर विष्टले जानकारी दिए ।
त्यस्तै थाहा नगरपालिकाको केन्द्रमा करिब ३ हजार घरधुरीलाई खानेपानी सेवाका लागि संघीय सरकारबाट ३० करोड ५७ लाख करोड रुपैयाँ स्वीकृत भएको छ ।
संघीय सरकारले दिएको रकममा नगरपालिकाले १ प्रतिशत अर्थात ३० लाख ५७ हजार रुपैयाँ लगानी गरेर करिब ३ हजार घरधुरीलाई खानेपानीको पहुँच पुर्याउन खानेपानी आयोजना निर्माण कार्य भइरहेको उनले बताए ।
टिस्टुङमा पनि खानेपानी सुविधाका लागि धेरै काम भएका छन् । अब नगरपालिकाको केहि स्थानबाहेक अधिकांश स्थानमा खानेपानीको समस्या करिब हल भइसकेको विष्टको भनाइ छ ।
उनले नगरपालिकाको टिष्टुङ क्षेत्रका केहि स्थानमा खानेपानी पुर्याउने नसकिएको समेत बताए । उनले भने‘ टिष्टुङमा खानेपानी पुर्याउन अलि गाह्रो पनि देखिएको छ ।
त्यो क्षेत्र अलि टाढा हुनुको साथै त्यहाँ घरपरिवार थारै भएकोले पनि बोरिङ गरेर खानेपानी लैजान समस्या भएको छ । तर, त्यसको लागि पनि छुट्टै योजना बनाएर खानेपानीको पहुँच पुर्याउनुपर्छ ।
निवर्तमान मेयर विष्टले आफू थाहा नगरपालिकाको मेयरमा निर्वाचित हुने बितिक्कै खानेपानीलाई प्राथमिकता दिएर काम गरेको बताए । खानेपानी मानव जीवनको मुख्य आवश्यकता भएकोले त्यसलाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाई छ ।