कृषिमा चुपचाप ‘क्रान्ति’ गरिरहेको मकवानपुरगढी

मकवानपुरगढी–२, भालुन्टारको शान्त बिहानीमा एउटा घरबाट दूध दुहेको र गाईवस्तुलाई दानापानी गरेको आवाज सुनिन्छ । केही बेरमा त्यही घरको आँगनबाट ट्याक्टरको घरघराहट सुरु हुन्छ र नजिकैको बारी जोत्न थाल्छ । यो दैनिकी कुनै व्यावसायिक किसानको मात्र होइन, बरु नेपाल प्रहरीका एक अवकाश प्राप्त असईको हो, जसले आफ्नो दोस्रो इनिङ कृषिमा समर्पित गरेका छन् ।
प्रहरी सेवाको अनुशासित जीवन बिताएका उनी अहिले प्रकृतिको काखमा उत्तिकै अनुशासित र कर्मशील छन् । पाँचवटा गाईबाट दैनिक २०–२२ लिटर दूध बेच्नेदेखि पाखो बारीमा १० क्विन्टल कोदो फलाउनेसम्मको उनको कृषि कर्म प्रेरणादायी छ । स्थानीय सरकारको अनुदानको ट्याक्टर उनको सहयोगी बन्दा उनी खाद्यान्न र तरकारीमा पूर्ण आत्मनिर्भर बनेका छन् ।
त्यस्तै केही वर्षअघि, यदुनाथ चौलागाईं कोदो फलाउँथे । घण्टौँको पैदल यात्रापछि बजार पुग्दा भाउ भने प्रतिकिलो १५–२० रुपैयाँ मात्रै आउँथ्यो । मिहिनेत खेर गएपछि उनले कृषि कर्मलाई नै तिलाञ्जली दिए र सवारी चालकको पेशा अँगालेका थिए ।
आज अवस्था फेरिएको छ । सवारी चालक बनेका चौलागाईं गाउँ फर्किएर, बाँझो बारीमा वार्षिक ९ क्विन्टल कोदो फलाउँदैछन् र प्रतिकिलो बजार मुल्य थप ६ रुपैयाँमा अनुदान लिएर मुस्कुराउँदैछन् ।
यो परिवर्तन कुनै चमत्कार होइन, बरु मकवानपुरगढी गाउँपालिकाले पछिल्ला केही वर्षमा अघि सारेको एक सुविचारित र एकीकृत कृषि मोडेलको परिणाम हो । पालिकाले केवल अनुदान बाँडेन, बरु उत्पादनदेखि बजारसम्मको एउटा बलियो इकोसिस्टम नै तयार गरेको छ, जसले किसानलाई जोखिमबाट जोगाउँदै व्यावसायिक बन्न प्रेरित गरिरहेको छ ।
रैथाने बालीलाई पुनर्जीवन, किसानलाई सम्मान
पालिकाको कृषिको यो कायापलटको मुख्य आधार बनेको छ ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’। आर्थिक वर्ष २०७७÷७८ मा जब पालिकाले पहिलोपटक कोदो, फापर जस्ता बालीको न्यूनतम समर्थन मूल्य तोकेर प्रतिकिलो १० रुपैयाँसम्म प्रोत्साहन अनुदान दिने निर्णय ग¥यो, तब चौलागाईं र तिमल्सिनाजस्ता किसानका लागि यो आशाको किरण बन्यो ।
आज ‘खालीखोला’ ब्रान्डमा कोदो र फापरको पिठो बजारमा पुगेको छ। कृषि शाखा प्रमुख गोपाल लम्सालका अनुसार, पालिकाले किसानलाई उन्नत बीउ, मिनिटिलर, थ्रेसर जस्ता आधुनिक उपकरणदेखि उत्पादन भण्डारण, प्रशोधन(कम्बाइन मिल)सम्म सहयोग गरेको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, विद्यालयको दिवा खाजामा हप्ताको एक दिन रैथाने परिकार अनिवार्य गरेर पालिकाले स्थानीय उत्पादनका लागि दिगो बजारसमेत सुनिश्चित गरिदिएको छ। यस कार्यक्रमबाट अहिले करिब ६०० हेक्टरमा रैथाने खेती विस्तार भएको छ र ५०० भन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित छन् ।
यान्त्रीकरणको लहर र प्रविधिको प्रयोग
परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्न पालिकाले कृषि यान्त्रीकरणमा विशेष जोड दिएको छ। तेलहन बाली पकेट विकास कार्यक्रमअन्तर्गत मात्रै चालुआर्थिक बर्षमा १४ वटा मिनी टिलर, ३१ वटा इलेक्ट्रिक स्प्रेयर पम्प, १ हजार ४१० मिटर सिँचाइ पाइप, र ५ वटा पानी तान्ने मोटर ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखाले जनाएको छ ।
यान्त्रीकरणको यो लहर खेत जोत्ने उपकरणमा मात्र सीमित छैन। मौरीपालनलाई व्यावसायिक बनाउन पालिकाले किसानलाई २१ वटा मौरीसहितका सेरेना, ३५ वटा खाली सेरेना र ११ वटा मौरीसहितका मेलिफेरा गरी कूल ६७ वटा आधुनिक घार अनुदानमा दिएको छ ।
यसले किसानको श्रम र समय बचत गर्नुका साथै उत्पादन लागत घटाउन महत्वपूर्ण भूमिका खेलेको छ भने मौरीको परागसेचनले उत्पादकत्व समेत पढाउने पालिकाले अपेक्षा लिएको छ ।
तालिम, प्रविधि र अनुदानको त्रिवेणी
मकवानपुरगढीको कृषि मोडेलको सफलताको रहस्य हो, पहिले सीप अनि मात्र सहयोग । चाहे मौरीपालन होस् वा बेसार खेती, पालिकाले किसानलाई पहिले व्यावसायिक तालिम दिन्छ र त्यसपछि मात्र अनुदानमा घार वा अन्य सामग्री उपलब्ध गराउँछ ।
यसले अनुदानको सही सदुपयोग सुनिश्चित गरेको छ। ‘एक घर, दुई फलफूल’ वितरण गरेको छ । आफ्नो जमिन नभएका तर खेती गर्न चाहने विपन्न किसानका लागि पालिकाले जग्गा भाडामा अनुदान ५० भन्दा बढी कृषकलाई प्रतिरोपनी २ हजार रुपैयाँ दिएको छ । अनुदान पाएर निर्धक्क खेती गरिरहेका छन् ।
भविष्यको कृषि क्षेत्रलाई बलियो बनाउन पालिकाले ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत कृषि प्राविधिक विषय पढ्ने विद्यार्थीलाई विद्यालयमै उत्पादनसँग जोडेको छ । वंशगोपाल माविमा यस कार्यक्रमबाट निर्माण भएको गड्यौला मल प्लान्ट यसको सफल उदाहरण हो ।
पशुपालनमामा पनि उत्तिकै केन्द्रित
रैथाने बालीमा मात्र होइन, पालिकाको ध्यान पशुपालनमामा पनि उत्तिकै केन्द्रित छ । मकवानपुरगढी गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रवद्र्धन गर्न र किसानको आयआर्जन बढाउन एकमुष्ट र एकीकृत कार्यक्रम सञ्चालन गरेको छ ।
पशु विकास शाखाले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार, रोग नियन्त्रणका लागि हजारौँ पशुलाई खोप लगाउनेदेखि नश्ल सुधार, दुग्ध उत्पादनमा अनुदान र कृषक सञ्चित कोष स्थापनासम्मका करोडौँका कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएको हो । पालिकाको पशु सेवा शाखाको तथ्याङ्कले यो सफलताको आकार देखाउँछ ।
पशु स्वास्थ्यलाई प्राथमिकता
पशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पालिकाले ३२ हजारभन्दा बढी बाख्रालाई पि.पि.आर, ९ हजार गाईभैँसीलाई खोरेत र ५०० कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ ।
यसका साथै, वडा नं. ४ मा खिलिङ्ग बजेटबाट २ लाख रुपैयाँ बराबरको पशुऔषधी खरिद गरी स्थानीय सहकारीमार्फत किसानलाई वितरण गरिएको छ, जसले रोग नियन्त्रणमा थप सघाउ पुगेको छ ।
नश्ल सुधार र उन्नत गाई वितरण
नश्ल सुधारतर्फ ५ हजार ६७७ गाईभैँसीमा कृत्रिम गर्भाधान गराइएको छ। पशु शाखाका प्रमुख सत्यनारायण शाहका अनसार ३२ सयबढी कृषक आवद्ध १६ वटा सहकारीमार्फत संकलित ५७ लाख ५४ हजार लिटर दूधका लागि प्रतिलिटर १ रुपैयाँ ४५ पैसाका दरले कुल ८३ लाख ८६ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ ।
यसका अतिरिक्त, किसान, सहकारी र पालिकाको त्रिपक्षीय सहभागितामा ‘कृषक सञ्चित कोष’ स्थापना गरि ५५ लाख ३६ हजार २४७ लिटर दुधको २७ लाख ६८ हजार ११९ रुपैयाँ जम्मा गरिएको, जसमा प्रतिलिटर दूधमा तीनै पक्षबाट ५०–५० पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको शाहले जानकारी दिए ।
घाँसको बीउ र प्रशोधन प्लान्टमा सहयोग
उत्पादन वृद्धिका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि पालिकाले ध्यान दिएको छ। १३ वटा दुग्ध सहकारीलाई करिब १ हजार २८० केजी जै र २८० केजी बर्सिम घाँसको बीउ वितरण गरिएको छ । वडा नं. ३ स्थित मनकामना दुग्ध उत्पादक सहकारीमा २५ लाखको लागतमा फोहोरपानी प्रशोधन प्लान्ट जडान गरी दुग्ध विविधिकरण र वातावरणीय स्वच्छतामा सघाउ पु-याइएको छ ।
दाना उद्योगको पुनरागमनः आत्मनिर्भरताको अर्को कदम
मकवानपुरगढीको कृषि क्रान्तिको अर्को महत्वपूर्ण अध्याय हो, चार वर्षदेखि लगानी अभावमा अलपत्र रहेको दाना उद्योगको पुनःसञ्चालन । संघीय, प्रदेश र स्थानीय सरकार तथा सहकारीको संयुक्त ४ करोड लगानीमा स्थापित यो उद्योगले उत्पादन सुरु गरेसँगै पालिका पशु दानामा आत्मनिर्भर बन्ने दिशामा अघि बढेको छ ।
मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टकृत सहकारी संघका अध्यक्ष जनक रेग्मीका अनुसार, प्रतिघण्टा २० बोरा दाना उत्पादन गर्ने क्षमताको यो उद्योगले जिल्लाभरकै माग पूरा गर्न सक्छ ।
चुनौती र भविष्यको बाटो
सफलताका कथाहरुका बीच केही चुनौती पनि छन् । अपांग तथा विपन्न सहकारी संस्थाका अध्यक्ष दिलबहादुर योञ्जन किसानबाट बाली खरिद गरेपछि भुक्तानी दिन ५–७ महिना कुर्नुपर्दा सहकारीलाई ब्याजको मार परेको बताउँछन् ।
वन्यजन्तुबाट बाली जोगाउनु अर्को ठूलो चुनौती हो । त्यस्तै दुधको भूक्तानी समयमा प्राप्त नहुने, त्यहीमाथि पशुहार साईलेज नपाइने, मल नपाउने लगायतका समयाहरु छन् । यद्यपि, गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान यी समस्या समाधान गर्दै अघि बढ्ने बताउँछन् ।
उनी भन्छन्, ‘हाम्रो उद्देश्य किसानलाई आत्मनिर्भर बनाउनु हो । उत्पादनमा आधारित अनुदानले जति धेरै उत्पादन ग¥यो, उति धेरै फाइदा हुन्छ भन्ने सन्देश दिएको छ । आगामी दिनमा ‘कोसेली घर’, ‘बीउ बैंक’ सञ्चालन गर्दै कृषि कार्यक्रमलाई अझै प्रभावकारी बनाउने हाम्रो लक्ष्य छ ।’
पालिकाले आगामी आर्थिक बर्षमा साइलेज उत्पादन गर्ने, एक वडा एक कृषि कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमा आधारित तथा यान्त्रिकरण अनुदान कार्यक्रमलाई थप प्रभावकारी बनाउने जस्ता कार्यक्रम अगाडि बढाएको उनी बताउँछन् ।