हेटौंडाका बिक्रम बानियाँलाई राष्ट्रिय खेलकुद पत्रकार पुरस्कार

हेटौंडा । हेटौंडामा रहेर खेलकुद पत्रकारिता गर्दै आइरहेका बिक्रम बानियाँ राष्ट्रिय खेलकुद पत्रकार प्रोत्साह पुरस्कारबाट पुरस्कृत भएका छन् ।
संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयले वार्षिक रुपमा प्रदान गर्दै आएको खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट हेटौंडाका बानियाँ पनि पुरस्कृत भएका हुन् । बानियाँ गोलनेपाल डटकमसँग आबद्ध छन् । उनले विशेषतः फुटबल प्रतियोगिताहरुको लाइभ रिपोर्टिङ गर्दै आएका छन् ।
बानियाँ विगतमा फुटबल खेलाडीसमेत थिए । मकवानपुरको स्थानीय फुटबलदेखि घरेलु फुटबलको शिर्ष लिग ए डिभिजन लिगतर्फ खेलाडीका रुपमा समेत उनले लामो समय बिताए । तत्कालीन समयको चर्चित फुटबल क्लब सरस्वतीमा उनी डिफेन्डरको भूमिका मैदानमा हुन्थे ।
बानियाँ पछिल्लो एक दशक यता गोलनेपालको सह–सम्पादक तथा बागमती प्रदेश ब्युरो प्रमुखका रुपमा समेत खेल पत्रकारितामा सक्रिय छन् । खेल पत्रकारिकताकै क्रममा देशका विभिन्न जिल्ला तथा विदेशमा समेत पुगेका बानियाँ पछिल्लोपटक सन् २०२३ मा साउदी अरेबियामा सम्पन्न भएको फिफा क्लब विश्वकपमा समेत गोलनेपालको प्रतिनिधिका रुपमा सहभागि भएका थिए ।
बानियाँलाई सोमबार एक कार्यक्रमका बीच माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरीले पुरस्कार प्रदान गरेका हुन् ।
खेलकुद मन्त्रालयको पुरस्कार मुल्यांकन समितिले मुल्यांकन गरी दश खेलकुद पत्रकारहरुले प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भए बमोजिम सोही दश जनाको सूचीमा बागमती प्रदेशबाट बानियाँ पनि परेका थिए ।
बानियाँले यो नेपाल सरकारको प्रतिष्ठित खेलकुद पत्रकार प्रोत्साहन सम्मान पाउनु भनेको आफ्नो लागि गौरवसँगै सौभाग्यको कुरा भएको बताए । यो सम्मानले आफूलाई आउने दिनमा खेलकुद पत्रकारितामा थप रचनात्मक काम गर्न हौसला मिल्ने समेत उनले बताए ।