शिक्षाको उज्यालोः धुलाम्मे कक्षाकोठादेखि डिजिटल स्क्रिनसम्मको यात्रा

घामको पहिलो किरणसँगै मकवानपुरगढी–५, मकवानपुरस्थित शारदा माध्यमिक विद्यालयको आँगनमा विद्यार्थीको चहलपहल सुरु हुन्छ ।
तर, आजभोलिको यो चहलपहल पहिलेको भन्दा निकै फरक छ । केही वर्षअघिसम्म यहाँका विद्यार्थीहरु जीर्ण भवन र चुहिने छानोमुनि बसेर पढ्न बाध्य थिए । आज त्यही विद्यालयमा कक्षा ४ मा पढ्ने रुक्साना कार्की स्कुल बस चढेर आउँछिन् र सफा तथा रंगीन कक्षाकोठामा डिजिटल स्क्रिनमा हेरेर पढ्न पाउँछिन् ।
जुन विद्यालयमा कखरा पढे, आज त्यही शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक छन् इन्द्रबहादुर कार्की । उनलाई आफ्नो पुरानो कक्षाकोठा अझै याद छ । उनी भन्छन्, ‘पहिला पानी पर्दा किताब जोगाउनै मुस्किल पथ्र्यो। अहिले त हामी प्रोजेक्टरमा पढाउँछौँ, कम्प्युटर पनि चलाउन सिकाउँछौँ। हाम्रा विद्यार्थीहरु समाजका लागि डाक्टर, इन्जिनियर, शिक्षक जस्ता प्रतिष्ठित पेसाकर्मी बन्ने सपना बुन्छन् ।’
शारदा माविमा अध्ययनरत विद्यार्थीको चम्किलो आँखामा झल्किएको यो सपना मकवानपुरगढी गाउँपालिकाले शिक्षा क्षेत्रमा ल्याएको समग्र सुधारको एउटा सुन्दर प्रतिबिम्ब हो। शारदा मात्र होइन, पालिकाभित्रका जनता मावि, भानु, चडिण्का लगायत सामुदायिक विद्यालयहरुले नयाँ र आकर्षक स्वरूप पाएका छन् ।
राज्य पुनर्संरचनापछि मकवानपुरगढी गाउँपालिकाको पहिलो पटक नेतृत्व सम्हालेको विदुर हुमागाईंसहितको टिमले ‘समग्र स्थानीय तहको समृद्धिको आधारः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ काम थाल्यो, जसले ‘शिक्षा नै समृद्धिको आधार’ लाई पहिलो प्राथमिकतामा राख्यो। त्यही नारालाई व्यवहारमा उतार्न पालिकाले गरेको प्रयास आज सार्थक देखिएको छ ।
विद्यालयको सुविधा भौतिक संरचनाभित्र सुविधा सम्पन्न भवन, बालमैत्री शौचालय, स्वच्छ पिउने पानी, कम्प्यूटर ल्याव, छात्रछात्रा बास लगायतका पर्छन् । ती संरचनाहरुको पालिकाभित्रका ३७ वटै वटै सामुदायिक विद्यालयमा निर्माण, पुनर्निर्माण र मर्मतको काम अधिकांश विद्यालयमा सम्पन्न भइसकेको छ भने केही अन्तिम चरणमा छन् ।
‘जब विद्यालय सफा, सुन्दर र सुरक्षित हुन्छ, तब मात्र विद्यार्थी र शिक्षक दुवैको मनोबल उच्च हुन्छ,’ निवर्तमान अध्यक्ष हुमागाईंले भने, ‘गुणस्तरीय शिक्षाका लागि प्रभावकारी सिकाइसँगै भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर हामीले विद्यालयको मुहार फेर्ने लक्ष्य लियौं ।’ गाउँपालिकाले भवन निर्माणसँगै हरेक विद्यालयमा सफा खानेपानी र बालमैत्री शौचालय अनिवार्य गरेको छ ।
भौतिक सुधार मात्र होइन, शैक्षिक गुणस्तर वृद्धिका लागि पनि पालिकाले ठोस कदम चालेको छ । शिक्षकहरूका लागि निरन्तर तालिम र प्रविधिमैत्री शिक्षणसम्बन्धी कार्यशाला आयोजना हुँदै आएका छन् । भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापा भन्छन्, ‘पाठ्यक्रम प्रबोधीकरण, विषयगत तथा प्राविधिक तालिमपछि प्रोजेक्टर र स्मार्ट इन्टरएक्टिभ बोर्डको प्रयोगले हाम्रो शिक्षण शैलीमा नवीनता ल्याएको छ ।
श्रव्य–दृश्य सामग्रीमार्फत पढाउँदा विद्यार्थीको सिकाइ उल्लेखनीय रूपमा प्रभावकारी बनेको छ ।’ पालिकाको शैक्षिक गुणस्तर सुधार्न शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र अभिभावकलाई नियमले बाँध्न शैक्षिक क्यालेन्डर निर्माण गरिएको छ ।
कसले, के, कहिले गर्ने जस्ता विषयलाई लिपिबद्ध गरी वार्षिक २३६ दिनमध्ये न्यूनतम १९७ दिन पढाइ हुनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ । सोही योजनाअनुसार, एसईईलाई लक्षित गरी कक्षा १० का लागि साउन महिनादेखि आवासीय पठनपाठनको व्यवस्था मिलाइएको थियो ।

एसईई–२०८१ को परीक्षामा सहभागी सबै विद्यार्थी पास गराएर शतप्रतिशत नतिजा निकालेको ५ नम्बर वडास्थित शारदा मावि । यहाँका प्रधानाध्यापक इन्द्रबहादुर कार्कीको उनको नेतृत्व क्षमतालाई लिएर चर्चा भइरहेको छ ।
साथै, भाद्रदेखि चार महिनासम्म गणित, अंग्रेजी र विज्ञानजस्ता मुख्य विषयहरुमा अतिरिक्त उपचारात्मक कक्षा सञ्चालन गरियो, जसका लागि शिक्षकहरूलाई सिधै गाउँपालिकाबाट भुक्तानी दिएर विद्यार्थीलाई निःशुल्क पढाइयो । यस्तै सहयोग कक्षा ८, ७, ६ र ९ का लागि पनि विभिन्न विषयमा सञ्चालन गरिएको थियो ।
यी प्रयासहरुको सकारात्मक असर कक्षा ८ र माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा स्पष्ट देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार शारदा माविले शतप्रतिशत नतिजा ल्याएर जिल्लाकै उत्कृष्ट विद्यालयमा आफ्नो नाम दर्ता गराएको छ ।
२५ जना सहभागीमध्ये १ जनाले ‘ए प्लस’, ७ जनाले ‘ए’, १३ जनाले ‘बी प्लस’ र ४ जनाले ‘बी’ ग्रेड ल्याएका छन् । त्यस्तै, भानु माविले ३ जना ‘ए प्लस’ सहित ७०.८३ प्रतिशत नतिजा ल्याउन सफल भएको छ, जुन राष्ट्रिय र जिल्लाको औसतभन्दा उत्कृष्ट हो ।
गत वर्ष (विसं २०२०८१) को तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार आएको छ । पालिकाको तथ्याङ्कअनुसार, गत वर्ष १५ प्रतिशत मात्र रहेको एसईई उत्तीर्ण दर यस वर्ष २८.६६ प्रतिशत विन्दुले बढेर ४३.६६ प्रतिशत पुगेको छ ।
आधारभूत तहको नतिजामा पनि उत्साहजनक सुधारः
शैक्षिक सत्र २०८१ मा ३९२ सहभागीमध्ये ३३९ विद्यार्थी (८६.४७%) कक्षा ९ मा अध्ययन गर्न योग्य भएका छन्, जबकि गत वर्ष यो दर ७३.२९% मात्र थियो। उच्च ग्रेड (जीपीए ३.६ देखि ४) ल्याउने विद्यार्थीको संख्या गत वर्ष १ जना मात्र रहेकोमा यस वर्ष ८ जना पुगेको छ ।
गाउँपालिकाको शिक्षा शाखाका अनुसार पालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर राम्रो छ भने बीचमै पढाइ छाड्ने दर लगभग शून्यमा झरेको छ । यसको पछाडि दिवा खाजा कार्यक्रम र विपन्न विद्यार्थीका लागि छात्रवृत्तिले पनि ठूलो भूमिका खेलेको छ ।
मकवानपुरगढी–२ की अभिभावक सम्झना गोले खुसी हुँदै भन्छिन्, ‘पहिले छोराछोरीलाई सामुदायिक स्कुल पठाउनै मन लाग्दैनथ्यो । अहिले त स्कुल बस गाउँमै लिन र पु-याउन आउँछ, खाजा पनि दिन्छ । उनीहरु अंग्रेजीमा बोल्न खोज्छन्, कम्प्युटरबारे कुरा गर्छन् । अब हाम्रा नानीबाबुले पनि राम्रो भविष्य बनाउलान् भन्ने आशा जागेको छ ।’

असार १५ गते दहि चिउरा खाँदै मकवानपुरगढीका विद्यार्थीहरु ।
अवश्य पनि, सबै चुनौती समाप्त भइसकेका छैनन । पालिकाको दुर्गम स्थानमा केही समस्या अझै छन् । मोबाइल र अन्य स्क्रिनमा विद्यार्थीहरूको बढ्दो आसक्तिका कारण उनीहरुमा पढाइप्रति लगाव कम हुँदै गएको देखिन्छ, जुन चिन्ताको विषय हो ।
अपेक्षित प्रतिफल हासिल गर्न शिक्षकले पढाएर मात्र नहुने भएकाले स्थानीय तह र अभिभावकहरुले बालबालिकाको निगरानी गरी पढ्ने वातावरण बनाउन आवश्यक रहेको विज्ञहरुको सुझाव छ ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले सामाजिक विकासअन्तर्गत स्वास्थ्यपछि शिक्षालाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनका अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्दै शुल्क लिने विद्यालयहरुलाई क्रमशः शुल्क घटाउन र गरिब तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको सुनाए ।
शिक्षण गुणस्तर वृद्धिका लागि समय समापेक्ष तालिम, गोष्ठी लगायतको क्रियाकलाप र सोही अनुसारको शौक्षिक सामाग्री व्यवस्थापन गर्न पालिका प्रतिवद्ध रहेको उनको भनाई छ ।

७ नम्बर वडास्थित जनता माविको साँझको दृश्य । भूकम्पले विद्यालयमा क्षति पुगेपछि विदेशी निकायको सहयोगमा विद्यालयको नयाँ भवन निर्माण भएको छ ।