पृथ्वीनारायण शाह हिँडेको पर्यटकीय गाउँ

इतिहासका पन्नाहरुमा केही कथाहरु छन्, जो प्रेम र कूटनीतिबाट सुरु हुन्छन्, तर स्वाभिमान र विद्रोहको आगोमा जलेर विजयको उत्कर्षमा टुङ्गिन्छन् ।
मकवानपुरगढीको कथा यस्तै एउटा जीवन्त अध्याय हो । यो कथा तत्कालीन शक्तिशाली सेन राज्य, एउटी राजकुमारी र नेपाल एकीकरणको सपना बोकेका एक महत्वाकांक्षी राजाको हो, जसले आफ्नो ससुरालीलाई नै युद्धको मैदान बनाएर इतिहास रचे ।
तत्कालीन समयमा सेन राजाहरुद्वारा शासित मकवानपुर राज्य सामरिक र आर्थिक दृष्टिकोणले निकै शक्तिशाली थियो । यसको वैभव र प्रभाव यति थियो कि नेपाल एकीकरणको विशाल सपना बोकेका गोरखाका युवा राजा पृथ्वीनारायण शाहका लागि यो राज्य एक महत्त्वपूर्ण अवसर र चुनौती दुवै थियो। काठमाडौँ उपत्यकाको समृद्धिलाई आफ्नो अधीनमा ल्याउनुअघि मकवानपुरको शक्तिलाई आफ्नो पक्षमा पार्नु वा निस्तेज पार्नु अनिवार्य थियो ।
पृथ्वीनारायण शाहले पहिलो बाटो रोजे–कूटनीतिको । उनले मकवानपुरका राजा हेमकर्ण सेनकी राजकुमारी इन्द्रकुमारीसँग विवाह गर्ने प्रस्ताव पठाए । यो प्रस्ताव केवल वैवाहिक सम्बन्धका लागि मात्र थिएन, यो दुई शक्तिशाली राज्यबीचको रणनीतिक गठबन्धनको प्रयास थियो । विवाह सम्पन्न भयो र पृथ्वीनारायण शाह ज्वाइँका रुपमा मकवानपुरगढी भित्रिए ।
तर, सम्बन्धको यो मिठास धेरै समय टिक्न सकेन । बेहुली अन्माएर पठाउने बेला दाइजोमा वाचा गरिएको अमूल्य गजमोतीको हार र एकदन्ते हात्ती नदिइएपछि सम्बन्धमा दरार आयो । पृथ्वीनारायण शाहले यसलाई दाइजोको लेनदेन मात्र नभई आफ्नो स्वाभिमान र गोरखा राज्यको अपमानका रुपमा लिए ।

दाइजोको रुपमा नदिइएको भनिएको एकदन्ते हात्ती । हात्तीको मृत्यु भएपछि गाडिएको स्थानमै हात्तीको प्रतिमा बनाइएको इतिहास खोजकर्ताहरुका अनुसार गाउँपालिकाले दाबी गर्दै आएको छ ।
मनमा विद्रोहको आगो बोकेर, तर बाहिर शान्त मुद्रामा उनी रित्तो हात गोरखा फर्किए । त्यो दिनदेखि मकवानपुर उनको नजरमा ससुराली रहेन, एकीकरण अभियानको अर्को निशाना बन्यो ।
पृथ्वीनारायण शाहले विवाहका लागि आउजाउ गर्दा प्रयोग गरेको खुँडेधार पदमार्ग नै अब उनको भावी युद्धको रणनीतिक केन्द्र बन्न पुग्यो ।
सन् १७६२ मा, उनले आफ्नो सेनालाई मकवानपुरमाथि आक्रमण गर्न पठाए । गोरखाली सेनाले यही खुँडेधार पदमार्गलाई आफ्नो गुप्त मार्गका रुपमा प्रयोग गर्दै अचानक आक्रमण ग-यो । घमासान युद्धपछि मकवानपुरले हार स्वीकार ग-यो । यो विजय नेपाल एकीकरणको इतिहासमा एक कोसेढुङ्गा साबित भयो, किनकि यसले गोरखालीहरुको मनोबललाई आकाशमा पु-यायो र काठमाडौँ उपत्यका विजयको ढोका खोलिदियो ।
मकवानपुर राज्य जितेपछि, त्यहाँका पराजित राजाले बंगालका शासक (नवाब मिरकासिम) सँग सैन्य मद्दत मागेका थिए । त्यसपछि बंगालबाट आएको ठूलो मुगल सेनालाई गोर्खाली सेनाले वि.सं. १८१९ माघ १० गते मकवानपुरगढीमा भएको युद्धमा बहादुरीपूर्वक हरायो ।
यो नै गोर्खाली सेनाले विदेशी शक्तिलाई हराएको पहिलो र ऐतिहासिक जित थियो, जसको सम्झनामा हरेक वर्ष माघ १० गते ‘विजय उत्सव’ मनाइन्छ । यो उत्सव मनाउने चलन पृथ्वीनारायण शाहकै पालादेखि सुरु भएको थियो र पहिलो कार्यक्रममा उनी आफैँ उपस्थित थिए ।
ऐतिहासिक गढीदेखि पर्यटकीय गन्तव्यसम्म
मकवानपुरगढी गाउँपालिका वडा नं. २ मा रहेको यस ऐतिहासिक दरबारलाई पहिले केवल इतिहासका किताबी कथाहरुले मात्र पर्यटकसँग जोड्ने गथ्र्यो ।
तर, वि.सं. २०७४ मा स्थानीय तहले नेतृत्व पाएपछि यो ठाउँ विजय उत्सव, एकादशी र श्रीकृष्ण अष्टमीजस्ता विशेष अवसरमा मात्रै होइन, फुर्सदको समयमा मकवानपुरे तथा छिमेकी जिल्लावासीहरुका लागि घुम्ने र रमाउने पहिलो रोजाइ बनेको छ । यसको प्रमुख कारण दरबारको भित्री र बाहिरी परिसरमा भएको पुनरुत्थान र नयाँ भौतिक संरचनाहरुको विकास हो ।
दरबार परिसरभित्र वंशगोपालको कृष्ण मन्दिर रहेको छ, जसको अगाडि–पछाडि तत्कालीन सेनवंशी राजाको दरबार थियो । दुवै दरबारको पुनरुत्थानको काम पहिलो चरणमा सकिएको छ ।
बाहिरी क्षेत्रमा घुम्न आउने पर्यटकहरूका लागि पुरानै शैलीमा सिँढी, सूचना गोलघर, एकदन्ते हात्ती र पृथ्वीनारायण शाहको शालिक, चौतारा, पिकनिक स्थल, र विभिन्न प्रजातिका फुलबिरुवा रोपेर हराभरा बनाइएको छ ।

मकवानपुरगढी दरबार परिसर ।
ओझेलमा परेको ऐतिहासिक पदमार्ग
मकवानपुर प्रवेश गर्न अन्य बाटाहरु भए तापनि पृथ्वीनारायण शाहले पटक–पटक यही पदमार्ग (सुकौरा, शिखरकटेरी हुँदै मकवानपुरगढी) प्रयोग गरे र यही बाटोबाट मकवानपुरमाथि विजय हासिल गरे ।
मकवानपुरगढी दरबारको जति चर्चा छ, त्यस रणनीतिक बाटोको चर्चा भने खासै छैन । यो ऐतिहासिक पदमार्ग त्यतिबेलाको सबैभन्दा छोटो तर कठिन मानिन्थ्यो । अग्लो पहाडको चट्टानको धारैधार भएर मकवानपुरगढी–७ को सामरी खोचबाट सुरु हुने यो पदमार्गको अधिकांश भाग मकवानपुरगढी–८ मा पर्दछ । यो पदमार्ग हेटौँडाबाट २५ किमि र कान्ति लोकपथबाट करिब १२ किमि टाढा छ ।
मकवानपुरे इतिहासविद् केदारप्रसाद घिमिरेद्वारा लिखित ‘मकवानपुरगढीको चिनारी’ नामक पुस्तकमा उल्लेख छ, ‘ऐतिहासिक खुडेधार डाँडा हुँदै पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा मकवानपुरमाथि कब्जा जमाउने सोच राखेका थिए ।

मकवानपुरगढी आउजाउ गर्दा पृथ्वीनारायण शाह हिँड्ने गरेको बुढीचौरको खुँडेधार पदमार्ग ।
त्यसबखत मकवानपुर आउजाउ गर्न प्रयोग गरिने मार्गका रुपमा खुडेधार पदमार्गलाई लिइन्छ । यस मार्गलाई पृथ्वीनारायण शाहको ससुराली आवतजावत गर्ने मार्गका रुपमा पनि चिनिन्छ । यही खुडेधार पदमार्ग हुँदै शाहकालीन राजाहरु घोडा सवारी गर्थे ।’
स्थानीय सरकारले खोज, अनुसन्धान गरी ढुङ्गे गढी, खुँडेधार ऐतिहासिक पदमार्ग, ऋषेश्वर गुफा, जाल्पा जलेश्वर मातातीर्थलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा संरक्षण र प्रवद्र्धनको काम अगाडि बढाएको छ ।
मकवानपुरगढीको पर्यटकीय सर्किट
हेटौंडाको कोलाहलबाट केही पर, प्रकृति, इतिहास र संस्कृतिको अनुपम संगम रहेको मकवानपुरगढी घुम्न आउने पर्यटकहरुका लागि केही मिनेटको दूरीमा अविस्मरणीय गन्तव्यहरु रहेका छन् ।
यहाँको यात्रालाई सहज र रोमाञ्चक बनाउन एउटा सुन्दर रुट तयार पारिएको छ । यो यात्रा यसरी गर्न सकिन्छ । यात्रा हेटौँडाको मनकामना चोकबाट सुरु हुन्छ । यहाँबाट मकवानपुरगढी–४ को उकालो लाग्नासाथ तपाईं धार्मिक आस्थाको केन्द्र, मनकामना मन्दिर पुगिन्छ ।

रुद्र पाख्रिन पार्क ।
दर्शनपछि, सोही वडामा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका सहिद रुद्रबहादुर पाख्रिनको स्मृतिमा निर्मित ‘सहिद रुद्र वाटिका’ मा केही बेर सुस्ताउन सकिनेछ । त्यसपछि यात्रालाई अगाडि बढाउँदै वडा नं. ३ मा पुगेर मनकामनाको प्रसिद्ध दूधबाट बनेका परिकारहरुको स्वाद लिन र कोसेलीका रुपमा किन्न सकिन्छ ।
त्यहीँ रहेको ऐतिहासिक ‘एकीकरण विजयी पार्क’ मा केही समय आराम गरेर यात्राको थकान मेटाउन सकिन्छ । यहाँबाट गन्तव्य वडा नं. २ तर्फ मोडिन्छ, जहाँ बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र ‘उग्रेन देछेन छोइलिङ गुम्बा’ को शान्त वातावरणमा ध्यानसाधनबाट मनलाई स्थिर बनाउन सकिनेछ ।
त्यसपछि, नेपालको इतिहास बोकेको एतिहासिक मकवानपुरगढी दरवारको अवलोकन गर्दै विगतका कथाहरुसँग जोडिन सकिन्छ । त्यहीँका होमस्टेमा बसेर स्थानीय मकैको ढिँडो र आफूलाई मनपर्ने तरकारीको स्वाद लिनुको मज्जै बेग्लै हुन्छ ।
करिब ५ किलोमिटरमाथि रहेको २ नम्बर वडाकै ढुङ्गेगढी पुगेर लालीगुराँस फुल्ने रमणीय दृश्य, चिल उड्ने आकाश, निर्माणाधीन द्रुतमार्ग (फास्ट ट्र्याक) तथा सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।
यदि मकवानपुरगढीको तल्लो भेगभन्दा माथिको मनोरम दृश्य र रैथाने स्वादमा रमाउन चाहानेको लागि बुढीचौरको ऋषेश्वर गुफा हेरेर ऐतिहासिक पदमार्गमा खुँडेधारसम्मको साहसिक पदयात्रा गर्न सकिन्छ, जहाँ सिस्नो, सिमीजस्ता रैथाने परिकारको स्वाद लिन पाइन्छ ।
यति घुमिसकेपछि यात्रा सकियो भन्ने नठान्नुहोला ! फर्किने क्रममा वडा नं. ६ को धार्मिक पर्यटकीय स्थल जाल्पा जलेश्वर मातातीर्थमा दर्शन गर्न सकिनेछ । त्यसपछि, वडा नं. ५ को फलमे पुलबाट सामरी नदी तरेर नेपालकै पहिलो ‘पशुमैत्री पार्क’ को अवलोकन गर्न सकिन्छ । यात्राको अन्त्यमा धनेश्वरधामको दर्शन गरी सुपारेटारको सामरी पुल हुँदै चौकीटोलबाट हेटौँडा फर्किन सकिन्छ ।
नयाँ गन्तव्यः छत्रेडाँडा पाथिभरा दिव्यधाम
पछिल्लो समय मकवानपुरगढी–८ मा रहेको छत्रेडाँडा पाथिभरा दिव्यधाम नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चर्चा बटुलिरहेको छ ।
स्थानीय दीपक सिंह रुम्बाले देखेको सपनाका आधारमा जमिनमुनिबाट पञ्चकन्या, सिंहको आकृति र छत्रेश्वर महादेवका शिलाहरु फेला परेपछि वि.सं. २०८१ वैशाख १ गतेदेखि यहाँ विधिवत् पूजाआजा सुरु गरिएको हो ।

छत्रेडाँडाको पाथिभरा मन्दिर ।
समुद्री सतहबाट २,१४१ मिटर उचाइमा अवस्थित यस धामबाट दक्षिणमा तराईको समथर भू–भाग र उत्तरमा सेताम्मे हिमशृङ्खलाको मनोरम दृश्यले मन लोभ्याउँछ । छिनमै हुस्सु लाग्ने र छिनमै खुल्ने मौसमको नाटकीय खेलले यहाँ पुग्ने जोकोहीलाई मोहित बनाउँछ ।
पर्यटनले बढाएको आर्थिक गतिविधि
पर्यटकीय पूर्वाधार विकाससँगै गढी क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । ‘पहिले कार्यक्रम हुँदा मात्रै पर्यटक आउँथे, अहिले दैनिक रुपमा आउँछन् । बिदाको दिनमा मकवानपुरगढी दरबार, मनकामना मन्दिर र ढुङ्गेगढीमा बाक्लो भीड हुन्छ,’ स्थानीय होटल व्यवसायी अमृत न्यौपाने भन्छन्, ‘पर्यटकले गर्दा हाम्रो व्यवसाय पनि राम्रो चलेको छ ।’
यद्यपि, कतैकतै बनेका संरचनाहरु तोडफोड भएको देखिन्छ । ‘यस्तो हर्कतले ‘माल पाएर चाल नपाएको’ भन्ने महसुश गराउँछ । यसले समाजको अवस्था चित्रण गर्छ, यसबारे स्थानीय सरकारले ध्यान दिन आवश्यक छ,’ एक पर्यटक धनबहादुर गोले बताउँछन् ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुमा पूर्वाधार विकासमा लगानी गर्ने र निजी क्षेत्रसँगको सहकार्यमा होमस्टे तथा होटल सञ्चालन गर्न पहल गर्ने बताए ।
उनले छत्रे पाथिभरा मन्दिर निर्माणका लागि प्रदेश सरकारबाट १० लाख बजेट प्राप्त भएको र थप कामका लागि पहल गरिने जानकारी दिए । उनका अनुसार, पर्यटकीय क्षेत्रलाई स्थानीयको आयआर्जनसँग जोड्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विभिन्न सातवटा योजना अगाडि सारिएको छ ।