आठ वर्षमा उथलपुथल गरेको दुर्गम गाउँ

संजिव सुनार
असार १५, २०८२

त्यो एउटा कालो रात थियो, वि.सं. २०६४ सालको । साविक मकवानपुरगढी गाविस वडा नं. १ की विष्णुमाया थिङलाई असह्य प्रसव पीडाले च्याप्यो । उनका श्रीमान त्भक्त थिङले छिमेकीहरुको सहारामा उनलाई डोकोमा बोके ।

लाल्टिनको धिपधिपे उज्यालोमा निर्दयी गोरेटो पहिल्याउँदै अस्पतालतर्फ लागे । तर, नियतिको क्रूर खेल, एम्बुलेन्स आउने सडकसम्म पुग्न नपाउँदै जंगलको बीचमा विष्णुमायाले बच्चा जन्माइन् । बच्चा त जन्मियो, तर अत्याधिक रक्तश्रापले उनको शरीर गलिसकेको थियो । अस्पतालको आँगन टेक्न नपाउँदै विष्णुमायाले सदाका लागि आँखा चिम्लिइन् ।

यो एउटा प्रतिनिधिमूलक त्रासदी मात्र थियो ।  वि.सं. २०७२ को भूकम्पले घर भत्काउँदा राहतको एक मुठो चामल र एक त्यान्द्रो त्रिपालका लागि घण्टौं पैदल हिँड्नुपर्ने विवशता यहाँका बासिन्दाको नियति थियो ।  निलो आकासमुनिको असुरक्षित बास र संघर्षपूर्ण जीवनका यी सबै पीडा र संघर्षका मौन साक्षी थिए, स्थानीय शुभलाभ प्राविका शिक्षक आइत सिं लो ।

जनताका यिनै आँसु र दुःखले उनलाई शिक्षकको भूमिकाबाट बाहिर निस्केर समाज परिवर्तनको बाटोमा डो-यायो । २०७४ को स्थानीय तह निर्वाचनमा उनी जनताको मन जितेर वडा अध्यक्ष बने । त्यसपछि, समयले कोल्टे फे-यो । आज त्यही विकट भूगोलमा विकासको एउटा नयाँ धुन गुञ्जिरहेको छ, जसका संगीतकार बनेका छन्, आइत सिं लो र उनको कर्मशील टिम ।

उनले ठूला घोषणापत्र बाँडेनन्, बरु जनताको आवश्यकतालाई आफ्नो कर्मको घोषणापत्र बनाए । उनको दर्शन सरल तर शक्तिशाली थियो, ‘पदभन्दा ठूलो कर्म हो ।’ यही मन्त्रलाई आत्मसात गर्दै उनले टुक्रे योजनाको भिडमा अलमलिनुको सट्टा, जनताको जीवन छुने ठोस काममा ध्यान केन्द्रित गरे ।

नेतृत्वमा पुगेपछि उनको पहिलो प्रहार त्यही अँध्यारोमाथि भयो, जसले विष्णुमाया जस्ता सयौंको जीवन जोखिममा पारेको थियो । जहाँ सुत्केरी व्यथाले च्याप्दा डोकोको यात्रा अन्तिम यात्रा बन्थ्यो, आज त्यही वडामा जिल्लाकै पहिलो सामुदायिक प्रसूति केन्द्र सञ्चालनमा छ । वडाध्यक्ष लो गर्वका साथ भन्छन्, ‘हाम्रो स्वास्थ्य इकाइ अहिले सानो अस्पताल जस्तै बनेको छ ।’ यो केवल एउटा भवन होइन, यो विष्णुमाया जस्ता सयौँ आमा र शिशुको जीवन रक्षाको भरोसा हो ।

त्यो डोको बोक्नुपर्ने बाध्यता र भूकम्पपछिको संघर्षले ‘घरघरमा सडक’ अभियानलाई जन्मायो । आज वडामा सानाठूला गरी करिब ८५ वटा सडकको सञ्जाल फैलिएको छ, जसले लगभग सबै घरलाई छोएको छ ।

एक्लेखेत–आपँटार–रानीशेरा र गढीदरबार–रानीबास हुँदै कान्तिलोकपथ जोड्ने जस्ता वडाका प्रमुख करिव १० सडकहरु आज विकासका धमनी बनेका छन । यी सडकले केवल गाडी होइन, अवसर र सम्भावनालाई गाउँसम्म डो-याएका छन ।

टुकीको धिपधिपे उज्यालो आज ९८ प्रतिशत घरमा बलेको बिजुलीको झिलिमिलीमा परिणत भएको छ भने दशकौंदेखिको खानेपानीको तिर्खा घरघरमा पुगेका धाराले मेटेका छन ।

५ वटा विद्यालय भएपनि कक्षा ८ सम्म मात्रै पढाई हुन्थ्यो । पढाईको फलामे गेट तोड्न मकवानपुरगढी २ को शिखरकटेरी की हेटौंडा उपमहानगरपालिका छिर्नुपथ्यो । त्यो बाध्यता विसं.२०७८ सालदेखि रानीसेरा माध्यमिक विद्यालय १० कक्षासम्मको कक्षा सञ्चालन भएपछि हटेको छ ।

सबैभन्दा मार्मिक पक्ष त के छ भने, १६ वर्षअघि त्यही कहालीलाग्दो रातमा आफ्नो प्राण त्यागेर जन्म दिएकी विष्णुमायाकी छोरी आज त्यही रानीसेरा माविबाट एसईई दिने तयारीमा छिन । यो शिक्षाको ज्योतिले विगतको अँध्यारोलाई कसरी जितेको छ भन्ने जीवन्त उदाहरण हो ।

साबिकका दुई वडा मिलेर बनेको एउटै वडामा सुरुको ‘वारी–पारी’ को मनोवैज्ञानिक खाडललाई उनले विकासबाटै पुरेका छन् । यसको पुष्टि सोही वडाका फुलबारी निवासी ६८ वर्षीय प्रलाद सापकोटाको अनुभवले गर्छ ।

उनी भन्छन्, ‘हाम्रो वडाका योजनाहरु बन्द कोठामा होइन, जनताको चौतारीमा छलफल गरेर बनाइन्छ । अध्यक्षज्यूले हाम्रो आवश्यकतालाई सुनेर काम गर्नुभएको छ ।’ सापकोटा थप्छन्, ‘सोही अनुरुप काम हुँदा आज हामीले सडक, पानी, बिजुली र स्वास्थ्य सेवाजस्ता पूर्वाधारको उपभोग गर्न पाएका छौं । हाम्रो वडाको लागि आएको बजेट फिर्ता हुन पनि दिएका छैनौं ।’

‘डोजर चलाएर मात्रै विकास हुँदैन, आधारभूत आवश्यकताको जग बसोको छ अबको नजर आर्थिक समृद्धिको क्षितिजतर्फ छ,’ वडाध्यक्ष लो भन्छन्, ‘हामी दुई, पाँच लाखको टुक्रे बजेट बनाउने छैनौँ, देखिने र प्रभावकारी कामहरुमा मात्र बजेट केन्द्रित गरिनेछ ।’

रानीबास कृषि पर्यटन पार्कको डीपीआर तस्बिर ।

यो सोचले अब कृषिलाई व्यावसायीकरण गर्ने, घरेलु उद्योग सञ्चालन, पशुपालनलाई डेरी उद्योगसँग जोड्ने र रानीबासको उजाड पाखामा ‘एग्रो टुरिजम पार्क’ बनाएर पर्यटनको दियो बाल्ने सपनालाई साकार पार्ने उनको योजना छ ।

आफ्नो सफलताको श्रेय उनी एक्लै लिँदैनन् । ‘यो सफलता समग्र टिम, जनसमुदाय र राजनीतिक दल सबैको सामूहिक प्रयासको फल हो,’ उनको विनम्रताले भन्छ । कार्यकालको अन्तिम दुई वर्षमा उनको लक्ष्य स्पष्ट छ– ‘दुई कार्यकालपछि बिदा हुँदा ‘आइत सिं लो र उसको टिमले सबैलाई मिलाएर, उदाहरणीय काम ग¥यो’ भन्ने सन्देश प्रवाह गर्नु हो ।’

यो दुर्गम गाउँमा ८ अर्बमा के–के परिवर्तन आए ?

शिक्षाः

हामीले २०७४ सालमा जनप्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्नुअघि मकवानपुरगढी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई विकासको पाँच स्तम्भका रुपमा लिएको थियो ।

शिक्षाको कुरा गर्दा, २०७४ सालमा यो वडामा जम्मा ५ वटा विद्यालय थियो । जसमा रानीसेरा माध्यमिक विद्यालय ८ कक्षासम्म मात्र सञ्चालित थियो ।

अहिले उक्त विद्यालयमा १० कक्षासम्म सञ्चालन भई एसईईका तीनवटा ब्याच उत्तीर्ण भइसकेका छन्, जसले गर्दा विद्यार्थीलाई अध्ययनका लागि हर्नामाडी वा ठूलोदमार जस्ता टाढाका स्थानमा जानुपर्ने बाध्यता हटेको छ ।

पहिले आधारभूत तहको शिक्षाका लागि जम्मा ४ जना शिक्षकले पढाउनु पर्ने बाध्यता थियो । अहिले १० कक्षासम्म पु-याउँदा शिक्षक संख्या बढेको छ, तर विषयगत शिक्षक दरबन्दीको अभाव अझै छ, जसलाई मिलाउने प्रयास भइरहेको छ ।

विद्यालयमा शिक्षक संख्या र भौतिक पूर्वाधार ९घेराबार, भवन आदि० मा सुधार गरिएको छ । साथै, विभिन्न प्राविधिक तथा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ । ‘समग्रमा शिक्षा क्षेत्रमा हामीले फड्को मारेका छौं ।’ अध्यक्ष लोले सुनाए ।

स्वास्थ्यः

स्वास्थ्यतर्फ, पहिले सामान्य उपचारका लागि पनि हर्नामाडी वा शिखरकटेरी हालको वडा नं. २ मा जानुपर्ने अवस्था थियो । बिरामीलाई डोकोमा बोकेर ३ घण्टासम्म हिँड्नुपथ्र्यो । हामी निर्वाचित भएपछि २०७४ साल माघ ५ गतेबाट आँपटार सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरी एकजना करारका अहेवमार्फत सेवा सुरु ग-यौं ।

करिब ८–९ महिनापछि, मकवानपुर जिल्लामै पहिलो पटक सामुदायिक स्वास्थ्य इकाइमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्यायौं । सुरुमा भाडाको कोठाबाट थालिएको यो सेवा, पछि वडा सिलिङको करिब ८–९ लाख बजेटबाट ३ कोठे भवन निर्माण गरी सारिएको छ ।

सुरुमा शौचालय नहुँदा अस्थायी शौचालय बनाएर काम चलायौं । भौगोलिक विकटताका कारण पछि पिङडाँडामा पनि एकजना करार कर्मचारीसहित खोप केन्द्र स्थापना गरी सेवा विस्तार गरिएको छ, जसले गर्दा वडावासीलाई स्वास्थ्य सेवामा सहज भएको छ । हाम्रो स्वास्थ्य इकाइ अहिले सानो अस्पताल जस्तै बनेको छ ।

विद्युतीकरणः

विद्युतीकरणमा, पहिले वडामा बत्ती नभएको अवस्थाबाट सुरु गरी हाल वडाको करिब ९८ प्रतिशत क्षेत्रमा पोल, तार र केबलसहित व्यवस्थित विद्युत् विस्तार भइसकेको छ । २०७५ साल चैत ८ गते, कोराण महामारीको अवस्था थियो, लकडाउन चैत १२ गते सुरु हुनुभन्दा पहिले राष्टिूय प्रसारण लाइन जोडिएको थियो ।

कृषि र पर्यटनः

सिँचाइ अभावका कारण कृषिमा ठूलो फड्को मार्न सकिएन । सिँचाइ अभावका बीच हाल १० लाखको बजेटमा ६४ वटा ६ मिटर चौडाई र १२ मिटर लम्बाईको बाँसको टनेल वितरण गरी तरकारी खेती प्रवद्र्धन गरिँदैछ ।

पशुपालन (गाई अनुदान)मार्फत मल उत्पादन र डेरी विकासको योजना छ, जसले स्थानीयको जीवनस्तर उकास्नेछ । पर्यटनतर्फ, सिन्धुलीगढी कला केन्द्रबाट प्रेरित भई रानीबास एग्रो टुरिजम पार्क (मकवानपुरगढी कला केन्द्रको रुपमा प्रस्तावित) विकास गरिँदैछ ।

करिब २० विघाको सार्वजनिक जग्गा (पहिले पर्ति बाँझो) मा घेराबार, गेट, पिकनिक स्थल र सामुदायिक भवन (दुई कोठे) निर्माण भइसकेको छ । यहाँ होमस्टे सञ्चालन गर्ने, स्थानीय तथा लोपोन्मुख सामग्रीहरु (जस्तैः हलोजुवा, फुर्लुङ, खुर्पेटो, जातो, ढिक्की, ढोको, डालो, नाम्लो लगायत) को संग्राहलय बनाउने योजना छ । यसले आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्नेछ ।

खानेपानीः

खानेपानीको समस्या समाधान गर्न चालीसे खानेपानी मुहानबाट साविक २ का फुलबारी, डाँडागाउँ, पिङडाँडा क्षेत्रमा करिब १ करोड ५० लाखको लागतमा मिटर जडित धारा घरघरमा पु-याइएको छ ।

डेढ वर्षअघि वडा कार्यालयमा समेत स्वच्छ खानेपानी थिएन, मिनरल वाटर प्रयोग गर्नुपथ्र्यो । अहिले वडा कार्यालय आसपास आँपटार क्षेत्रमा पनि लेकको पानी ल्याएर घरघरमा मिटरसहित धारा जडान गरिएको छ ।  त्यसैगरी, रानीशेरा क्षेत्रमा पनि घट्टेपाखा मुहानबाट करिब २ करोडको लागतमा रानीशेरा माविलगायत ५०–६० घरधुरीमा मिटरसहित खानेपानी पु-याइएको छ ।

सडक सञ्जालः

सडक सञ्जालमा, पहिले केही अस्थायी ३ मिटरका टूयाक्टर गुड्ने सडक मात्र थिए । २०७२ को भूकम्पपछि पुनर्निर्माणका लागि सामग्री लैजाने असहज भएपछि सडक निर्माणको माग ह्वातै बढ्यो । स्थानीय मागअनुसार घरघरमा सडक पु-याउने अभियान चल्यो ।

हाल वडामा सानाठूला गरी करिब ८५ वटा सडक निर्माण भएका छन् । जसमा एक्लेखेत–आपँटार–रानीसेरा, दोभानचौर–बेलडाँडा–फुलबारी, दोभानचौर–बाँझोखेत–डाँडागाउँ, पराजुलीडाँडा–अधेरी, ढाप–गुर्दुम—भित्रीसौरा सडक, गढीदरवार—आलडांडा–पिङडांडा रानीवास (कान्तिलोकपथ जोड्ने), रानीसेरा–रानीडांडा–जीतपुर सडक, एक्लेखेत–ढाप–बेलघारी–सिमातखोला सडक जस्ता करिब १० वटा मुख्य सडकहरु छन् ।

ती सडकहरुलाई बाह्रैमास सञ्चालनमा ल्याउन सकिने गरि धमाधम भइरहेका छन् । लगभग वडाभित्रका सबै घरहरुमा सडक पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*