बागमती प्रदेश सरकारले ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ ।
बागमतीका मुख्य मन्त्री बहादुर सिंह लामाले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । प्रदेश खेलकुद परिषद् बागमतीको आयोजना र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिकको समापनको अवसरमा शनिवार भएको चौथो ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम मुख्य मन्त्रीले भत्ता दिने बताएका हुन् ।
गण्डकी प्रदेशले दुई वर्षयता आफ्नो प्रदेशका ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । सुदूरपश्चिम प्रदेशले हालै आफ्ना प्रदेशका ओलम्पियनलाई भत्ता दिने घोषणा गरेको छ ।
सो अवसरमा सन् १९९२ , १९९६ र २००० को ओलम्पिकमा भाग लिएका अनिता श्रेष्ठ, सिताराम शाही, विमला राना मगर, भगवती खत्री, ज्ञानबहादुर बोहोरालाई लाई सम्मान गरिएको थियो । १९९६ का ओलम्पियन स्वर्गीय सुनिललाल जोशीलाई मरणोपरान्त परिवारमार्फत सम्मान दिइएको थियो ।
मुख्य मन्त्री लामा, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद परिषद् बागमती सदस्य सचिव दीपक लामा, ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्टले सम्मान गरेका थिए ।
सोही अवसरमा अध्यक्ष विष्ट र कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले पेरिस ओलम्पिकमा भाग लिएका ७ मध्ये ३ जना एथलेटिक्सका सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहाललाई ओएलवाईको पिन र प्रमाण पत्र प्रदान गरे ।
स्कुल टु ओलम्पिक कार्यक्रमको समापनको अवसरमा बिहान चितवनमा वाकाथन भएको थियो । वाकाथनमा मुख्यमन्त्री लामा, खेलकुद मन्त्री महर्जन, रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा, ओलम्पियन, खेलाडी, विभिन्न खेलकुद संघ संस्थाका प्रतिनिधि, खेलकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।
सौराहाको हात्तीचोकबाट रिभर साइडसम्म वाकाथन भएको थियो । ओलम्पियन्स एसोसिएसनले चार वर्षअघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु गरेको थियो । आज बिहान स्कुल टु ओलम्पिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।