बागमतीमा हालसम्म २० प्रतिशत रोपाइँ, देशभर गतवर्ष भन्दा दुई प्रतिशतले कम

संवाददाता
असार १३, २०८२

हेटौंडा । देशभरि असार दोस्रो सातासम्म १५ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले शुक्रबार यो तथ्यांक सार्वजनिक गरेको हो ।

विभागको तथ्यांक अनुसार १३ असारसम्म १ करोड ३९ लाख १३ हजार २१ हेक्टरमध्ये २ लाख १७ हजार २ सय ८९ हेक्टरमा मात्र रोपाइँ भएको हो । अनुपातमा धेरै कम हेक्टर क्षेत्रफलमा रोपाईं भएको छ ।

गतवर्षको तुलनामा २ प्रतिशतले कम धान रोपाईँ भएको हो । गत वर्ष १४ असारसम्मको अवधिमा १७.२ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष सोही अवधिमा १५.६ प्रतिशत मात्रै भएको छ ।

बागमती प्रदेशमा २०.५ प्रतिशत धान रोपाईँ भएको विभागले जनाएको छ । देशका सात प्रदेशमध्ये सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । त्यहाँ कुल रोपाइँ क्षेत्रफलको ४५.५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै कर्णाली प्रदेशमा ३९.१ प्रतिशत, लुम्बिनी ९.७, गण्डकी १३.८, मधेस ३.९ र कोशी प्रदेशमा १४.३ प्रतिशत रोपाइँ भएको छ ।

मधेश प्रदेशका सप्तरी, रौतहट र महोत्तरी जिल्लाको विवरण आउन बाँकी रहेको विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*