रैथाने बालीले हराभरा बाँझो जमिन, गाउँको कोदोको बीउ हिमालदेखि तराईसम्म

मकवानपुरगढी । उचित मूल्य र बजारको अभावमा रैथाने बालीको खेती छाडेर पलायन भएका मकवानपुरगढी गाउँपालिकाका किसानहरु स्थानीय सरकारको प्रवद्र्धनात्मक कार्यक्रमपछि पुनः व्यावसायिक खेतीतर्फ फर्किएका छन् ।
गाउँपालिकाले न्यूनतम समर्थन मूल्य, उत्पादन अनुदान र बजार व्यवस्थापनको सुनिश्चितता गरेपछि कुनै समय बाँझिएका सयौँ रोपनी जमिनमा अहिले कोदो र फापर लहलह भएका छन्, जसले किसानको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–४ का यदुनाथ चौलागाईंले प्रतिकिलो १५–२० रुपैयाँमा कोदो बेच्नुपर्ने बाध्यताले खेती छाडेर सवारी चालक बनेका थिए । त्यसैगरी, वडा नम्बर–८ का बालनन्द तिमल्सिनाले फापरको उचित मूल्य नपाउँदा मुरीका मुरी उत्पादन हुने खेतमा नाम मात्रको खेती गर्न थालेका थिए ।
तर, आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले सहकारीमार्फत ‘रैथाने बाली खरिद–बिक्री अनुदान कार्यक्रम’ ल्याएपछि यो निराशाजनक अवस्थामा पूर्णविराम लागेको छ ।
पालिकाले पहिलोपटक कोदो, मिठे र तिते फापरको प्रतिकिलो क्रमशः ४२, ६० र ७० रुपैयाँ न्यूनतम समर्थन मूल्य तोक्दै उत्पादनमा किसानलाई प्रतिकिलो २ रुपैयाँ अनुदान दिन थालेपछि तिमल्सिना र चौलागाईं जस्ता धेरै किसान पुनः खेतीमा फर्किए ।
‘पहिले बिचौलियाले जे मूल्य दिन्थ्यो, त्यही स्वीकार्नुपथ्र्यो । अहिले त गाउँमै प्रतिकिलो १०५ रुपैयाँमा बिक्री हुन्छ,’ गत वर्ष ४ क्विन्टल फापर बिक्री गरेका तिमल्सिनाले खुसी व्यक्त गरे । चालक पेसा छाडेर गाउँ फर्किएका ६५ वर्षीय चौलागाईंले पनि यो वर्ष करिब ९ रोपनी बाँझो जमिनमा खेती गरेर ९ क्विन्टल कोदो फलाए ।
‘यो वर्ष प्रतिकिलो ६६ रुपैयाँमा बेच्यौँ, प्रायः हरेक वर्ष मूल्य बढ्दै आएको छ,’ उनी भन्छन्, ‘पहिले जस्तो कोदालोले खन्नु पर्दैन, अहिले ट्याक्टरले जोतिन्छ । जनशक्ति पाए बाँकी बाँझो बारीमा पनि कोदो लगाउँछु ।’
गाउँपालिकाले उत्पादन प्रोत्साहन तथा बजार व्यवस्थापनको कार्य मकवानपुरगढी–४ स्थित अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थामार्फत गर्दै आएको छ । पालिकाले तोकेको मूल्यमा सहकारीले किसानको घरदैलोबाटै उत्पादन खरिद गर्छ ।
कृषि शाखा प्रमुख गोपाल लम्सालका अनुसार चालुआर्थिक बर्षका लागि कोदो/धानकोदो ६०, मिठे फापर १०५, तीते फापर ९० र जुनेलो ८४ रुपैयाँ प्रतिकिलो न्यूनतम् मुल्य तोकिएको छ । जसमा उत्पादन प्रोत्साहनबापत दिइने प्रतिकिलो १० रुपैयाँ अनुदानमध्ये ६ रुपैयाँ किसानले र ४ रुपैयाँ सहकारीले बजार व्यवस्थापनका लागि पाउँछन् ।
कार्यक्रमको प्रभाव तथ्यांकमा पनि स्पष्ट देखिन्छ । पछिल्ला तीन आर्थिक वर्षमा रैथाने बाली (कोदो, फापर, धानकोदो, जुनेलो)को उत्पादन क्रमशः ११३ क्विन्टल, १५० क्विन्टल र १८० क्विन्टल पुगेको छ । सुरुमा २०० हेक्टरमा सीमित खेती अहिले करिब ६०० हेक्टरमा विस्तार भएको छ भने ५०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
यद्यपि, सफलताका बीच केही चुनौती पनि छन् । सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनका अनुसार किसानलाई तत्काल भुक्तानी दिन ऋण लिनुपर्ने तर बिक्रीपछिको रकम आउन ५ देखि ७ महिना लाग्दा ब्याजको मारमा पर्नुपरेको छ । उनले भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिए किसान र सहकारी दुवैलाई राहत हुने बताए ।
यी चुनौतीका बाबजुद पालिकाले कार्यक्रमलाई थप प्रभावकारी बनाउन ‘कोसेली घर’ निर्माण, ‘बीउ बैंक’ सञ्चालन र कोदोको वाइन उत्पादनजस्ता महत्वाकांक्षी योजना अघि सारेको छ । सहकारीमार्फत ‘कालीखोला’ ब्रान्डमा कोदो र फापरको पिठो बजारमा उपलब्ध छ ।
खेती प्रविधि/पद्धति, रोग–कीरा व्यवस्थापन, भण्डारण तथा बजारीकरण, रैथाने बालीबाट होटल तथा रेष्टुरेन्टमा बिक्रि गर्न सकिने परिकारहरु बनाउने तालिम प्रदान गरी मेला–महोत्सवमा प्रदर्शनी समेत गरिएको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, विद्यालयको दिवा खाजामा हप्ताको एक दिन रैथाने बाली अनिवार्य समावेश गरिनुले स्थानीय उत्पादनको खपत बढाउनुका साथै बालबालिकालाई पोषिलो आहारसमेत सुनिश्चित गरेको छ ।
मकवानपुरगढीको कोदोको बीउ तराईदेखि हिमालसम्म
यहाँका किसानले उत्पादन गरेको कोदोको बीउ व्यावसायिक खेतीका लागि तराईदेखि हिमाली जिल्लासम्म पुगेको छ । जिल्लाकै केही स्थानीय तहले पनि बीउका लागि यहाँबाट कोदो खरिद गरेका छन् ।
वि.सं. २०८० देखि हालसम्म ४० क्विन्टल कोदो बीउका रुपमा बाहिरी जिल्लाहरुमा निर्यात गरिएको छ । अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाका अध्यक्ष दिलबहादुर योञ्जनका अनुसार सबैभन्दा बढी हिमाली जिल्ला गोरखा र सिन्धुलीमा १०/१० क्विन्टल कोदोको बीउ निर्यात गरिएको हो ।
त्यस्तै, कास्कीमा ७ क्विन्टल तथा चितवन र बागलुङमा ५/५ क्विन्टल निर्यात गरिएको उनले बताए । तराईमा कोदो खेतीको सम्भावनाबारे अध्ययन तथा परीक्षण गर्न बारा जिल्लालाई दुई क्विन्टल बीउ बिक्री गरिएको अध्यक्ष योञ्जनले जानकारी दिए ।
उत्पादन क्षमता राम्रो भएकाले हेटौंडा उपमहानगरपालिकालाई पनि एक क्विन्टल बिक्री गरिएको छ । मकवानपुरगढीको रैथाने कोदो हिमाली जिल्लादेखि तराईसम्म विस्तार हुँदा यसले आर्थिक लाभसँगै पालिकाको साखसमेत बढाएको उनी बताउँछन् ।
देशमै पहिलो पटक रैथाने बाली प्रवद्र्धन कार्यक्रम
मकवानपुरगढी गाउँपालिकाले देशमै पहिलो पटक रैथाने बालीको प्रवद्र्धनात्मक कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष बिदुर हुमागाईं देशका ७५३ वटा स्थानीय तह र ७ प्रदेश सरकारमा मकवानपुरगढीले पहिलो पटक रैथाने बाली संरक्षण र उत्पादनमा प्रवद्र्धन कार्यक्रम ल्याएको बताउँछन् । पालिकाले पाँच वर्षअघि आन्तरिक स्रोतबाट सुरु गरेको रैथाने बाली प्रवद्र्धन कार्यक्रमलाई संघीय सरकारले पनि सहयोग गरिरहेको छ ।
चालु आर्थिक वर्षदेखि प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको कृषि शाखा प्रमुख लम्सालले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा संघीय, प्रदेश र स्थानीय तहबाट विनियोजित २१ लाख रुपैयाँ बजेट किसानको माग अनुसार उत्पादनमा विविधिकरण, प्रोत्साहन अनुदान, उन्नत बीउबीजन, आधुनिक कृषि उपकरण, भण्डारण गृह निर्माण, तालिम, रोग–कीरा नियन्त्रण तथा परामर्शमा खर्च गरिएको छ ।
उत्पादन लागत कम तथा कृषकलाई आकर्षित गर्न यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत मिनिटिलर, थ्रेसर, कम्बाइन मिल, स्पेयर पम्पलगायतका सामग्री वितरण गरिएको लम्सालले जानकारी दिए । साथै, कोदो, फापर, धानकोदो, जुनेलो, कागुनो, भटमास आदिको उन्नत बीउ वितरण गरिएको छ ।
साना सिचाइ आयोजनाअन्तर्गत प्लास्टिक पोखरी, कुलो मर्मत तथा निर्माण, मोटरपाइप सिचाइ, पानीघट्ट सुधारजस्ता गतिविधिहरु सञ्चालनमा छन् भने रैथाने बालीबाट निम्की, विस्कुट, पाउरोटी लगायत परिकार बनाएर व्यवसायिक बनाउन ओभनसमेत वितरण गरिएको कृषि शाखाले जनाएको छ ।