बागमतीमा बजेट विवाद चर्किँदै, प्रदेशसभा बैठक चार दिन धकेलियो

१३ असार, हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र बजेटको विषयमा चर्को विवाद उत्पन्न भएपछि बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक धकेलिएको छ ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको बुधवार साँझ र आज बिहीवार बिहान ९ बजेदेखि बसेको बैठकमा सांसदहरुले बजेटप्रति असन्तुष्टी राखेका थिए । कांग्रेसभित्र बजेटको विषयमा विवाद चर्किँदै गएपछि प्रदेशसभा बैठक पनि सरेको हो । कांग्रेस संसदीय दलको बैठक भने आज पनि निरन्तर जारी छ ।
संसदीय दलको बैठकमा सांसद र मन्त्रीहरुबीच विवाद भएको थियो । आज बसेको दलको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेसँग सांसदहरुको नोकझोक नै परेको एक सांसदले अनलाइनखबरलाई जानकारी दिए ।
१ असारमा मन्त्री काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि छलफलका लागि आज बिहीवारबाट बागमती प्रदेशसभा बैठक बोलाइएको थियो ।
११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक १६ असार १ बजेलाई धकेलिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । सचिवालयले विशेष कारण देखाउँदै सभामुख भुवनकुमार पाठकले चार दिनपछि बैठक निर्धारण गरेको सभा सचिव रामकुमार पौडेलले जानकारी दिए ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले बजेटमा केहि मिलाउनुपर्ने भएकाले प्रदेशसभा बैठक सारिएको अनलाइनखबरलाई प्रतिक्रिया दिए । ‘बजेटमा केहि समस्याहरु आएका छन् । केहि मिलाउनुपर्ने भएको छ । छलफल गर्नुपर्ने भएकाले प्रदेशसभा सारिएको हो ।’ उनले भने । कानुनअनुसार बजेट संशोधनसमेत हुन सक्ने चित्रकारले संकेत गरे ।
सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बजेटमा सांसदहरुको गुनासो प्राप्त भएको र त्यसमाथि सत्तारुढ दलभित्र छलफल गरेर अगाड बढ्नुपर्ने भएकाले बैठक चार दिनपछि सारिएको जानकारी दिए ।
‘बजेटभित्र केहि त्रुटी देखिएका छन् । सांसदहरुका पनि गुनासा र असन्तसष्टी देखिएको छ । त्यसलाई कसरी सुधार गरेर जान सकिन्छ भनेर आवश्यक छलफलका लागि समय लिन प्रदेशसभा सारिएको हो,’ उनले भने ।
संघ सरकारको जस्तै बागमती प्रदेशको पनि बजेट संशोधन गर्न खोजिएको हो प्रश्नमा उनले भने, ‘बजेट संशोधन नै गर्ने भन्ने कुरा होइन् । केहि समस्याहरु आएको भएर छलफल गर्न खोजिएको हो । अब सरकारका दुई दल कांग्रेस र एमालेको साझा धारणा जे आउँछ त्यहि अनुसार अगाडि बढ्ने सम्भावना छ ।’
सत्ता साझेदार दल नेकपा एमालेभित्र पनि बजेटको विषयलाई विवाद देखिएको छ । कांग्रेसभित्रको विवादले प्रदेशसभा बैठक धकेलिए पछि एमाले पनि आन्तरिक छलफलमा जुटेको छ ।
कांग्रेस संसदीय दलको बैठकमा भएको के हो ?
बजेटको विषयलाई दिएर कांग्रेसभित्र विवाद चर्किँदो छ । मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले आफ्नै दल नेपाली कांग्रेसका सांसदहरुबाट घेरिएका छन् ।
दलको बैठकमा सांसदहरुले मुख्यमन्त्री लामा र अर्थमन्त्री काफ्लेलाई ¥याख¥याख्ती पारेको एक सांसदले अनलाइनखबरलाई बताए । मुख्यमन्त्री लामा र आर्थिक मामिलामन्त्री काफ्लेले आफ्नो जिल्लामा मात्रै बजेट खनाएको तर सांसदहरुको योजना छुटाइएको आरोप लगाइएको थियो ।
बजेटमा बिचौलिया हाबी भएको र बिचौलियाको स्वार्थअनुसार बजेट बिनियोजन भएको सांसदहरुले आरोप लागाएका थिए । ‘बजेटमा बिचौलिया छिरेर स्वार्थअनुसारको बजेट पारे बजेटमा उनीहरु हाबी भए । तर हाम्रा योजनामा बजेट परेन भनेर माननीयज्युहरुले कुरा उठाउनु भएको थियो,’ एक सांसदले अनलाइनखबरसँग भने ।
सांसदहरु छिरिङ दोर्जे लामा, प्रभात तामाङ, श्रीराम लामिछानेलगायतका सांसदहरु बैठकमा कडा रुपमा प्रस्तुत भएका थिए । सांसदहरुले दिएको बजेट नपरेको तर आफ्नो निर्वाचन क्षेत्रमा योजना परेको रातो किताब हेरेपछि मात्रै थाहा पाएको भन्दै सांसदहरुले गुनासो गरेको एक सांसद बताउँछन् । बजेटको योजनाका सम्बन्धमा छानबिन गर्नुपर्ने समेतको माग उठाइएको छ ।
बजेटमा एउटै योजना दो¥याएर समावेश भएको र कार्यक्षेत्र नभएका मन्त्रालयमा बाहिरका योजना पनि परेको, गण्डकी प्रदेशमा समेत बजट हालिएकोले सांसदहरुले बजेट निर्माणको प्रक्रिया, बजेटको विश्वसनीयता र कार्यान्वयन पक्षमाथि प्रश्न उठाएका थिए । तालिम, गोष्ठीलगायतका वितरणमुखी बजेट मा धेरै बजेट समेटिएको तर गौरवका योजनामा बजेट बिनियोजन नभएकोमा सांसदहरुले कटाक्ष गरेका थिए ।
टुक्रे योजना समावेश नगर्ने नीति लिँदा पनि यति धेरै टुक्रे योजना कसरी आयो ? भन्दै सांसदहरुले प्रश्न गरेका थिए । प्रदेश सरकारलाई नागरिकले हेर्ने दृष्टिकोण र औचित्य माथि नै गम्भीर प्रश्न उठिरहेको अवस्थामा आएको यो ढंगको बजेटले प्रदेश सरकार कहाँ पुग्छ ? भन्दै सांसदहरुले प्रश्न गरेका थिए ।
बजेटमाथि सांसदहरुले मात्रै गुनासो राखेनन्, मन्त्रीहरुले पनि आरोपसहितको गुनासो पोखेका थिए । आर्थिक मामिला मन्त्रालयले समयमै सिलिङ नदिएको, कम सिलिङ दिइएको, मन्त्रालयहरुको बजेटमा आर्थिक मामिला मन्त्रालयले खेलेको आरोप लगाएका थिए ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक हिजो बुधवार राति स्थगित गरेर आज बिहान ९ बजेबाट सुरु छ । बजेटमाथिको छलफलका लागि बागमती प्रदेशसभाको बैठक पनि आज बिहीवार ११ बजेबाट सुरु हुँदैछ । कांग्रेस संसदीय दलको बैठक लम्बिन सक्ने भएकाले प्रदेश सभा बैठकको पनि अन्यौलता रहेको छ ।
दलको बैठकमा सांसदहरु र मुख्यमन्त्री लामासहित मन्त्रीहरुबीच प्रश्न–उत्तर नै चलेको थियो । मुख्यमन्त्री लामाले सबै सांसदहरुको योजना समावेश भएको भन्दै बजेट विवरण पूरै अध्ययन गर्न अनुरोध गरेका तिए । योजनामा डुब्लिकेशन भए सुधार गरेर जाने उनले प्रतिबद्धता जनाएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
जवाफमा मन्त्री काफ्लेले बजेटमा गलत नगरेको दाबी गरेका थिए । सांसदहरुले आशंका गरे जस्तो बजेटमा कुनै ककिमजोरी नभएको उनको भनाई थियो ।