मनहरीको ९ सामुदायिक माविमध्ये ७ वटामा विद्यालय नर्स

संवाददाता
असार ९, २०८२

हेटौंडा । मनहरी गाउँपालिकाको ७ वटा सामुदायिक विद्यालयमा एक विद्यालय, एक नर्स कार्यक्रम लागु गरिएको छ ।

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत कार्यक्रम सुरु गरिएको हो । मनहरी गाउँपालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालयमध्ये ७ वटा विद्यालय यो कार्यक्रमका लागि छनोटमा परेका हुन् ।

तीमध्ये बालजीवनज्योति मावि, महेन्द्रज्योति मावि, पशुपतिनाथ मावि, महेन्द्रकिरण मावि र राष्ट्रिय मावि सुनाचुरीमा नर्स खटाइएको छ भने बाँकी दुई विद्यालयमा नर्सको दर्बन्दी रिक्त रहेको छ । रिक्त रहेका विद्यालयमा पनि चाँडै नर्स पठाउने तयारी भइरहेको छ ।

गाउँपालिकाका शिक्षा अधिकृत प्रदीप पराजुलीका अनुसार पालिकाभित्र अध्ययनरत ८ हजारभन्दा बढी विद्यार्थीलाई लक्षितगर्दै करार सेवामा विद्यालय नर्स खटाइएको हो ।

विद्यालय नर्स कार्यक्रमले विद्यार्थीको स्वास्थ्य अवस्था जाँच, छात्रालाई स्यानिटरी प्याड वितरण, महिनावारी स्वच्छताका बारेमा जानकारी दिने लगायत कार्य गर्दै आइरहेको छ । विद्यालयमै नर्स उपलब्ध हुँदा विद्यार्थीले सामान्य स्वास्थ्य समस्या, महिनावारीका कुरा लगायत समस्या विद्यालयमै समाधान हुँदा खुशी व्यक्त गरेका छन् ।

नर्सहरुले नियमित स्वास्थ्यपरीक्षण, सानातिना उपचार र परामर्श सेवाले विद्यालयमा विद्यार्थीको उपस्थिति पनि बढ्न थालेको छ । स्वास्थ्य समस्याका कारण विद्यालय छुटाउने विद्यार्थीको संख्या घट्दै गएको छ । प्रदेशको ८ सय भन्दा बढी माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच पुगेको छ ।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवद्र्धन गर्न विद्यालयमा नर्स राखिएको हो ।

प्रदेशको ८ सय ४८ माध्यमिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लाका १ सय १९ वटै पालिकालाई विद्यालय नर्स कार्यक्रमले समेटेको छ ।

सहरी क्षेत्रदेखि ग्रामीण भेगका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको मन्त्रालयले जनाएको छ । किशोर–किशोरीको यौन तथा प्रजननस्वास्थ्य सुधारलाई मध्यनजर गर्दै तत्कालीन सरकारले २०७५ बाट ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

पहिलोचरणमा छनोट गरिएका १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारको तत्कालीन सामाजिक विकास मन्त्रालयले ‘एक प्रदेश एक नर्स’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ जारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*