बहादुरलाई मुख्यमन्त्रीबाट हटाएर आफु बन्न इन्द्रको ‘अन्तिम’ धक्का

हेटौंडा । बागमती प्रदेश स्थापनाको आठ वर्षमा नेपाली कांग्रेसबाट पहिलो पटक नुवाकोटका बहादुर सिंह लामाले सरकारको नेतृत्व गरेका छन् ।
२०७४ देखि ०७९ मंसिरसम्मको पहिलो कार्यकाल कम्युनिष्ट नेताहरुले सरकारको नेतृत्व गरे । देस्रो कार्यकालको २९ महिना चलिरहँदा दोस्रो मुख्यमन्त्रीका रुपमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता लामाले सरकार हाँकिरहेका छन् ।
सरकारको नेतृत्व गर्दा लामाले कांग्रेसबाट पहिलो मुख्यमन्त्री मात्र बनेनन्, तामाङ समुदायबाटसरकारको नेतृत्व गर्ने पहिलो व्यक्ति पनि भए । उनी ८ साउन २०८१ मा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
सरकारको नेतृत्व गरेको ११ महिनापछि लामालाई सत्ता हस्तान्तरणको दबाब आएको छ । सत्ता हस्तान्तरणको दबाब सत्ता साझेदार नेकपा एमालेबाट नभई आफ्नै पार्टी कांग्रेसबाट आएको हो । आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटपछि सरकारको नेतृत्व परिवर्तनको चर्चा कांग्रेस बागमतीमा चुलिएको हो ।
सत्ता साझेदार दल एमालेसँग आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति गरेका लामालाई पार्टीभित्र गरेको अर्को ‘आन्तरिक सहमति’ यतिबेला टाउको दुखाई बनेको छ । लामाले कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँलाई ९ महिनापछि सत्ता हस्तान्तरण गर्ने पूर्वसहमतिको विषय पार्टी सभापति शेरबहादुर देउवासम्म पुगेको हो ।
लामाको सत्ता यात्रालाई रोकेर आफूले नेतृत्व लिन बानियाँले पार्टी सभापति देउवासम्म सत्ता हस्तान्तरणको विषय पु¥याएर ‘अन्तिम’ धक्का दिने प्रयास गरेका छन् । बुढानिलकण्ठस्थित देउवा निवासमा केहि समय अघि बागमतीको मुख्यमन्त्री हेरफेरको विषयले प्रवेश पाएको मुख्यमन्त्री लामा निकटका एक सांसदले अनलाइनखबरलाई जानकारी दिए ।
उक्त भेटमा सभापति देउवासहित देउवा पत्नी अर्थात परराष्ट्रमन्त्री आरजु राणाले बागमतीका नेताहरुसँग छलफल गरेका थिए । ‘भेटमा सभापति (देउवा) ज्युले केही बोल्नु भएन । आरजु भाउजुले भागबण्डाकै कुरा आयो भने सल्लाह गरौंला भनेर मात्रै बोल्नु भएको छ । इन्द्रजीलाई पनि हस्तान्तरण गर्नु भनेर स्पष्ट कुरा भएको छैन,’ ती सांसदले भने, ‘इन्द्रजीले मुख्यमन्त्री बन्न निकै कसरत गरिरहनु भएको विभिन्न कोणबाट आएका विषयवस्तुले पनि पुष्टि गर्छ ।’
बागमती सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पार्टीभित्र सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने विषय उठिरहेको पुष्टि गरे । ‘सरकारको नेतृत्वलाई लिएर राजनीतिक चर्चा भइरहेको मैले पनि सुनेको हुँ तर यो कुरा संसदीय दलमा छलफलको विषय बनेको छैन,’ लामिछानेले भने ।
दलको नेता हुँदा बन्न पाएनन, सांसद हुँदा मरिहत्ते
प्रदेशसभाको पहिलो कार्यकालमा पूरा पाँच वर्ष बानियाँ दलको नेता थिए । दलको नेता हुँदै मंसिर २०७८ मा उनी पार्टी बागमती प्रदेश सभापतिमा निर्वाचित भए ।
पहिलो कार्यकालमा तीन कम्युनिष्ट मुख्यमन्त्री भए, नेकपा हुँदा डोरमणि पौडेल, एमाले विभाजनपछि दुई महिना अष्टलक्ष्मी शाक्य र एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि राजेन्द्र पाण्डे । बानियाँको २०७८ कार्तिकपछि बन्ने सरकारमा मुख्यमन्त्री हुने सम्भावना थियो ।
नेकपा विभाजनसँगै एमाले फुटेपछि कांग्रेस, माओवादी केन्द्र र नयाँ दल एकीकृत समाजवादीले सरकार सञ्चालन गरे । भागबण्डामा बागमती प्रदेश एकीकृत समाजवादीलाई प¥यो र मुख्यमन्त्री बने राजेन्द्र पाण्डे ।
४ मंसिर २०७९ को देस्रो प्रदेशसभा निर्वाचनपछिको कार्यकालमा बानियाँले दलको नेता दोहो¥याउन पाएनन् । त्यसपछि उनको मुख्यमन्त्री बन्ने चाहना भताभुङ्ग भयो । अहिले सांसदको हैसियतमा दलको नेता चुनिएर मुख्यमन्त्री बन्न उनको मरिहत्ते छ ।
प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ गरि ११० सिट संख्या रहेको बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेससँग ३७ सांसद छन् ।
मुख्यमन्त्री लामाले १३ पुस २०७९ मा संसदीय दलको निर्वाचनमा ५ मतले बानियाँलाई पराजित गरे । दलको निर्वाचनमा लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाए । दलको नेता बन्नबाट रोकिँदा बानियाँको मुख्यमन्त्री बन्ने सपना अधुरै रहन पुग्यो । तर उनले त्यो सपनालाई पूरा गर्न गक्षले भ्याए जतिको शक्ति लगाई रहेको कांग्रेस बागमतीका एक जिम्मेवार सांसद बताउँछन् ।
दलको नेता नै मुख्यमन्त्री हुने कानुनी व्यवस्थाका कारण बानियाँलाई बागमतीको मुख्यमन्त्री बन्न पहिला दलको नेता चयन हुनुपर्नेछ । दलको नेता बन्न पुनः चुनाव वा सर्वसम्मतमध्ये एउटा विकल्प रहन्छ । ‘मुख्यमन्त्रीज्यूले दलको नेताबाट राजीनामा दिएर इन्द्रलाई सर्वसम्मत गराउने सम्भावना म कतैबाट पनि देख्दिनँ । अब उहाँसँग चुनाव लड्नुको विकल्प छैन ।’ कांग्रेसका अर्का सांसद बताउँछन् ।
बानियाँलाई संसदीय दलको निर्वाचनमा चुनाव जित्न पनि सहज नभएको कांग्रेसका सांसदहरु दाबी गर्छन । संसदीय दलमा बानियाँ दुई वर्ष अघिकै अल्पमतको भन्दा पनि कमजोर अवस्थामा रहेको ती सांसदले बताए । ‘दलको निर्वाचन हुँदा पार्टीको केन्द्रीय राजनीतिक अर्के ढंगको थियो । अहिले त्यो अवस्था नरहेकाले इन्द्रजी झनै कमजोर स्थितिमा हुनुहुन्छ ।’ ती सांसदले सुनाए ।
उनका अनुसार बहादुरलाई संस्थापन पक्षले साथ दिँदा बानियाँलाई शेखर–गगन र प्रकाशमान सिंह पक्षको समर्थन थियो । अहिले प्रकाशमान सिंह सभापति देउवासँग नजिक रहेको दाबीले बानियाँको दल निर्वाचनमा चुनाव जित्ने सम्भावना कमजोर रहेको सांसदहरुको विश्लेषण छ ।
कांग्रेस बागमतीको अधिवेशनसम्म बानियाँ सभापति देउवा पक्षका उम्मेदवार थिए । संसदीय दलको निर्वाचनमा गगन थापासँग नजिक भए । दलको निर्वाचनमा गगन पक्षका नेताहरु हेटौंडामा बसेर बानियाँको पक्षमा लबिङ गरेका थिए ।
लामालाई संस्थापन पक्षबाट गृहजिल्ला नुवाकोटकै पार्टी प्रवक्ता डा. प्रकाशशरण महत र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले अगाडि सारेका थिए । डिना मकवानपुरकै भए पनि बानियाँसँग उनको सम्बन्ध राम्रो छैन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट चुनाव लडेकी डिनालाई आफूलाई हराउन बानियाँले भूमिका खेलेको बुझाई थियो । यस विषयमा पार्टीमा बानियाँविरुद्ध उजुरीसमेत परेको थियो ।
सांसदहरुको दाबीअनुसार बानियाँ फेरि गगन थापा समूह छोडेर अहिले पूर्णबहादुर खड्कासँग नजिक भएका छन् । ‘पूर्णबहादुरज्यू पनि संस्थापन पक्षकै भएकाले उहाँमार्फत संस्थापनको समर्थन पाएर मुख्यमन्त्री हुन्छु की भन्ने इन्द्रजीको योजना होला ।’ ती सांसदले सुनाए ।
आलो–पालो मुख्यमन्त्रीको सहमति कहाँ छ ?
बानियाँले मुख्यमन्त्री आफू हुनुपर्ने मागलाई अगाडि सार्दा बहादुरसँगको पूर्वसहमतिलाई हतियार बनाएका छन् ।
बानियाँ पक्षले मुख्यमन्त्री आधा–आधा हुने लिखित सहमति गरेको दाबी गर्दै आएको छ भने बहादुर पक्षले सरकार गठनको परिस्थितिमा मौखिम प्रतिबद्धता मात्रै जाहेर भएको बताउँदै आएको छ । मुख्यमन्त्री बन्नु अघि परिस्थितिलाई आफ्नो पक्षमा पार्न बहादुरले बानियाँलाई मौखिम सहमति मात्रै जनाएकोले त्यसको अर्थ नहुने तर्क बहादुर पक्षका सांसदहरुले गरेका छन् ।
‘बहादुर दाई दयाँबायाँ केहि जान्नु हुन्न । त्यतिबेला इन्द्रजीले उहाँलाई धेरै नै प्रेसर दिनु भएको थियो । मुख्यमन्त्री बन्ने बेलामा प्रेसर किन लिइरहने भनेर बहादुर दाईले हुन्छ भनेर भन्दिनु भएछ । तर त्यो एउटा परिस्थिति जन्य घटना हो ।’ ती सांसद सुनाउँछन् ।
यता बानियाँ पक्षका एक सांसदले भने सहमतिको फोटो मोबाइलमा रहेको दाबी गरेको छ । ‘९ महिनापछि सरकार छोड्ने सहमति भएको हो । त्यसको फोटो इन्द्र दाईसँग छ ।’ ती सांसदले भने । सरकारको नेतृत्व लिने प्रयासको सन्दर्भमा कुराकानीका लागि सांसद बानियाँसँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि उनको फोन उठेन ।