शिक्षक आन्दोलनको नेतृत्वदेखि ईन्जिनियर उत्पादन गर्ने थलोसम्म

विद्यार्थी अभावले जटिल अवस्थाबाट बिरासत फर्काउन सफल
संवाददाता
बैशाख २९, २०८२

हेटौंडा । कुनैबेला विद्यार्थी संख्या न्यून भएर सञ्चालनको जटिल अवस्थामा पुगेको हेटौंडाको भुटनदेवी माविले स्थापनाकालको बिरासतलाई पुनः फर्काएको छ ।

मकवानपुरको शैक्षिक इतिहाससँग जोडिएको एउटा विद्यालय, भुटनदेवी मावि (प्राविधिक शिक्षालय) लाई अधिकांशले हाइस्कुलको नामले चिन्छन् । भुटनदेबी मावि मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीको भाषा पाठशालाको रुपमा स्थापित विद्यालय (हाल महेन्द्र मावि) पछिको दोस्रो विद्यालय हो ।

२०१६ सालमा स्थापित भुटनदेवी मावि ६० को दशकमा आएर निकै अप्ठेरो मोडबाट गुज्रिन पुग्यो । देशका दुई जना मन्त्री जन्माउन सकेको भुटनदेवीले विद्यार्थी संख्या घट्दै गएर सञ्चालनमा जटिलता व्यहोर्नु परेको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहाल बताउँछन् । त्यो परिस्थितिमा उनी शिक्षक थिए ।

२०४७ सालदेखि अध्यापन गराउँदै आएका दाहालले २०६७ सालदेखि नेतृत्व सम्हालेका थिए । ‘६२ सालपछि विद्यालयको अवस्था बिग्रिएको थियो । विद्यार्थी संख्या घट्दै गएर सञ्चालनमै कठिनाई भएको हो,’ दाहालले भने, ‘५०० जना विद्यार्थीमा आइपुगेको थियो । अब यसरी हुँदैन भनेर म नेतृत्वमा आएपछि प्राविधिक धारको शिक्षा सुरु ग-यौं ।’

विद्यालय अप्ठेरो परिस्थिति आउनुमा शिक्षाको गुणस्तर खस्किनु र व्यवस्थापकीय कमजोरी रहेको दाहाल बताउँछन् । ७० को दशकबाट विद्यालयलाई प्राविधिक धारमा लगेर गुणस्तर वृद्धिमा जोड दिँदै अगाडि बढेपछि भुटनदेवीले पछाडि फर्किएर हेर्नु नपरेको प्रधानाध्यापक दाहालको दाबी छ । विद्यालयमा हरेक वर्ष विद्यार्थी संख्यामा वृद्धि भएर २०८१ सम्म आइपुग्दा थामिनसक्नु भएको उनले बताए ।

शैक्षिक सत्र २०८१ मा यस विद्यालयमा कूल २ हजार ४ सय ५९ जना विद्यार्थी अध्ययनरत थिए । २०७५ मा १ हजार २१ विद्यार्थी रहेका यहाँ २०७७ मा १ हजार ३ सय ३८ विद्यार्थी, २०७९ मा १ हजार ७ सय २५ र २०८० मा २ हजार २ सय ६८ जना विद्यार्थी पुगेका थिए । ‘विद्यार्थी हरेक वर्ष बढिरहेका छन, यहि भौतिक संरचनाले आगामी वर्षदेखि पढाउन पनि समस्या हुन्छ ।’ हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडाका वडा अध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्षस नवीन सिग्देल भन्छन् ।

साधारण, प्राविधिक धार, अंग्रेजी तथा नेपाली माध्यमका कक्षाहरुले यस विद्यालयलाई विद्यार्थीको रोजाइमा राखेको सिग्देल बताउँछन् । भौतिक पूर्वाधारको अभावले प्रत्येक वर्ष भर्ना हुन चाहने करिब १ हजार ४ सय विद्यार्थीमध्ये धेरैलाई समेट्न नसकिएको पीडा विद्यालयसँग रहेको सिग्देलले सुनाए ।

भुटनदेवीमा तराईका सर्लाहीदेखि बारा, पर्सा र रौतहटसम्मका विद्यार्थी अध्ययनरत् छन् । कोठा भाडामा लिएर पढ्ने विद्यार्थी रहेको विद्यायले जनाएको छ । आफ्ना बालबालिकाको राम्रो शिक्षाका लागि हेटौंडामा अस्थायी बसोबास गर्दै विद्यार्थी पढाउने परिवार पनि रहेको उनले बताए ।

हेटौंडा–४ का वडा अध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन सिग्देल र प्रधानाध्यापक माधवप्रसाद दाहाल ।

जिल्लाकै अग्रणी सामुदायिक विद्यालयको पहिचान बनाएको भुटनदेबी मावि हेटौंडा उपमहानगरको मुख्य बजारक्षेत्र अर्थात ४ नम्बर वडामा छ । बिभिन्न कालखण्डमा भुटनदेबी माविले नेपालकै सामुदायिक शिक्षालाई महत्वपूर्ण योगदान गरेको थियो ।

भुटनदेवीले यतिबेला इन्जिनियर उत्पादन गरिरहेको छ । कक्षा ९–१२ मा प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ विषयको पढाई भइरहेको विद्यालयमा वि.सं. २०७० सालबाट जिल्लामै पहिलोपटक सुरु गरेको हो । ९ र १० कक्षामा इन्जिनियरिङ विषय पढेपछि यसलाई निरन्तरा दिन विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता थियो ।

विद्यालयले २०७६ सालदेखि व्यावसायिक सीप विकास तालिम केन्द्र (सिटिईभिटी) अन्तर्गत ३ बर्से डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयको पनि पढाइ सुरु ग¥यो । सिटिईभिटीमार्फत प्रि–डिप्लोमाअन्तर्गत् बिल्डिङ कन्ट्रक्शनको पनि अध्यापन गराइएको छ ।

यसबाहेक यहाँ २०८० सालदेखि इनसियोर परियोजनाअन्तर्गत २४ महिने औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक दाहालले जानकारी दिए । विद्यालयले २०८१ बट २४ महिने बालविकास सहजकर्ता प्रशिक्षक तयारी कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ ।

सिभिल इन्जिनियरिङ विषयको अध्यापनबाट १२ वर्षको अवधिमा ३ सय ६३ जना विद्यार्थी जनशक्ति (सव–इन्जिनियर) उत्पादन भएको प्रधानाध्यापक दाहाल बताउँछन् । विद्यालयले हरेक वर्ष ४८ जनाको सिट संख्यामा सिभिल इन्जिनियरिङ विषयको अध्यापन गराउँदै आइरहेको हो ।

जसमध्ये कतिपय विद्यार्थी सरकारी सेवामा प्रवेश गरे भने कतिपयले आफ्नै कन्सल्टेन्सी खोलेर वा निजी कम्पनीमा काम गरिरहेको उनले बताए । १० जना विद्यार्थीले प्रदेश र स्थानीय तहमा स्थायी नियुक्ति लिएको उनको भनाई छ । विद्यालयले उत्पादन गरेका जनशक्तिहरु हेटौंडा उपमहानगरमा सव–इन्जिनियरका रुपमा कार्यरत् छन् ।

हेटौंडा उपमहानगरपालिकामा प्रतिमा आचार्य र सुजल मिश्र स्थायी जागिरे भएका छन् । बकैया गाउँपालिकामा रितिका अर्याल छिन् । विद्यालयकै सामुन्ने आभाष पौडेलले आफ्नै कन्सल्टेन्सी सञ्चालन गरेका छन् । थाहा नगरपालिका घर भएका कौशल नेगीले पढाई सकेपछि हेटौंडा उपमहानगरमा करारमा खाइरहेको विद्यालयको प्राविधिक शिक्षालय शाखाले जानकारी दिएको छ । पहिलो ब्याचका दुई जना अबिन्द्र थापा र गुञ्जिता दाहालले विद्यालयमै सहप्रशिक्षकको रुपमा पढाउँदै आएका छन् ।

उपमहानगरकी प्राविधिक आचार्यले भुटनदेवीकै कारण सरकारी सेवामा प्राविधिकतर्फबाट प्रवेश पाएकोमा खुशी देखिइन् । ‘प्राविधिक विषय पढ्ने मेरो रुचि नै थियो । तर भुटनदेवीमा नै पढ्न पाएकाले मेरो रुचिले सफलता पायो । घरमै बसेर पढ्न पाएँ । लोकसेवामा पनि सजिलै नाम निस्कियो ।’ आचार्यले सुनाइन् ।

सिभिल इन्जिनियरिङ अध्ययनरत् विद्यार्थीलाई इट्टा भट्टामा प्राविधिक ज्ञान दिँदै विद्यालय ।

हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामाले भुटनदेवी स्कूल उपमहानगरकै शान रहेको बताइन् । ‘त्यहाँ उत्पादन भएका जनशक्तिबाट उपमहानगरलाई ठूलो सहयोग पनि भएको छ । दक्ष प्राविधिकहरु हामीले पाएका छौं’ लामा भन्छिन् । प्राविधिक विषय अध्ययन गरिरहेका विद्यार्थीलाई उपमहानगरले प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग पु¥याइरहेको उनले बताइन् । विद्यालयको समग्र विकास र विद्यार्थीको अभिवृद्धिमा उपमहानगरले हातेमालो गरिरहेको उनको भनाई छ ।

भुटनदेवीले २०७१ सालदेखि अंग्रेजी माध्यमबाट कक्षा १ देखि १० सम्म पठनपाठन गर्दै आएको छ । कक्षा ४ देखि कक्षा १० सम्म कम्प्युटर विषयको पढाइ हुने गरेको छ । भुटनदेवी विद्यालय वि.सं. २०१६ मा प्राथमिक तहको विद्यालयको रुपमा स्थापना भएको थियो ।

प्रारम्भमा निम्नमाध्यमिक हुँदै माध्यमिक तहमा उक्लिएको यस विद्यालयले २०२२ सालदेखि एसएलसी परीक्षा संचालन गरेको भुटनदेवीले जिल्लाको शैक्षिक उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएको पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा बताउँछन् । पूर्वविद्यार्थी समेत रहेका खतिवडाले भुटनदेवीमा पढ्न मकवानपुरका मात्र नभई बाहिरी जिल्लाका विद्यार्थी पनि आकर्षित हुने गरेको पुराना दिन सम्झिए ।

‘सुरुवातमा भुटनदेवीको पढाई अब्बल थियो । बीचमा विविध कारणले विद्यालयको स्तर खस्किएको थियो । १५ वर्षदेखि विद्यालयको शैक्षिक गुणस्तर उकासिँदै आएको देखिएको छु’ खतिवडाले भने, ‘अहिले प्राविधिक जनशक्ति उत्पादन भइरहेका छन् । थप प्राविधिक धारका कार्यक्रमहरु कार्यान्वयन गर्दै जानुपर्छ ।’

शैक्षिक नतिजाको हिसाबले पनि भुटनदेवी विद्यालय अग्रपंतिमा पर्छ । कक्षा ८ को नगरस्तरीय परीक्षामा २०७९ र २०८० मा जिपिए ४ ल्याउँदै नगरमै उत्कृष्ट बन्न सफल भएको विद्यालयका सहप्रधानाध्यापक वेदराज कोइरालाले बताए । २०८१ को कक्षा ८ को नगरस्तरीय परीक्षामा चार जना जिपिए ४ ल्याएका थिए ।

४ जीपीए ल्याउने सामुदायिक विद्यालयमा भुटनदेवी नगरको एकमात्र उत्कृष्ट सामुदायिक विद्यालय बन्यो । यो विद्यालय, २०८० को एसईई परीक्षामा ७४ दशमलव ५४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लामै प्रथम बन्न सफल भएको थियो । कक्षा १२ मा समेत साधारण र प्राविधिक दुवै धारमा उत्कृष्ट नतिजा आएको कोइरालाले बताए ।

२०७२ सालको भूकम्पपछि पुनःनिर्माण भएको विदालयको नयाँ भवन ।

सम्पत्तिमा धनी, आयस्रोतमा अब्बल

विद्यालयको सम्पत्ति प्रसस्तै छ । कूल क्षेत्रफल ८ दशमलव ५ बिगाहा रहेको विद्यालयको ९ वटा भवनमा ६१ वटा कोठा छन् । तीमध्ये ४० वटा कोठामा कक्षा सञ्चालन हुँदै आएको छ ।

प्रशस्त खेलमैदानसहितको यो विद्यालयले आफ्नै आन्तरिक स्रोत परिचालन गरी विद्यालयको पूर्व र पश्चिमतर्फ ७३ वटा पक्की र कच्ची सटर निर्माण गरेर आम्दानीको स्रोत बनाएको छ । यसबाट प्राप्त आम्दानी विद्यालय निजीस्रोतका शिक्षक तलब, भौतिक संरचना र शैक्षिक सामग्रीमा खर्च गरिँदै आएको लेखाप्रमुख बालकृष्ण दाहालले जानकारी दिए ।

विद्यालयको आन्तरिक स्रोतबाट वार्षिक आम्दानी ३ करोड २४ लाख ५ हजार ८ सय २५ रुपैयाँ रहेको विद्यालयले जनाएको छ । छ । सम्पत्ति बहालबाट मात्रै वार्षिक ७७ लाख ६८ हजार ३ सय ७३ रुपैयाँ संकलन हुने लेखा प्रमुख दाहालले बताए ।

विद्यालयमा नेपाल सरकारको दरबन्दीमा ३७ जना र विद्यालयको आन्तरिक स्रोतमा ३६ जना गरी कुल ७३ जना शिक्षक–कर्मचारी कार्यरत छन् । विद्यालय स्रोतबाट नियुक्त कर्मचारीमा योग्यता, दक्षता र पारदर्शितालाई उच्च प्राथमिकता दिइने गरेकाले शैक्षिक गुणस्तर सुधारमा प्रत्यक्ष प्रभाव पारेको सहायक प्रअ कोइराला बताउँछन् ।

शैक्षिक वर्षको सुरुवातमा शिक्षकहरुलाई पाठ्यक्रम, आइटम लेखन, मूल्याङ्कन, आइसिटी, शिक्षण विधि तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी तालिम, कार्यशाला र सेमिनारमा सहभागी गराइँदै आएको उनले जनाए । विद्यालयमा शिक्षक र कर्मचारीको टिओआर बनाएर कार्यान्वयनमा ल्याइएको छ ।

हरेक तहमा प्रतिवेदन तयार पार्ने र समीक्षामार्फत सुधारात्मक कदम चाल्ने व्यवस्था लागू गरिएको सहायक प्रअ कोइरालाले बताए । कक्षाका बर्गशिक्षकले तहगत संयोजकलाई, संयोजकले सहायक प्रअ र सहायक प्रअले प्रधानाध्यापकलाई हरेक महिनाको प्रतिवेदन पेश गनुपर्ने नियम छ ।

प्रतिवेदनमाथि थप आवश्यक कामकारबाही अगाडि बढाइने गरिएको कोइराला बताउँछन । भुटनदेवी विद्यालयले पढाइ भन्दा पनि व्यवहारमा परिवर्तन ल्याउने शिक्षामा विश्वास राखेको उनले सुनाए ।

विद्यालयको मैदान । मैदानको पश्चिमतर्फ व्यवसायिक सटर निर्माण गरेको विद्यालयले सटर भाडा र मैदानको भाडाबाट वार्षिक रुपमा लाखौं आम्दानी गर्दै आएको छ ।

शिक्षक आन्दोलनको नेतृत्वकर्ता विद्यालय

भुटनदेवी विद्यालय २०३६ सालको पहिलो शिक्षक आन्दोलनको आधार केन्द्र थियो । भुटनदेवीबाट सुरु भएको शिक्षक आन्दोलनले शिक्षकहरुले पाइरहेको तलब, ग्रेड, सञ्चयकोष, निवृत्तिभरणलगायत सुविधाहरु सम्भव भएको यहाँका पूर्वविद्यार्थी पूर्वमन्त्री खतिवडा बताउँछन् ।

शिक्षकहरुले तीर्थस्थलको रुपमा लिने गरेको भुटनदेवीबाट आन्दोलन सुरु हुँदा समितिको अध्यक्ष बद्रीप्रसाद खतिवडा, उपाध्यक्ष खगेन्द्र संग्रौलालगायत रहेको खतिवडाले स्मरण गरे । बद्रीप्रसाद खतिवडा तत्कालीन प्रधानाध्यापक थिए । देशभरका शिक्षकहरुको पहिलो भेला यहाँ भएपछि आन्दोलनले गति लिएको थियो । ‘भुटनदेवीको भेलापछि २२ जिल्लामा भेला भएर आन्दोलन अगाडि बढेको थियो ।’ पूर्वमन्त्री खतिवडाले सम्झिए ।

खगेन्द्र संग्रौलाले दुई हप्ता अगाडि लेखमार्फत २०३६ सालमा शिक्षक आन्दोलनमा होमिँदै गर्दाको स्मरण गरेका छन् । ‘आन्दोलनको शुभारम्भ भेला हेटौंडामा भयो । निकटवर्ती जिल्लाका शिक्षकहरुको सानो भेला थियो त्यो  । भेलामा मकवानपुरका प्रतिनिधि अग्रणी सूत्रधार बद्रीप्रसाद खतिवडा थिए  । भक्तपुर र ललितपुरका प्रतिनिधि थिए– श्यामकृष्ण खमू र सुशीलचन्द्र अमात्य  । पाल्पाका प्रतिनिधि यशपाल शाक्य थिए । र, म थिएँ छिमेकी चितवनको प्रतिनिधि  ।’ उनले लेखेका छन् ।

भुटनदेवीमा अध्ययन गरेका कमल थापा र खतिवडा मन्त्री बने । दीपकबहादुर सिंह हाल प्रतिनिधिसभा सदस्य छन् । पूर्वसांसदसमेत रहेका गणेश थापा पनि भुटनदेवीका पूर्वविद्यार्थी थिए । (साभारः अनलाइनखबर डटकम)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*