बागमतीमा आइटी क्षेत्रका ५ सय जनालाई रोजगारी दिन सुरक्षण कोषसँग सम्झौता

संवाददाता
बैशाख २८, २०८२

काठमाडौं । बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्रालयले आइटी क्षेत्रमा करिब ५ सय जनालाई रोजगारी दिने भएको छ ।

मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ बमोजिम स्थापित निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत उक्त रोजगारी दिन लागेको हो । उक्त कार्यका लागि आइतबार एक कार्यक्रमबीच मन्त्रालय र सुरक्षण कोषबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको उपस्थितिमा श्रम मन्त्रालयका तर्फबाट सचिव बिरेन्द्रदेव भारती र सुरक्षण कोषका तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले समझदारीमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममअनुसार सुरक्षण कोषले सुरक्षण योजनामार्फत कक्षा १२ पास गरेकालाई आइटी तालिम, विभिन्न वित्तिय संस्थामार्फत सहुलियत कर्जा तथा आइटी क्षेत्रका विभिन्न रोजगारदातासँग समन्वय गरी रोजगारी दिने जनाइएको छ ।

समझदारी पत्रअनुसार सुरक्षण योजना बमोजिमको कर्जा प्रवाह गर्ने बैङ्क तथा वित्तीय संस्थाको छनौट गरी त्यस्ता वैज्ञ तथा वित्तीय संस्थासँग योजनाको बमोजिम कोषले सम्झौता गर्नेछ । कोषसँग सम्झौता भएका वैज्ञ तथा वित्तीय संस्थाको विवरण कोषले निर्धारण गरेको सूचना प्रविधि प्रणालीमा अद्यावधिक गर्नेछ ।

यसैगरी सुरक्षण योगदान कर्ताले सुरक्षण योजना बमोजिम कोषमा ‘रोजगारमुखी सीप विकास तालिम कर्जा सुरक्षण कोष’ नामको छुट्टै सुरक्षण कोष खडा गर्नेछ । सुरक्षण योगदानकर्ताले खडा गर्ने कोषको सुरक्षणमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने रोजगारमुखी सीप विकास तालिम कर्जाको दश प्रतिशतले हुने रकम सुरक्षण योगदानकर्ताले उक्त कोषमा जम्मा गर्नेछ ।

समझदारी अनुसार कर्जा सुरक्षण गर्दा यस योजनाको व्यवस्था बमोजिम लाग्ने कुल वार्षिक सुरक्षण शुल्क कोपले ‘रोजगारमुखी सीप विकास तालिम कर्जा सुरक्षण कोष’बाट त्रैमासिक रुपमा असुल गर्ने तथा रोजगारमुखी सीप विकास तालिम कर्जाको क्षतिपूर्ति माग दाबी भएमा कोषले ‘रोजगारमुखी सीप विकास तालिम कर्जा सुरक्षण कोष’ बाट सुरक्षण योजनाको व्यवस्था बमोजिम भुक्तानी गर्ने जनाइएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री महर्जनले देशमै रोजगारी अवसरमा सिर्जनामा मन्त्रालय तत्पर रहको बताए । उनले दैनिक विदेशिएका व्यक्तिहरुलाई देशमै रहेर कार्य गर्न सक्ने र विभिन्न अवसरको खोजी गर्नुपर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*