मकवानपुरसहित बागमतीको ६ जिल्लामा फैलियो बर्डफ्लु, नियन्त्रणमा मन्त्रालयको चासो
हेटौंडा– बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु देखा परेको छ । बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौंडाका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको हो ।
मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार माघ १६ गतेदेखि हालसम्ममा संक्रमण देखिएको हो । हालसम्म बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा ५८ हजार २ सय ६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको छ ।
‘संक्रमण देखिएको स्थानबाट रोग अन्यत्र फैलिन नदिन नमुना संकलन र निगरानीका कार्यहरु हामीले सञ्चालन गरिरहेका छौं ।’, सचिव पाण्डेले भने । बर्डफ्लुका कारण हालसम्म करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान मन्त्रालयले गरेको छ ।
मन्त्रालयले बर्डफ्लुको समयमै निदान र नियन्त्रणका लागि बागमती प्रदेश सरकार मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा अन्य कर्मचारीहरुलाई लामो विदामा नबस्न र जिल्ला नछाड्न पत्रचारसमेत गरेको छ ।
उनका अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट बर्डफ्लुको परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । ‘प्रत्येक जिल्लाको नाकामा जाँचमा कडा व्यवस्था र ढुवानीमा रिपोर्ट अनिवार्य गरेका छौं, उनले भने ।
‘प्रदेशभित्र बर्डफ्लु नियन्त्रणका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न कृषि तथा पशुविज्ञान अध्ययन संस्थानसँग छलफल गरिरहेका छौं ।’ पाण्डेले थपे । मन्त्रालयले कृषकहरुलाई बर्डफ्लु रोगको सूचना छिट्टो प्रवाह गर्न टोल फ्री नम्बरको व्यवस्था समेत गरिएको जनाएको छ ।