मकवानपुरगढीमा पोलिथिन झोला नियन्त्रण अभियान
हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा पोलिथिन झोला नियन्त्रण गर्ने तीन महिने अभियान सञ्चालन हुने भएको छ ।
हरियाली प्रवद्र्धनको लागि युवा परिचालन कार्यक्रअन्तर्गत् गाउँपालिकाको ८ वटा सहर उन्मुख क्षेत्रमा पोलिथिन झोला नियन्त्रण अभियान चलाइने भएको हो ।
पोलिथिन झोला नियन्त्रण परियोजना राली इन्टरनेशनलको आर्थिक सहयोगमा ग्रामिण जागरण तथा विकास संस्था नेपाल (राडो)ले गाउँपालिका कार्यालयसँगको सहकार्यमा सञ्चालन गर्न लागेको हो ।
कार्यक्रम सञ्चालन हुनुअघि गाउँपालिका अध्यक्ष बिदुर हुमागाईं, उपाध्यक्ष हकर्ममाया रुम्बा, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीसहित ८ वटै वडा अध्यक्षहरुसँग मंगलबार प्रारम्भिक बैठक भएको छ । बैठकबाट गाउँपालिकाको ८ वटा वडाको ८ वटै सहर उन्मुख क्षेत्रमा पोलिथिन झोला नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको हो ।
जसअन्तर्गत १ नम्बर वडाको पिङडाँडा–आँपटार–रानीसेना, २ नम्बर वडाको बाँसपानीदेखि शिखरकटेरी, ३ नम्बर वडाको देविडाँडादेखि मक्राञ्चुली, ४ नम्बर वडाको सामरी पुल–मनकामना–रुद्र बाटिका, ५ नम्बर वडाको सिमलटार–धादिङ–भालुखोला, ६ नम्बर वडाको झल्लादेखि डुम्रेकुना, ७ नम्बर वडाको सातकन्यादेखि न्यौपानेटार र ८ नम्बर वडाको बुढीचौर टोल विकास क्षेत्रमा परियोजना सञ्चालन हुनेछ ।
गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले तीन महिने अभियानसँगै पालिकाले फोहोरमैला व्यवस्थापनलाई दीर्घकालिन योजना अघि सारेको बताए । उनले मकवानपुरगढीलाई स्वच्छ वातावरण बनाईराख्न अभियान आवश्यक रहेको औंल्याएका छन् ।
पालिकालाई हरियाली क्षेत्र निर्माण गर्न सबै लाग्नुपर्ने भन्दै अध्यक्ष हुमागाईंले समाजलाई जागरण गराएर अभियान चलाइराख्नु पर्नेमा जोड दिए । परियोजनाबाट बाक्लो बसोबास भएको र पसलहरु भएका स्थानमा पोलिथिन झोलाको प्रयोग घटाउने, यसको पुनः प्रयोग गर्ने र प्रशोधन गर्ने विधि बारे सचेतना जगाइने राडो नेपालका अध्यक्ष कृष्णप्रसाद धितालले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाभित्रका ५ हजार युवाहरुलाई अभियानमा सहभागी गराइने भएको छ । युवाहरुले नै गाउँ, टोल, विद्यालयमा पोलिथिन झोला बढी प्रयोग गर्दा हुने फाइदा र बेफाइदा बारे सर्वसाधारणलाई सचेतना जगाउने परियोजनाको उद्देश्य रहेको परियोजनाका फिल्ड अफिसर अशोक स्याङ्तानले जानकारी दिए ।
प्लाष्टिकको अत्याधिक प्रयोग गर्दा क्यान्सर निम्त्याउन सक्ने, प्लाष्टिकले खेती योग्य जमिनको उत्पादनमा ह्रास ल्याउने, प्रज्वलनशील हुने, प्रयोग पश्चात सहजै नष्ट गर्न नसकिने, पर्यावरणलाई कालान्तरसम्म नकारात्मक असर पुर्याउने, प्लाष्टिकको प्रदुषणले धेरै आर्थिक क्षमता निम्त्याउन सक्ने राडोले उल्लेख गरेको छ ।
परियोजनाबाट गाउँपालिका, वडा कार्यालय, स्थानीय जनप्रतिनिधिहरु, विशेषज्ञ, स्थानीय व्यवसायी, स्थानीय युवासँग सेमिनार तथा गोष्ठि, समुदायहरुमा प्लाष्टिकको प्रयोग सम्बन्धि जनचेतना फैलाउने, विभिन्न वडामा सञ्चालन गरेका जनचेतनामुलक कार्यक्रम तथा गतिविधिहरुलाई सामाजिक सञ्जाल र रेडियोमार्फत प्रचारप्रसार गरी सूचनाको पहुँच सबैमा पु¥याउने, वातावरणीय समूहहरु सृजना गर्ने र स्थानीय नेतृत्वमा रहेका व्यक्तिहरुलाई अग्रसर गराउने, दीगो रुपमा प्लाष्टिकको विकल्पहरु पत्ता लगाउने र युवाहरुलाई यस अभियान प्रवद्र्धनका लागि अग्रसर गराइने अध्यक्ष धितालले बताए ।