कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन

संवाददाता
२०७८ फाल्गुन १७, मंगलवार ११:५५

हेटौंडा– नेपाली कांग्रेस मकवानपुरकाे सभापतिमा बुद्ध लामा चयन भएका छन् । हेटौंडामा मंगलबार बिहान नेताहरुबीच भएको छलफलबाट लामालाई सभापति बनाउने सहमति जुटेपछि उनी सर्वसम्मत चयन भएका छन् ।

मंगलबार बिहान हेटाैंडा रिसाेर्टमा करिब एक घण्टा लामो भएकाे नेताहरूकाे छलफलबाट लामालाई सभापति बनाउने सहमति जुटेकाे छलफलमा सहभागी एक नेताले साेधिखाेजीलाई जानकारी दिए ।

छलफलमा कांग्रेस सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिना, कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेद्वार आनन्दराम पराजुलीसहितका नेता सहभागी थिए ।

साेमबार भएकाे निर्वाचनमा ५९५ मत ल्याएर लामा पहिलाे, ५४५ मतसहित आनन्दराम पराजुली दाेस्राे र जयराम लामिछान ५३१ मत ल्याउँदै तेस्राे भएका थिए ।

कसैकाे ५१ प्रतिशत मत नआएपछि निर्वाचन दाेस्राे चरणमा धकेलिएकाे थियाे । छलफलमा सहभागी नेताले दिएकाे जानकारी अनुसार दाेस्राे चरणकाे निर्वाचन नहुने र सहमतिमै लामालाई सभापति चयन गरिने भएकाे हाे ।

छलफलमा नेता बानियाँले सहमतिका लागि पराजुलीलाई आग्रह गरेपनि उनी असन्तुुष्ट थिए ।

बानियाँले पराजुलीलाई आगामी स्थानीय तहकाे निर्वाचनमा हेटाैंडा उपमहानगरपालिकाकाे मेयर र कांग्रेस प्रदेश कमिटीमा लैजाने प्रस्ताव गरेकाे छलफलमा सहभागी नेताले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*