बागमतीको दुई संसदीय समिति सभापतिमा एमाले विजयी
हेटौंडा– बागमती प्रदेश सभाअन्तर्गत् सोमबार दुईवटा समितिको सभापति छनौट गरिएको छ ।
निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र सहभागी भएपछि दुवै सभापतिमा एमाले विजयी भएको हो । प्रदेश सभाअन्तर्गत् रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनौट गर्न निर्वाचन भएको थियो ।
एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई अगाडि बढाएको थियो । एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्ता गराएन भने निर्वाचन प्रक्रियामा पनि सहभागी भएन ।
अर्थ र शिक्षा समितिको वैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्र उपस्थिति भएपछि उम्मेदवारहरुलाई विजयी घोषणा गरिएको थियो । उनीहरुको सपथ ग्रहण समेत भइसकेको छ ।
वैशाखदेखि रिक्त रहेको अर्थसमितिमा २० जना सदस्यमध्ये एकजना सभापति चयन भएको हो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन भएको हो ।
अर्थ समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसागै उक्त पद रिक्त रहेको थियो । शिक्षासमितिका सभापति घनश्याम दाहाल हालको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त भएको हो ।