बागमतीमा किसानलाई राहत दिलाउँदै दुग्ध बोर्डः दूधमा प्रति लिटर १० रुपैयाँ बढाउने तयारी

हेटौंडा– बागमती प्रदेशका दुग्ध उत्पादक किसानलाई राहत दिलाउन भन्दै प्रदेश दुग्ध विकास बोर्डले दूधको मूल्य परिमार्जन गर्ने तयारी गरेको छ ।
विगतका वर्षदेखि दूधमा मुल्य वृद्धि माग गर्दै आन्दोलन गरिरहेका किसानहरुलाई बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी मन्त्रालयअन्तर्गत्को बोर्डले दूधमा १० रुपैयाँ मूल्य बढाएर राहत दिन खोजेको हो । संघीय सरकारलाई दूधको मुल्य वृद्धि माग गर्दै २०७६ सालदेखि चितवन, मकवानपुर, काभ्रेलगायतका किसानहरु आन्दोलनरत् थिए । आन्दोलनरत् किसानहरुको मागलाई भने केन्द्र सरकारले सम्बोधन गर्न सकिरहेको थिएन् ।
केन्द्र सरकारलाई १५ दिनभित्र मुल्य वृद्धि गरी देशका ७ वटै प्रदेशका किसानहरुको हितमा निर्णय गर्न बोर्डले संघीय सरकारको कृषि तथा पशुपन्त्री विकास मन्त्रालयलाई अनुरोध पत्र पठाएको छ । बुधवार हेटौंडामा बसेको बोर्ड बैठकले १५ दिनभित्र दूधमा १० रुपैयाँ मुल्य वृद्धि नगरे बोर्डले कानुनअनुसार बागमती प्रदेशभित्र लागू हुने गरी मूल्य वृद्धि गर्ने तयारी गरेको हो ।
बोर्डका उपाध्यक्ष टिका बल्लब सापकोटाले विगत तीन वर्षदेखि दूधको मूल्य समायोजन नभएकोले बागमतीमा दूधको मूल्य १० रुपैयाँ बढाउने तयारी गरेको बताए । १५ दिनभित्र संघीय सरकारले दूधमा मूल्य नबढाए बोर्डले पुनः अर्को बैठक बसेर प्रति लिटर १० रुपैयाँ मूल्य बढाउने सापकोटाले जानकारी दिएका छन् ।
संघीय सरकारले दूधको मुल्य बढाउँदा बागमतीमा मात्र नभई अन्य ६ वटै प्रदेशका किसानलाई राहत पुग्ने भएकाले बोर्डले मुल्य वृद्धि गर्न अनुरोध गरेको सापकोटाले बताएका छन् । प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदानपनि वितरण गर्दै आइरहेको छ ।
तर, अनुदान सबै किसानसम्म पुग्न नसकेको बोर्डका सदस्य सचिवसमेत रहेका कृषि तथा पशुपन्छी निर्देशनालयका निमित्त निर्देशक रामप्रकाश प्रधानले बताए । अनुदानपनि पाउन नसकेका किसानका लागि राहत पुग्ने गरी दूधको मुल्य वृद्धि गर्नुपर्ने अवस्था आएको प्रधानको भनाई छ ।
दुग्द्य उत्पादक किसानहरु पलायन हुने अवस्था आएको भन्दै दूधको मुल्य बढाउन अत्यावश्यक रहेको बार्डका उपाध्यक्ष सापकोटाको भनाई छ । हाल बागमतीका दुग्द्य उत्पादक किसानहरुले गाईंको दूधमा ४० देखि ४५ र भैंसीको दूधमा ५५ देखि ६० रुपैयाँ पाउँदै आएकोमा अब प्रति लिटर १० रुपैयाँ बढाउने तयारी गरिएको उपाध्यक्ष सापकोटाले बताए । ‘बागमतीका किसानहरुले तीन वर्षदेखि एउटै मुल्यमा दूध बिक्री गरिरहेका छन् । संघीय सरकारले मूल्य बढाएन । अब बोर्डले किसानको हितमा मुल्य परिमार्जन गर्न लागेको हो ।,’ सापकोटाले भने ।