स्वास्थ्य मन्त्री खतिवडाले भने, ‘म मन्त्री हुँदा एक करोड खोप थिएन्, हालसम्म चार करोड खोप ल्याइसकेँ’

मनहरी– स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सबै नागरिकले दुई पटक कोरोनाविरुद्धको खोप लगाउन पाउने बताएका छन् ।
सरकारले थप ३ करोड कोरोनाविरुद्धको खोप ल्याइरहेको जानकारी गराउँदै मन्त्री खतिवडाले सबै नागरिकले खोपको पूरा डोज लगाउन पाउने बताए । मंगलबार आफ्नो गृह जिल्ला मनहरी गाउँपालिकामा भएको नेकपा (एकीकृत समाजवादी)को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफू मन्त्री भएरपछि चार करोड खोप ल्याएको बताएका छन् ।
‘म स्वास्थ्यमन्त्री हुँदा एक करोड पनि खोप नआएको अवस्था थियो । अहिले ४ करोड खोप ल्याइसकेको छु । थप ३ करोड खोप ल्याउने काम भइरहेको छ ।,’ खतिवडाले भने ।
नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्यसमेत रहेका खतिवडा सबै नागरिकलाई दुईपटक खोप लगाउन सकिने र त्यसपछि अर्को चरणको खोप दिन पनि तयारी अवस्थामा सरकार रहेको बताएका हुन् ।
उनले एमाले अध्यक्ष केपीशर्मा ओलीका कारण महत्वपूर्ण कानुन निर्माणमा बाधा पुगेको बताएका छन् । संसद विघटन गरेर अपराध गर्ने ओलीले संसदमा लाज पचाएर आएको प्रतिक्रिया दिएका छन् ।
आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा एकीकृत समाजवादीकी उम्मेदवार गोमा तिमिल्सिनासहित गठबन्धनका उम्मेदवारको विजयी हुने भन्दै सुर्य चिन्हले चुनाव जित्छु भन्ने सपना नदेख्न एमालेका उम्मेदवारलाई भनेका छन् ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य ललित बस्नेत, केन्द्रीय सदस्य गोमा तिमिल्सिना, राजाराम स्याङ्तान, प्रदेश सदस्य गोविन्दराम चेपाङ, जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सचिव विष्णु दाहाल, मनहरी इञ्जार्ज भूमिनन्द अर्याल, सहइञ्चार्ज मनिला विष्ट, जिल्ला सचिवालय सदस्य वीरेन्द्र डिसी, मनहरी अध्यक्ष नारायण श्रेष्ठगायतले धारणा राखेका थिए ।
कार्यक्रममा दर्जनौँ व्यक्तिहरु नेपाली काँग्रेस, एमाले, राप्रपा र माओवादी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । भेलाबाट मनहरी ५ नम्बर वडा कमिटी र अखिल नेपाल महिला संघ गाउँ कमिटीसमेत घोषणा गरिएको थियो ।