कांग्रेस सभापतिका उम्मेदवार पराजुलीको सचिवालय स्थापना

संवाददाता
२०७८ पुष २०, मंगलवार २१:२७

हेटौंडा– नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको सचिवालय स्थापना गरिएको छ ।

पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरेका हुन् । जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको पराजुलीले बताए ।

‘म सभापतिको पक्का उम्मेदवार हुँ ।’ उनले भने, ‘पार्टीका क्षेत्रीय प्रतिनिधि र सम्पूर्ण कार्यकर्ताको मत र मन जितेरनै म सभापतिका लागि अघि बढेको हुँ, यसै शिलशिलामा हेटौंडा–२ कांग्रेस चोकमा सचिवालय स्थापना गरेर चुनावी प्रचारप्रसारलाई तीब्रता दिइएको हो ।’

विगत ३ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय भूमिकामा रहेका पराजुली यस पटकको जिल्ला अधिवेशनमा सभापतिका रुपमा उम्मेदवारी दिन पक्का देखिएको छ ।

पाँच पटक महाधिवेशन प्रतिनिधि, हेटौंडा उपमहानगर सभापति र जिल्ला सचिवसमेत भइसकेका पराजुली २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगर मेयर झिनो मतान्तरले पराजित भएका थिए ।

संगठन विस्तार, पार्टीको विकास र जिल्लामा कांग्रेसलाई उकास्न निरन्तर लागि परेका पराजुलीले केहि दिनमै आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेका छन् ।

सचिवालय स्थापनाको सन्दर्भमा प्रतिक्रिया दिँदै पराजुलीले केहि दिनमै पूर्ण कार्यसमितिका उम्मेदवारसहितको प्यानल घोषणा गरेर चुनावी मैदानमा होमिने बताए ।

उनले सम्पूर्ण क्षेत्रीय प्रतिनिधि मतदातालाई आफ्नो सचिवालयमा आउनसमेत अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*