हेटौंडाको पाँच महिनामा साढे ६० करोड मात्रै खर्च

संवाददाता
पुस १५, २०७८

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८–०७९ को पाँच महिनामा साढे ६० करोड अर्थात २१ प्रतिशतमात्रै बजेट खर्च गर्न सकेको छ ।

हेटौँडा उपमहानगरले चालु आर्थिक वर्षमा ६० करोड ५४ लाख बजेट खर्च गरेको उपप्रमुख मिनाकुमारी लामाले जानकारी दिएकी छन् । बिहीबार उपमहानगरपालिकाको दशौं नगरसभामा वित्तीय अवस्था प्रस्तुत गर्दै उपप्रमुख लामाले चालु आर्थिक वर्षको पाँच महिनासम्म खर्च कम देखिनुमा प्राविधिक कारण रहेको बताएकी छन् ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८–७९ का लागि दुई अर्ब ६० करोड १५ लाख ५२ हजार ९ सय १० रुपैयाँको बजेट ल्याएको थियो । दशौं नगरसभामा बजेट संशोधनको प्र्रस्ताव पेस गरेको छ । लामाका अनुसार संशोधित बजेट २ अर्ब ८५ करोड प्रस्ताव गरिएको हो । नगरसभाबाट पारित नीति तथा कार्यक्रम र संशोधित बजेटले नगरवासीको जीवनस्तरमा गुणात्मक सुधार हुँदै जाने नगर प्रमुख हरिबहादुर महतले बताए ।

उपप्रमुख लामाले अधिकांश क्षेत्रगत आयोजना तथा कार्यक्रम सम्झौता भएर सञ्चालन भइरहेको र खर्च भुक्तानी भइनसकेका कारण बजेट खर्च कम भएको बताइन् ।

‘धेरै आयोजना र कार्यक्रम चलिरहेकै कारण भुक्तानी भइसकेको छैन । त्यसकारण खर्च कम देखिएको हो । क्षेत्रगत खर्चमा कमी देखिए पनि असार मसान्तसम्म बजेट खर्चमा उल्लेखनीय प्रगति हुने अपेक्षा लिएका छौँ,’ लामाले भनिन् ।

उपमहानगरपालिकाले विकासको क्षेत्रमा २० करोड ८२ लाख ५३ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ९ करोड ७७ लाख ५४ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १ करोड २ लाख ८९ हजार, सामाजिक विकासमा २७ करोड ५० लाख ९७ हजार, आर्थिक विकासको क्षेत्रमा १ करोड ४० लाख ४८ हजार खर्च भएको उपप्रमुख लामाले जानकारी दिइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*