घरेलु मैदानमा नागस्वतीको हार, पोखराले जित्यो भेट्रान्स कप

संवाददाता
पुस ३, २०७८

हेटौंडा– हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगिताको उपाधि एविसी भेट्रान्स पोखराले आफ्नो पोल्टामा पारेको छ । नागस्वती भेट्रान्स हेटौंडालाई २–१ गोल अन्तरले एविसी पोखरा विजेता भएको हो ।

खेलको सातौं मिनेटमा एविसीको तर्फबाट हरि खड्काले पहिलो गोल गरेका थिए । खेलको १७ मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बुले गोल फर्काएर बराबरीमा पुर्याएका थिए ।

पहिलो हाफमा बराबरी खेलेता पनि खेलको दोस्रो हाफको २७ औं मिनेटमा एविसीको तर्फबाट नरेन्द्रजंग गुरुङले एक गोल थपेपछि एविसी भेट्रान्सले उपाधि चुम्न सफल भएको हो । खेलको म्यान अफ द म्याच एविसीका नरेन्द्रजंग गुरुङ भए ।

विजेता एविसीले ट्रफि सँगै एक लाख एघार हजार १११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । उपविजेता नागस्वती भेट्रान्सले ट्रफि सँगै ५५ हजार ५५५ रुपैया, प्रमाणपत्र र मेडल पाएको छ ।

खेलमा विभिन्न विधामामा खेलाडीलाई पुरस्कार वितरण समेत गरिएको थियो । खेलको उत्कृष्ट गोलरक्षक एविसीका सुर्य शर्मा, प्रशिक्षक एविसीका सुरज गुरुङ, मिडफिल्डर एविसीका महेन्द्र गुरुङ, सर्वोत्कृष्ट खेलाडी एविसीका विश्वराज श्रेष्ठ भएका छन् ।

त्यस्तै, उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, डिफेन्डर नागस्वतीका मिलन राई घोषित हुदैं ट्रफि र जनही पाँच–पाँच हजार नगदबाट पुरस्कृत भएका छन् ।

विजेता र उपविजेता लगायतलाई हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महत र हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष दीपक बज्रचार्यले पुरस्कार प्रदान गरेका छन् । पिप्ले युवा क्लबका अध्यक्ष क्याम्पा रंगशाला निर्माण गर्ने अगुवाका सुशील घिमिरेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हेटौंडा वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, वडा ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिका अध्यक्ष् चन्द्र शाही, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, खेलको कार्यक्रम संयोजक मणिराज गौतमलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*